४ फागुन, काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले आफ्नै पार्टीका कार्यकर्ता लिएर भागेका पोलिटव्युरो सदस्य रविन्द्र श्रेष्ठलाई पार्टी सदस्यता एवं पदीय जिम्मेवारीबाट निलम्बन गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले श्रेष्ठको नैतिक आचरण र क्रियाकलापबाट पार्टीलाई गम्भीर आघात पुगेको ठहर गर्दै सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
‘विभिन्न सञ्चार माध्यममा आएका समाचार र हाम्रो आफ्नो अनुसन्धानबाट उहाँको नैतिक आचरण र क्रियाकलापले पार्टीलाई गम्भिर आघात पुगेको ठहर भयो’-बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहोराले भन्नुभयो-’त्यसले उहाँलाई तत्काल सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको छ ।’आयोगले श्रेष्ठबारे थप अनुसन्धान गरी कारवाही अघि बढाउन पार्टी केन्द्रीय कमिटीलाई निर्देशन समेत दिएको छ । उद्योगमन्त्री समेत रहेका एमाले पोलिटव्युरो सदस्य श्रेष्ठ पदबाट हटेलगतै पार्टीकर्तालाई लिएर भागेका छन् ।
१७ वर्षीया छोरीका बाबु श्रेष्ठ धादिङ चैनपुरकी सुपेक्षा सिलवाललाई लिएर वेवत्ता भएका छन् । वेपत्ता भएको केही दिनपछि सिलवालले आफ्नो घरमा फोन गरी श्रेष्ठसँग बिवाह गरेको बताइकी थिइन ।
एमाले अनुशासन आयोगले साउदी अरेवियाका निवर्तमान राजदुत हमिद अन्सारीलाई पनि पार्टीको सदस्यबाट निष्कासन गरेको छ । एमालेको सिफारिसमा राजदुत भएका अन्सारीले आर्थिक आचरण विपरित काम गरेकाले कारवाही गरिएको अनुशासन आयोगले जनाएको छ । अन्सारी एमालेका सक्रिय कार्यकर्ता एवं वुद्धिजिवी थिए ।
source:-onlinekhabar









0 commentaires