केही वर्षदेखि हामी शान्तिप्रक्रिया, जातीय सद्भाव, राष्ट्रिय एकता र अखण्डतालाई बल पुर्याउनेखालका सिरियलहरू बनाइरहेका छौँ । यो समय भड्कियो भने देश दुर्घटित हुन सक्छ, विखण्डनतिर जान सक्छ । त्यसैले अहिले हामीले व्यंग्यलाई लगभग थाती राखेका छौँ । हामी विद्रोहको स्वर होइन, मिलनको स्वर निकालिरहेका छौँ ।
हरिवंश आचार्य
केही कलापारखी 'अब महको हास्यव्यंग्यमा त्यो धार बाकी रहेन, त्यो चोटिलोपन बाकी रहेन, त्यो जोखिम लिन सक्ने क्षमता बाकी रहेन,' भनिरहेका छन् । पञ्चायतकालको त्यो धारिलो महलाई अहिले के भएको हो ?
केही वर्षदेखि हामी 'आमा', 'मदनबहादुर हरिबहादुर'जस्ता संविधानसभा, शान्तिप्रक्रिया, जातीय सद्भाव, राष्ट्रिय एकता र अखण्डतालाई बल पुर्याउनेखालका सिरियलहरू बनाइरहेका छौँ । केही समय हामीले व्यंग्यमा खेल्न पाइरहेका छैनौँ । किनभने हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ र यो समय भड्कियो भने देश दुर्घटित हुन सक्छ, विखण्डनतिर जान सक्छ । त्यसैले सन्देशमूलक कार्यक्रम बनाइरहेका छौँ । पञ्चायतकालमा व्यंग्य त परको कुरा बोल्न पनि निषेध थियो । त्यो कालखण्डमा जनताले भन्न खोजेको, तर भन्न नसकेको कुरा हामी भन्थ्यौँ । त्यसैले हाम्रो व्यंग्यको मारक क्षमताको अहिले पनि प्रशंसा भएको हो । तर, विगत तीन/चार वर्षदेखि हामीले व्यंग्यलाई लगभग 'थाती' राखेका छौँ । अहिले हामी विद्रोहको स्वर होइन, मिलनको स्वर निकालिरहेका छौँ ।
मह कलाकारिताबाट 'एनजिओकारिता'मा लाग्यो भन्छन् नि ?
हो, हामी एनजिओको काम गर्छां । एनजिओ गैरकानुनी काम गर्ने संस्था होइन । यसलाई गैरकानुनी घोषित गरियो भने हामी यसका काम नगरौँला । देश एनजिओले चलाउनुहुन्छ, एसियाली विकास बैंक र विश्व बैंकका पैसाले चलाउनुहुन्छ भने महले एनजिओको काम गर्नु हुँदैन ? कसैले स्वीकार गरे पनि/नगरे पनि आज एनजिओले थुप्रैलाई रोजगारी र काम दिएको छ । शान्तिप्रक्रिया, सुशासन र विकासका काममा एनजिओको सवल भूमिका जगजाहेर नै छ । हामी व्यावसायिक कलाकार हौँ । सधैँभरि सेवा गर्न सकिन्न ।
कामै नगरी पैसा खानु पो गलत प्रवृत्ति हो । काम गरेर पारिश्रमिक लिनु या केही मुनाफा कमाउनु नाजायज होइन । गुणस्तरीय फिल्म बनाउन मिडियाको पैसाले पुग्दैन । अहिले एउटा फिल्म बनाउन ५०/६० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च हुन्छ । हामी त्यही काम २०/२२ लाखमा गरिरहेका छौँ ।
महले हास्यव्यंग्यलाई सम्मानजनक विधा या पेसाका रूपमा स्थापित गर्यो । हास्यव्यंग्यमा लाग्नेलाई 'जोकर' भनिन्थ्यो पहिले । महले जोकरलाई कलाकारको हैसियत दिलायो । तर, यसले पुस्ता निर्माण गर्न सकेन भन्ने आरोप छ । यसबारे तपाईंको टिप्पणी ?
