स्मृति ढुंगाना, काठमाडौं, फागुन ९- नेपालमा आफ्नो एकल कन्सर्ट सिध्याएर क्यानेडियन गायक ब्रायन एडम्स फर्किएका छन्। आइतबार दिउँसो कतार एयरवेजको फ्लाइटबाट कतारको दोहा हुँदै उनी लन्डन प्रस्थान गरेका छन्।
लन्डनमा मंगलबार हुने कन्सर्ट भ्याउन ब्रायन त्यसतर्फ लागेका हुन्। उनीसँग ब्यान्डका सदस्यहरू किथ स्कट, नोम फिसर र ग्यारी ब्रिट पनि लन्डन लागेका छन्। ड्रमर मिक्की करी भने दुई घन्टापछि मात्र लन्डन उडे।
काठमाडौंको दुई दिने बसाइको क्रममा ब्रायनले नेपालबारे धेरै कुरा थाहा पाएका छन्। शनिबार दशरथ रंगशालामा कन्सर्ट सिध्याएर करिब १०:१५ मा होटल सोल्टी पुगेका ब्रायन ठूलो रूम रिगल सुइटबाट त्योभन्दा सानो एक्जिक्युटिभ सुइटमा सरेका थिए। भीडभाड मन नपराउने ब्रायनले आफ्ना सहयोगीलाई केहीबेर एक्लै छाडिदिन आग्रह गरेका थिए। सोल्टीको अल फ्रेस्कोमा डिनर गर्ने क्रममा उनले आयोजकसँग कन्सर्टबारे साधारण कुराकारी गरे। 'नेपालमा पनि मेरो गीत मन पराउने यत्रो जमात छ भन्ने लागेको थिएन,' स्रोतले ब्रायनलाई उद्धृत गर्दै भन्यो।
कन्सर्टले थाकेका ब्रायन डिनरपछि तुरुन्तै निदाए। बिहान साढे ८ बजेतिर सोल्टीमा ब्रेकफास्ट गरेको ब्रायनले केहीबेर नेपालबारे जानकारी लिए। एक हप्ताको कन्सर्टको क्रममा दक्षिण एसिया भ्रमणमा आएका ब्रायन नेपालदेखि लोभिएका पाए। फेरि नेपाल घुम्न आउने इच्छा उनले व्यक्त गरे।
'नेपाली श्रोताले खासै नचिन्लान् र आरामले सुरक्षाकर्मीबिनै एक दुई स्थान घुम्छु भनेर सोचेको थिएँ। यहाँ त मेरा प्रशंसक धेरै पो रहेछन्,' ब्रायनले आयोजकसँग भने। उनले आफूलाई सरकारी सुरक्षा दिइएकोमा सुरक्षाकर्मीलाई धन्यवाद दिए।
'म साधारण मानिस भएर नेपाल घुम्ने आशामा थिएँ। नेपालले मलाई सरकारी सुरक्षाको व्यवस्था गरिदिएको रहेछ,' बे्रकफास्टपछि माउन्टेन फ्लाइटमा जाने विचारमा रहेका ब्रायन लन्डनको कन्सर्ट भ्याउन हतारिएका थिए।
कपिलवस्तु, पोखरा र मुस्ताङबारे उनले भौगोलिक जानकारी लिएपछि उनले मुस्ताङको हावापानी र परिवेश बुझ्ने प्रयास गरे। 'नेपालको प्राकृतिक सुन्दरतालाई नजिकबाट अवलोकन गर्ने सोच पलाएको छ। हेरौं कति चाँडो पूरा हुन्छ,' उनले बताएका थिए।
अर्को भ्रमणको क्रममा उनले यी तीन ठाउँ पुग्ने योजना बनाइसकेका छन्। 'यसपटक मेरो विश्व सांगितिक भ्रमण नपरेको भए नेपालमा केही दिन रमाइलो गर्थें होला।'
बिहान ११ बजे सोल्टीबाट बाहिरिने क्रममा उनले होटलमा रहेका शुभचिन्तकहरूसँग भेट गरेका थिए। ब्रायनले सोल्टीदेखि एयरपोर्टसम्मको दूरीमा नेपालबारे आफ्नो अनुभव सुनाए। नयाँ बानेश्वर चोकमा किशोरकिशोरीको जोडी देखेपछि उनले नेपाली युवापुस्ताको प्रेम प्रसंगबारे जिज्ञासा राखे।
