झापाको चकचकी-७ कोलागाछीका एक ८० वर्षीय बृद्ध ३ छोरा, १ छोरी र ३ बुहारीहरुसँगै आफ्नी श्रीमतीको काजकिरियामा बस्नुभएको छ । आफ्नी ७८ वर्षीया पत्नी जानुका भट्टराईको गएको फागुन ९ गते निधन भएपछि ८० वर्षीय लीलाधर भट्टराई छोरा, छोरी र बुहारीहरुसँगै दशगात्र कर्ममा लाग्नु भएको हो ।
यो घटना हाम्रो सामाजिक रीतिथितिमा अनौठो लागे पनि लीलाधर भट्टराईले यसलाई भावनात्मक विषय बनाउँदै आफू कोरामा बसेको सञ्चारकर्मीलाई सुनाउनु भयो । ‘विवाह गरको ६५ वर्षसम्म सँगै रहेकी पत्नीले आफ्नो हेरचाहमा गरेको दुःखको स्मरण गर्न र दान दातब्यका लागि आफू चोखो रहन यो कर्म थालेको हुँ’ लीलाधरले भन्नुभयो- ‘यदि म पहिले मरेको भए उनले मेरो काज किरिया गर्ने थिइनन् र ? श्रीमानको मृत्यु हुँदा श्रीमतीले दुख बोक्नु पर्ने तर श्रीमतीको मृत्युमा श्रीमान्ले खुल्ला भएर डुलघुम गर्नु विभेद पनि त होइन र ?’ भट्टराईले प्रतिप्रश्न पनि गर्नुभयो ।
बुबा पनि हामीसँगै काजकिरियामा बसेको देखेर सबै आगन्तुकहरुले अनौठो मानेको सुनाउँदै जेठा छोरा पदम भन्नुहुन्छ- ‘गुरु पुरोहितले पनि इच्छा भए काज किरिया गरे हुन्छ भन्ने सल्लाह दिनुभयो, हामीले रोक्न खोज्यौं तर बुबाको इच्छाका अगाडि हामी बाधक बनेनौं ।’
भावनात्मक चाहनाको अघि कोही बाधक नबनेपछि काज किरियामा बस्नुभएका बृद्ध भट्टराईले श्रीमतीको काज किरिया गर्न पाउँदा आफु सन्तुष्ट रहेको बताउनु भयो । ‘शुद्ध आत्माले दान दातब्य गर्न र शोक मनाउन पाएको छु’ बृद्धले भन्नुभयो- ‘पत्नीको मृत्युको बेला पतिले घर ब्यवहार सम्हाल्ने कुरालाई जोडेर हेर्दा ठिकै जस्तो लागे पनि दान दातब्यमा चोखोनितो हुँदैन, त्यसैले मैले यो इच्छा राखेको हुँ ।’
source:-purbelitimes









0 commentaires