लिबियाबाट फर्केका नेपालीले नौ दिनपछि बल्ल खान पाए


सुरेन्द्र पौडेल, काठमाडौं, फागुन १५- दिउँसो तीन बजे १२ घन्टा लामो हवाइयात्राबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका ६१ नेपाली कामदारका अनुहार मलीन देखिन्थे। ओठ सुकेका थिए। आँखा रसिला थिए। स्वर दबेको थियो। 'अब त बाँचियो,' हिंसाग्रस्त लिबियाको दर्नाबाट इजिप्टको अलेक्जेन्ड्रिया हुँदै एयर अरेबिया विमानमा काठमाडौं आइपुगेका मोरङका वीरबहादुर भण्डारीले विमानस्थलबाट बाहिरिने क्रममा भने, 'साताभित्र लिबियामा बाँकी अरूको उद्वार नहुने हो भने खानै नपाएर मर्छन्।'
दर्नाबाट शुक्रबार अलेक्जेन्ड्रिया ल्याइएका ५ सय ६२ मध्ये ६१ जना सरकार र उनीहरूलाई लिबिया पठाउने एसओएस म्यानपावरको सहयोगले पहिलो खेपमा शनिबार काठमाडौं आइपुगेका हुन्।
अलेक्जेन्ड्रिया आइपुगेकालाई इजिप्ट सरकारले ७२ घन्टाको मात्र भिसा दिएको छ। जसअनुसार सोमबारसम्म सबैले अलेक्जेन्ड्रिया छाडिसक्नुपर्छ।
'हामी त आइपुग्यौं,' लामो सास फेर्दै भण्डारीले भने, 'अलेक्जेन्ड्रिया हामीसँगै आइपुगेका पनि अब एक–दुई दिनमा आइपुग्लान्। तर, लिबियाका अन्य सहरमै रहेकाहरूको अवस्था नाजुक छ। अब तिनको के होला?'
विमानस्थलबाट उनीहरूलाई सोझै लिबिया पठाउने एसओएस म्यानवारको धापासीस्थित कार्यालय लगियो। त्यहाँ खाना तयार थियो। उनीहरूले ९ दिनदेखि पेटभरि खान पाएका थिएनन्, भात त देख्नैसमेत।
'भातले झ्याप्प बनाउँदैछ,' धेरै दिनपछि पेटभर खान पाएकोमा दंग झापा दमकका मोहनप्रसाद कँडेलले भने, 'नौ दिनपछि भात खान पाइयो, मत्याउँछ कि क्या हो?'
मदरसामा ५० जना अट्ने हलमा चिसो भुईंमा ९० जना सुत्नुपरेको सम्झँदै धरानका शिव साहले सुनाए, 'सुरक्षा दिने र आन्दोलनकारी छुट्ट्याउनै सकेनौं। सबै उस्तै देखिन्छन्। मदरसामा बस्दा पनि धेरै लुटिए।' आन्दोलनकारीले त्यहीँ वासुदेव राईको मोबाइल चक्कु देखाएर लुटेका थिए। अरु त अरू सँगै काम गर्ने लिबियालीले समेत मौका छोप्न चक्कु देखाएर लुट्ने प्रयास गरेका थिए।
लिबिया कसरी पुगे नेपाली
काठमाडौं आइपुगेका उनीहरू एक लाखदेखि डेढलाख रुपैयाँसम्म खर्चेर लिबिया पुगेका थिए। कोही अढाई वर्षपहिले त्यहाँ पुगेका थिए त कोही ६ महिना। सबैको थाप्लामा ऋणको भारी छँदैछ। 'धन कमाउन गएका हामी ज्यान जोगाएर फर्कियौं,' उनीहरू भन्दै थिए।
तानशाह कर्णेल गद्दाफीलाई हटाई प्रजातन्त्र स्थापनाका निम्ति भएको लिबियाली आन्दोलनले बेरोजगार बनेका उनीहरू अब फर्कन बाँकी साथीहरुको पर्खाइमा छन्। सँगै काम गर्ने सबै साथीहरु काठमाडौं आइपुगेपछि मात्र उनीहरू आ–आफ्ना घर फर्कने सोचमा छन्।
'सोमबारसम्म अलेक्जेन्ड्रिया आइपुगेका ५ सय ६२ जनालाई नै काठमाडौं ल्याउने हाम्रो योजना छ,' एसओएसका अध्यक्ष हेमलाल गुरुङले भने, 'आजै (शनिबार) राति थप ६० जना आइपुग्न सक्छन्। यो क्रम जारी रहन्छ। हामीले सबै बन्दोबस्त मिलाइसकेका छौं।'
एसओएसले फर्केका प्रत्येकलाई काठमाडौंबाट आ–आफ्ना घर जान बाटोखर्च दुई–दुई हजार उपलब्ध गराउने जनाएको छ।
डरले गुजुल्टिएर रात काट्यौं
– मोहनप्रसाद कँडेल, झापा
डेढ वर्षपहिले लिबियाको दर्ना पुगेको थिएँ, स्टिल–फिक्सर कामदारका रूपमा। कोरियाली वन निर्माण कम्पनीको दर्ना हाउजिङ परियोजनामा मसँगै ५ सय ६१ नेपाली काम गर्थ्यौं। परियोजनाका २ सय ५० वटा चारतले भवन निर्माण हुँदै थिए।