कला भन्ने चीज मान्छेलाई प्रकृतिले दिनुपर्छ । चाहे त्यो गायन होस् या अभिनय । यसलाई निर्माण गर्न सकिन्न । कला सिकाउन सकिन्न । कसैलाई तालिम दिएर न हास्यव्यंग्यकार बनाउन सकिन्छ, न संगीतकार न गायक । कलालाई तिखार्ने या निखार्ने तरिका र शैली मात्रै सिकाउन सकिने हो । हामी हास्यव्यंग्यको स्कुल खोल्न सक्दैनौँ । तर, ३० वर्षदेखि हामी यही क्षेत्रमा छौँ । हामीबाट प्रभावित र प्रेरित भएर धेरैजना कलाकार बनेका छन् । यथार्थ के हो भने हाम्रा टेलिफिल्ममा काम गरेर सयौँ कलाकार बनेका छन् । उनीहरू अहिले राम्रो काम गरिरहेका छन् । पुस्ता निर्माण भनेको यही होइन र ?
महले बनाएका केही कलाकारका नाम तोकेरै भन्नूस् त ?
हामी त्यस्तो क्रेडिट लिन रुचाउँदैनौँ, चाहँदैनौँ । व्यक्तिगत गुनगानका भोका छैनौँ । कसैले 'म महको उत्पादन हुँ,' भन्यो भने हामीलाई आनन्द लाग्छ । हामी उसलाई धन्यवाद भन्छौँ । बस् यत्ति हो । बडप्पनको कुनै मोह छैन हामीलाई । म प्रस्ट गर्न चाहन्छु- कलाकार आफ्नै मिहिनेत र संघर्षले बन्ने हो । कसैले कसैलाई कलाकार बनाउन सक्दैन ।
अहिलेका हास्यकलाकार हास्यकलाकार कम, जोकर बढी लाग्छन् । कान्लाबाट लडेर, अनुहार बिगारेर, शरीर बेढंगसँग मर्काएर, बोली महाबनावटी बनाएर, सस्तो थेगो टाँसेर, सस्तो शैलीमा दर्शक हँसाइरहेका छन् । न उनीहरूसँग राजनीतिक चेतना छ न कलाकारको नागरिक दायित्व बोध । महले उनीहरूलाई सम्झाउने, सिकाउने र सतर्क गराउने वेला भएन ?
हरेक क्षेत्रमा पोख्त र नपोख्त, सिपालु र नसिपालु मान्छे हुन्छन् । सबै व्यापारीलाई व्यापार गर्न आउँछ भन्न सकिन्न । त्यस्तै सबै शिक्षक पढाउन जान्दछन् भन्न नसकिएला । हास्यव्यंग्यमा पनि यही कुरा लागू हुन्छ । यस क्षेत्रमा सबै पोख्त छैनन् । क्वालिटी र क्वान्टिटीको द्वन्द्व छ यहाँ पनि ।
नयाँ पुस्ताका हास्यकलाकारले यसो गर्नैपर्छ भनेर कमान्ड गर्ने स्थितिमा हामी छैनौँ । किनभने सबै कलाकार एउटै स्ट्याटस (हैसियत)का हुन् भन्ने हाम्रो विश्वास छ । तर, अनौपचारिक कुराकानीमा हामीले नयाँ साथीहरूलाई 'यो यो कुरामा अलिकति सुधार गर्नु भए हुन्थ्यो' भनेर सल्लाह र सुझाव भने दिने गरेका छौँ । जस्तो, गाईजात्रा महोत्सवमा हामी केही साथीलाई 'हास्यव्यंग्यका नाममा अश्लील कुरा पस्कनुबाट बच्नुपर्छ' भन्ने गरेका छौँ । हामीले बारम्बार भन्ने गरेका छौँ- 'व्यक्तिगत आक्षेप लगाउनु हुँदैन । व्यंग्य यसरी गर्नुपर्छ कि व्यंग्य गरिएको व्यक्ति खुसी होस् ।' केहीले मनन गरेर आफूलाई सुधार्नु पनि भएको छ ।
गाउँखाने कथा, ऐना, विज्ञापनजस्ता प्रहसन, १५ गते, रात, वनपाले, सुर-बेसुर जस्ता टेलिफिल्मका स्वाद महका अहिलेका सिरियलमा भेटिँदैन । ती जनतालाई सीधै उपदेश दिनेखालका छन् । कि होइन ?
