भरतपुर, फाल्गुन ११ - 'आबुइ कति चिटिक्क घर ?' गायिका अञ्जु पन्तले रत्ननगरको निपनीमा चोरऔलो गाउँतिर तेस्र्याएर भनिन्, 'कस्तो आनन्दको बसाइ ।' रोमाञ्चित बन्दै 'यो यात्रा सुनौलो...' गुनगुनाइन् । उनलाई बन्दाकोपी र फैलिएको दुबोले लोभ्यायो । टिकौली ताल पुग्ने बेला फेरि सुरु गरिन्, 'टिकुली है मेरो टलटल...' ।
सौराहा चोकमा लागेको पर्यटन तथा घरजग्गा मेलामा सांगीतिक प्रस्तुतिका लागि आएकी उनी मंगलबार बिहान टिकौली ताल पुगेकी थिइन् । हास्य अभिनेता मनोज गजुरेल त्यहाँ पहिल्यै पुगिसकेका थिए । टिकौली मध्यवर्ती सामुदायिक वनले निर्माण गरेको तालको प्रवर्द्धनका लागि मेला आयोजकले कलाकारहरूलाई नौका विहारमा सहभागी गराइरहेका छन् ।
एउटा डुंगामा अञ्जु, उनका पति मनोज र अभिनेता गजुरेल बसे । रत्ननगर उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ दम्पती अर्कोमा । प्रवर्द्धनका लागि कलाकार तालमा पुर्याउने संघका वर्तमान अध्यक्ष दीपक कर्माचार्य साथीसित थिए । बसाइँ आएका साइबेरियन हाँसहरूले ठुँगेर मारेका माछा तालमा उत्रेका थिए । 'क्या विधि नाश गरेछ,' सुकेको सालको रूखभरि बसेका हाँस देखाउँदै अञ्जुले भनिन्, 'हैन, विष हालेर मारेको जस्तो छ ।' वन कर्मचारीले तालमा प्रशस्त माछा रहेको जनाउँदै हाँसले ठुँगेरै मारेको स्पष्ट पारे ।
गजुरेलले शरीर ढल्काउँदा डुंगा पल्टिन खोज्थ्यो । कालो पहिरन, छोटो मंगलसूत्रमा सजिएकी अञ्जु च्याप्प पतिको हात समात्दै चिच्याउँथिन् । मान्छेले बनाएको पोखरीमा विहार गर्न पाउँदा उनलाई अनौठो लाग्यो । भनिन्, 'डुंगामा सरर घुम्दा चिसो हावाले आनन्द मिल्यो ।' उनको जिकिर थियो, 'स्वच्छ हावाले गला साफ हुन्छ ।'
विदेशमा मानवनिर्मित कलाकृति हेर्न जाने चलन इंगित गर्दै उनले थपिन्, 'हामीलाई प्रकृतिले धेरै दिएको छ ।' टिकौली ताल र वरपरको वातावरणले रोमाञ्चित तुल्याएको उल्लेख गर्दै उनले 'संगीतबाट गर्न सक्ने प्रचार गर्ने' बताइन् । गाउँले परिवेशमा पुगेपछि उनले आगोमा पकाएको खाना सम्भिmन् । सोधिन्, 'यहाँ पाइँदैन ?' संघ अध्यक्ष
कर्माचार्यले त्यहाँबाट १८ किलोमिटर टाढा शक्तिखोरमा पाइने जानकारी दिए । अञ्जुका अनुसार उनले पाँच वर्षअघि दसैंमा आपmनो घर उदयपुर गएका बेला खाना आफैंले पकाएर खाएकी थिइन् । 'चुलामा बसेर पकाएकी थिएँ,' उनले सम्भिmन्, 'अब
त्यस्तो खान भाग्यमा लेख्नुपर्ने दिन आए ।'
गजुरेललाई गीतकै कारण केही ठाउँ प्रसिद्ध बनेको हेक्का रहेछ । 'सुर्खेतको बुलबुले ताल र सिन्धुलीगढीको प्रचार गीतमार्फतै भएको हो,' उनले भने, 'पर्यटन वर्षभरि गीत र सिर्जनामार्फत गन्तव्यको प्रवर्द्धन गर्न सकिन्छ । कलाकारहरूलाई स्टेजमा उभ्याएर फर्काउने हैन, ओझेल परेका क्षेत्र प्रचार गर्न सहयोग लिनुपर्यो ।'
source:kantipur










0 commentaires