काठमाडौ, फाल्गुन ११ - महाशिवरात्रिको तिथि अगावै पशुपति आएका साधुलाई खाना बनाउन तथा धुनीका लागि दाउराको समस्या परेको छ । फागुन १८ गतेलाई फेबु्रअरी १८ ठानेर करिब डेढ सय साधु पशुपति आइसकेका छन् ।
'म त १८ तारेखमै पशुपति आएछु, यहाँ पुगेपछि अझै एक साता बाँकी रहेको थाहा पाएँ,' भारत पञ्जावको मानसर गुरुस्थानबाट आएका ओघरपिर मुकेशनाथ र धारनाथले भने, 'भक्तजनले दिने सहयोगले खानपिन त चलेको छ, बाल्नलाई दाउरा नहुँदा समस्या भयो ।'
मृगस्थली जंगलमा सुकेका ठुटा र आर्यघाटमा अन्त्येष्टिपछि बाँकी रहेका दाउरा खोजेर धुनी बाली उनीहरू रात कटाइरहेका छन् । 'रात-दिन खुला आकाशमुनि बस्नुपर्छ, नबाली त उपाय छैन,' उनीहरूले भने ।
राममन्दिरमाथि मृगस्थली किनारमा आश्रय लिएका भारत बद्रीनाथबाट आएका बाबा बर्खानी दास, धनुष गिरी र उनका अन्य दुई साथीको दैनिकी दाउरा खोज्दै बित्ने गरेको छ । दुई दिनअघि पशुपति आइपुगेका यी बाबाहरूले वरिपरिको जंगलबाट सुकेका दाउरा बटुलेर धुनी बालिरहेका छन् । 'दुई जना धुनी बालेर बस्छौं, ननिभोस भनेर अरू दुई जना दाउरा खोज्न जान्छन्,' उनीहरूले भने ।
महाशिवरात्रि बन्दोबस्तीको जिम्मेवारी पाएका पशुपति क्षेत्र विकास कोष र गुठी संस्थान पशुपति गोश्वारा शाखा कार्यालयका अधिकारी दाउरा खोजी गर्दै वन मन्त्रालय धाइरहेका छन् । कोषका सदस्य सचिव सुशील नाहाटाले दुई साताअघि वन विभाग र मन्त्रालयलाई दुई ट्रक दाउराका लागि पत्रचार भएको र पहल जारी राखेको बताए । कोषले शिवरात्रिको तीन दिनअघिबाट साधुलाई दाउरा वितरण गर्ने परम्परा छ । उनीहरूको भोजनको प्रबन्ध गुठी र सामाजिक संस्थाले हेर्ने गरेको उनले जानकारी दिए । गुठी संस्थान पशुपति गोश्वारा शाखा कार्यालयकी प्रमुख उमा आचार्यले दुई महिनादेखि दाउराका लागि मन्त्रालय धाए पनि मागअनुरूप नपाएको बताइन् ।
उनले गत माघ २२ मा ४० टन दाउरा पाएको र अपुग ३० टनका लागि मन्त्रालयमार्फत प्रयास भइरहेको जानकारी दिइन् । शिवरात्रिको दुई दिनअघिदेखि साधुलाई खाना खुवाउने र दाउरा वितरण गर्ने परम्परा रहेको उनले बताइन् । त्योभन्दा अघि विभिन्न अखडामा बसेका साधु सन्तहरूले आफैंले प्रबन्ध मिलाउने गरेका छन् ।
वन विभागका महानिर्देशक गोपाल श्रेष्ठले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपले अवलोकन गरिने महापर्वका लागि कुनै पनि परिस्थितिमा दाउरा अभाव हुन नदिने बताए । 'दाउरा अभावबारे मलाई जानकारी थिएन,' उनले भने, 'दाउरा अभाव रहे पनि महाशिवरात्रिका लागि मन्त्रालयमार्फत पहल गरेर जहाँबाट भए पनि जुटाउने छौं ।'
वन मन्त्रालयका सचिव युवराज भुसालले सरोकारवाला निकायलाई पत्र लेखेर दाउरा उपलब्ध गराउने निर्देशन भइसकेको बताए । उनले पशुपति, गुठी र अन्येष्टी जस्तो महत्त्वपूर्ण संस्कारका लागि दाउरा वितरण नरोक्न नेपाल टिम्बर कर्पोरेसनलाई पत्राचार गरेको जानकारी दिए । 'सबै प्रक्रिया पूरा भइसकेको छ, पशुपति र गुठीले त्यहाँ सम्पर्क गरेर दाउरा ल्याए हुन्छ,' सचिव भुसालले भने ।
नेपाल टिम्बर कर्पोरेसनका महाप्रबन्धक प्रमुख भरतबहादुर चन्दले दुई सातासम्मका लागि पुग्ने दाउरा स्टक रहेकाले महाशिवरात्रिका लागि चिन्ता गर्नु नपर्ने बताए । 'माग भएअनुरूप शिवरात्रिका लागि गुठीलाई दाउरा दिइसकेका छौं, कोषले मागेअनुरूप दाउरा पाउँछ,' उनले भने, 'थप कटान गरिएन भने दुई सातापछि अभाव हुने सम्भावना छ, विभाग र मन्त्रालयलाई यसबारे आग्रह गरिसकेका छौं, त्यही अनुरूपको सबैतिरबाट पहल भइरहेको छ ।'
source:kantipur










0 commentaires