'नेपाली युवायुवती पनि खुलेआम प्रेम गर्दा रहेछन्। उनीहरू निकै चलाख रहेछन्,' धर्म निरिपेक्ष राज्य नेपालमा भएको विभिन्न धर्मबारे उनले जिज्ञासा राखे, 'के नेपालमा धर्मको नाममा विभेद हुन्छ?' उनको प्रश्नको उत्तर दिँदै आयोजक टोलीका एक सदस्यले भने, 'नेपालमा धर्मको नाममा विभेद छैन।'
विश्वसामु चर्चित मानिने सगरमाथा हेर्ने सोच ब्रायनले अचानक रद्द गरेर वचन दिए, 'अर्को पटक सगरमाथाको आधार शिविर पुग्ने गरी आउनेछु।' उनले क्यानडा र नेपालमा हिउँको प्रसंगबारे रमाइलो गफ समेत गरे।
ब्रायन बसुन्जेल होटल सोल्टीका कर्मचारी पनि सुरक्षामा खटिएका थिए। 'ब्रायनको आफ्नै सुरक्षाकर्मी भएकाले हामीले उनीहरूलाई सहयोग मात्र गरेका थियौं,' एक कर्मचारीले भने। हिन्दु, बौद्ध, मुस्लिम, र क्रिस्चियन धर्मावलम्बीहरू मिलेर बसेकोमा उनले आश्चर्यका साथ खुसी व्यक्त गरे।
दक्षिण एसियामा म्युजिक र मिडियाको क्षेत्रमा नेपालीहरू निकै अघि भए पनि देशको विकास खासै हुन नसकेकोमा उनी जिज्ञासु बने। नेपाली संगीतबारे पनि उनले प्रसंग जोडेका थिए। नेपाली संगीतमा प्रयोग हुने वाद्यवादनबारे उनले धेरै जिज्ञासा राखे।
'नेपाली वाद्यवादनमा गिटार पर्छ?' उनले सोधेका थिए। सारंगी र गिटारबारे जानकारी पाएपछि उनले सारंगी हेर्ने इच्छा व्यक्त गरे। तर, समय अभावले त्यो इच्छामा मात्र सिमित रहयो। नेपाली रक गीतमा पनि अन्तर्राष्ट्रिय बाजा प्रयोग भएकोमा उनी खुसी भए।
उनले क्यान्सरबाट पीडित बालबालिकाका लागि स्थापना गरिएको बिए फाउन्डेसनका बालबालिकाको स्थितिबारे बु‰न चाहे। बाटोमा देखिएका सडक बालबालिकाप्रति उनी दुःखी देखिए र प्रश्न राखे, 'किन नेपाल सरकारले यी बालबालिकालाई आफ्नो संरक्षणमा नलिएको होला?'
दक्षिण एसियामा आएको सुनामीका पीडितहरूको सहयोगार्थ उनको सहयोगमा 'ब्रायन एडम्स फाउन्डेसन' स्थापना भएको थियो। यो फाउन्डेसनले बालबालिकाको शिक्षामा जोड दिएको छ।
विश्व सांगितिक भ्रमणमा रहेका ब्रायनले बेलायत, अमेरिका, नर्वे र स्वीडेनका विभिन्न सहरमा कन्सर्ट दिँदैछन्। आगामी अर्को वर्षको जेठ २७ मा उनको विश्व सांगीतिक भ्रमण समापन हुने छ।
ब्रायन लन्डनका लागि प्रस्थान गरेको केही घन्टामा प्रोडक्सन क्युका केही सदस्य हङकङतिर लागेका थिए। ओडिसी नेटवर्कका सीमान्त गुरूङका अनुसार बाँकी सम्पूर्ण सदस्य सोमबार लन्डनतर्फ लाग्दैछन्।
source:-nagriknews










0 commentaires