मैले अघि नै भनेँ- अहिले हामी व्यंग्य या विद्रोहमा होइन, मिलन र सद्भावमा केन्दि्रत छौँ । त्यसैले सन्देशमूलक सिरियल गरिरहेका छौँ । हामीले उपदेश दिन होइन, सन्देश दिन खोजेका हौँ । जस्तो, 'ओहो' टेलिफिल्मबाट हामीले धेरै दर्शकलाई 'कुष्ठरोग औषधि खायो भने ठीक हुन्छ, औषधि निःशुल्क पाइन्छ' भन्ने बुझायौँ जस्तो लाग्छ । अझ पीडितहरू त लाभान्वित नै हुनुभयो होला । 'चिरञ्जीवी'ले क्षयरोगबारे जनतालाई केही कुरा बुझायो होला । त्यस्तै 'आमा'ले संविधानसभाबारे धेरै कुरा प्रस्ट पार्यो । सुरक्षित मातृत्वमा नेपालले गरेको काम अहिले विश्वभरि प्रशंसित भएको छ । हाम्रा सिरियलले बाल मृत्युदर घटाउन केही योगदान गरे होलान् । जनताको जीवनसँग सरोकार राख्ने केही सवाललाई हामीले सम्बोधन गरेका छौँ । त्यसमाथि हाम्रा कार्यक्रम पट्यारलाग्दा छैनन् भन्ने कुरा तिनलाई रुचाइएबाट प्रस्ट हुन्छ ।
राजनीतिक माहोल तताउन या चिस्याउन वेला-वेला सडकमा आउनुहुन्छ । सक्रिय राजनीति सुरु गर्नुभए हुन्थ्यो । त्यसो गरे कसो होला ?
संगठनविना राजनीति गर्ने व्यक्ति पेन्डुलम हुन्छ । कलाको लोकपि्रयतालाई प्रयोग गरेर राजनीतिमा फाइदा लिनु छैन हामीलाई । उसो त कदाचित हामीले त्यसो गर्याँै भने हामी दुइटैमा असफल हुनेछौँ । राजनीति गर्नेलाई कलाकार बन्न गाह्रो हुन्छ र कलाकारलाई राजनीति गर्न । हामी 'जिरो'बाट सुरु गर्दै ठूलो संघर्ष गरेर यहाँसम्म आइपुगेका हौँ ।
फेरि सत्ताको कुर्सीमा बस्नु मात्रै राजनीति होइन । हामी जसरी कलाका माध्यमबाट जनतासँग अन्तक्रिर्या गरिरहेका छौँ, त्यो पनि एकप्रकारको राजनीति नै हो । जनताको मनको कुर्सीमा बसेका छौँ हामी जो प्रधानमन्त्रीको कुर्सीभन्दा कता हो कता ठूलो छ । जनताको मनको कुर्सीबाट ओर्लेर प्रधानमन्त्रीको कुर्सीमा बस्न जान मन छैन हामीलाई ।
साँच्चि भन्ने हो भने अहिले हामी जनताले बिगारेका काम सपार्दै हिँडिरहेका छौँ । नेताले गर्नुपर्ने काम हामीले गर्नु परेकाले आफ्नो काम (हास्यव्यंग्य) गर्न पाएका छैनौँ ।
source:-nayapatrika










0 commentaires