माघ १ गते राति ११ बजे अनौठो आवाज आयो। आवाजसँगै सबै बिउँझियौँ। नेपाली बसेको क्याम्प र निर्माणाधीन भवन १० मिनेट पैदल टाढा छ। तीन हजारभन्दा बढी लिबियाली आन्दोलनकारी त्यहाँ नाराजुलुस गरिरहेका थिए। उनीहरूले भवन कब्जामा लिएको घोषणा गर्दै आगजनी र तोडफोड गर्न सुरु गरे। हामी डराएर सबैजना एकैठाउँमा गुटुमुटु भएर क्याम्पमा बस्यौं।
बंगाली र थाइल्यान्डका कामदार बस्ने क्याम्प जलाइयो। उनीहरूसँग भएको पैसा र मोबाइल पनि लुटियो। शरण माग्दै उनीहरू नेपालीका क्याम्प आइपुगे। शरण नदिने कुरै थिएन। त्यस दिनबाट निर्माण कार्य ठक्प भयो। हामीले कम्पनीका मालिकलाई आफूहरूलाई नेपाल फर्काइदिन अनुरोध पनि गर्‍यौं तर सुनुवाइ भएन। ३६ दिन काम नगरी क्याम्पमै बितायौं। फागुन ६ गते घटनाले झन् डरलाग्दो रूप लियो।
फागुन ६ गते नेपाली बस्ने क्याम्प र कोरियाली क्याम्प स्थानीयको ठूलो भिड आएर तोडफोड गरी जलायो। उनीहरूले त्यहाँ रहेका ७० वटा जति गाडी लुटेर लगे।'
लिबियाली वृद्ध हुन् या बालक, सबैको हातमा कुनै न कुनै हतियार थिए। कसैका हातमा चक्कु त कसैकामा बन्दुक। केही नपाउने लाठी लिएर खेदाउन आएका थिए। राति साढे १० बजे २ घन्टाभित्र भाग्ने अल्टिमेटम दिएर उनीहरू गए। यहाँबाट निस्केर मस्जिद जाओ, त्यहाँ तिमीहरूलाई केही हुँदैन भनेर लखेटे।
झन्डै आधा घन्टा हि“डेर हामी टुकी मस्जिद पुग्यौं। तर हिन्दु भएकाले त्यहाँ बस्न दिइएन। आडैमा रहेको मदरसामा भने बास पाइयो। हामीले त्यहा“ दुई रात बितायौं। कोरियाली, थाइल्यान्ड, बंगाली, भियतनामी र नेपाली सबै कामदार त्यहीँ शरण लिइरहेका थिए। खानाका लागि मदरसा सञ्चालकले प्रत्येक दुईजनालाई एउटा खाप्चा (पाउरोटीजस्तो) दिन्थे, जसले आधा पेट पनि भरिन्थेन। पानी मुश्किलले भेटिन्थ्यो। एक बोतल पानी १० जनाले बाँडेर खानुपर्ने बाध्यता मदरसामा थियो। ५० जना अट्ने एकै हलको भुईंमा ९० जना सुत्यौं।
आन्दोलनकारीले मदरसामा पनि छाडेनन्। त्यहाँ आएर उनीहरूले मदरसा छाड्न ६ घन्टाको अल्टिमेटम दिएर गए। हामीले तत्काल मदरसा छाड्यौं र २ किलोमिटर टाढा दर्नास्थित पार्टी प्यालेसमा गएर शरण लियौं। दैनिकी झन् जटिल बन्दै थियो। प्यालेसबाट बाहिर निस्कन दिइन्थ्यो। राति ढोकामा बाहिरबाट चुकुल लगाइन्थ्यो। प्रत्येक चारजनाको भागमा एउटा खाप्चा पर्‍यो। एक बोतल पानीले १५ जनाको घाँटी भिजाउनुपर्ने भयो।
तीन रात पार्टी प्यालेसमा बिताएपछि दिउँसो तीन बजे इजिप्टबाट बोर्डरसम्म लैजाने ट्रक आइपुगे। ट्रकको व्यवस्था कोरियाली कम्पनीले मिलाएको थियो। पार्टी प्यालेसबाट इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गर्‍यौं। बालुवा बोक्ने ८ वटा ट्रक चढेर इजिप्ट बोर्डरतर्फ लाग्यौं। राति ८ बजे बोर्डर (सलुम) पुगियो।
राहदानी हुनेलाई मात्र बोर्डर पार गरी इजिप्ट प्रवेश गर्न दिइयो। कोरियाली क्याम्प आगजनी हुँदा हाम्रा २० जना साथीको राहदानी त्यहीँ जलेको थियो। राहदानी नभएकालाई बोर्डर पार गर्न दिइएन।
बोर्डर पार हुनेलाई सामान्य ओत लाग्ने व्यवस्था थियो। तर राहदानी नहुने २० जना भने रातभर चिसो मरुभूमिमा सुत्न बाध्य भयौं। भोलिपल्ट पनि बोर्डरमै दिन बित्यो। नजिकको लिबियन सहर तुप्रुकबाट खाप्सा र पानी ल्याइयो। पाँचजनाको भागमा एउटा खाप्सा पर्‍यो, १५ जनाको भागमा एक बोतल पानी। इजिप्टस्थित नेपाली दूतावासका प्रथम सचिव तीर्थ अर्याल आएपछि राहदानी नहुने २० जनाले पनि इजिप्टभित्र प्रवेश पाए।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login