महेश्वरचामलिङ राई, उदयपुर, फागुन ४- अपहरण घटनामा संलग्न भएको आरोपमा एकीकृत नेकपा माओवादी राज्य समितिका एक नेतालाई ४० हजार रुपियाँ जरिवाना तिराइएको छ। १५ दिनअघि भएको अपहरणमा संलग्न भएको आरोपमा किरात राज्य समिति सदस्य केदारकुमार राईलाई जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले बताए।
जिल्लाको विकट पहाडी गाविस लाफागाउँ-१ मा दुई साताअघि एमाले र कङ्ग्रेसका दर्जन कार्यकर्तालाई घर-घरबाट अपहरण गरी बन्धक बनाएको भन्दै एमाले र कङ्ग्रेस निकट केही व्यक्तिले किटानी जाहेरी दिएका थिए। किटानी जाहेरीपछि उनीलगायत् एमाओवादीका ११ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेर प्रहरीले उनीहरु सबैविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
तर, एमाओवादीले प्रहरीकै संलग्नतामा आफ्ना नेता कार्यकर्ताविरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाउँदै अनिश्चितकालीन जिल्ला बन्दको घोषणा गरेपछि प्रजिअकै नेतृत्वमा चार दिनअघि सर्वपक्षीय टोली घटनास्थल गएको थियो। अधिकारकर्मी, प्रहरी, राजनीतिक दलका प्रतिनिधिलगायत् संलग्न टोलीले सोमबार साँझसम्म घटनास्थलमै पीडित र पीडक दुवै पक्षलाई राखेर गरिएको छलफलमा नेता राईले गल्ती गरेको ठहर भएपछि सो जरिवाना गराइएको जिल्ला प्रहरी नायव उपरीक्षक मनोज यादवले बताए।
तीनै पार्टीका उच्चस्तरीय जिल्ला नेताको सहभागिता रहेको छलफलले अपहरण गरेको नभए पनि अपहरणको शैली अपनाएको ठहरेपछि गाउँमै मुद्दा मिलाउन जरिवाना गराइएको प्रजिअ श्रेष्ठले बताए। उनीलगायत् घटनामा संलग्न भएका दीपक राईसहित ६ जना पार्टी जिल्ला सदस्य तथा गाउँ पार्टी सेक्रेटरी चन्द्रकुमार कार्की र लीलाभक्त कार्कीसमेतलाई छलफलले सामूहिकरुपमा सार्वजनिक माफी मगाएको सहभागी एक अधिकारकर्मीले बताए।
उनीहरुलाई गाउँमा भएको छलफलबाट माफी र जरिवाना गराएर कुरा मिलाइए पनि मुद्दाबारे भने निर्क्यौल भइनसकेको डिएसपी यादवले बताएका छन्। 'गाउँमा गएर कुरा मिलाएको भनिए पनि' यादवले भने 'दर्ता गरेर अघि बढिसकेको मुद्दा कसरी फिर्ता लिने भन्ने कुनै टुङ्गो लागेको छैन।'
source:-nagriknews









0 commentaires