समुद्रपार पठाउने भन्दै बालबालिका भारतमा


इलाम, माघ २८  - लामो समयदेखि झापाको घोडामाराका तोरिया राजवंशी आफ्नी १३ वषर्ीया छोरीको खोजीमा छन् । काममा विदेश लगिदिन्छु भन्ने र अरू संस्थामा धाएर उनले सोधखोज गरिरहे पनि छोरी कहाँ भन्ने पत्तो पाएका छैनन् ।

झापाकै पाराखोपीका प्रेम राईले कुवेत पठाउने भनेर लगेपछि अहिलेसम्म तोरियाले छोरीको कुनै खबर पाएनन् । उनी यस्तै गुनासो लिएर सुरक्षित वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र धाइरहन्छन् ।

यस्तो पिरलो पर्ने उनी एक्ला भने होइनन् । घोडामारा ४ का भर्ती किस्टुले पनि आफ्नी छोरीलाई शोभा राजवंशीले कुवेत लैजाने भनेर ११ महिनाअघि लगेपछि केही खबर नपाएको बताए ।

झापाका विभिन्न ठाउँका युवतीलाई यसैगरी विदेश लगिदिने भनेर कता पुर्‍याएको भन्दै धेरै अभिभावक गुनासो लिएर आउने गरेको केन्द्रकी परामर्शदाता अनुपा राउत बताउँछिन् । विदेश जानेलाई त्यो देशको भाषा, संस्कृतिजस्ता विषयमा जानकारी गराइरहेको केन्द्रमा अचेल यस्ता गुनासा प्रशस्त आउने गरेको राउत बताउँछिन् । जलथल, दुर्गापुर, पृथ्वीनगर तथा आसपास क्षेत्रका ६० जनालाई हाल परामर्श दिइरहेको केन्द्रले परिवारका सदस्य बेपत्ता भएको गुनसो पनि सुन्नु परिरहेको छ ।

'नागरिकता बनाउने उमेरै नपुगेकालाई पनि विदेश पठाएको भन्ने गुनासो आएको छ,' राउत भन्छिन्, 'अर्कैको राहदानीमा तस्बिर फेरेर लैजाने गरिन्छ ।' दर्ताबिना सञ्चालनमा रहेका म्यानपावर कम्पनीले यस्तो गरेका घटना धेरै 

छन् । यसबाहेक व्यक्तिगत रूपमा पठाउनेले पनि एउटा देश भनेर अन्तै पुर्‍याउने गरेको छ ।

समुद्रपार लगिदिने भनेर भारतका विभिन्न ठाउँ पुर्‍याउने गरिएको फर्काउने अभियानमा संलग्न अभियानकर्मी बताउँछन् । त्यसरी लैजाने क्रममा कतिपयको उद्धार हुने गरेको छ । बढी संख्याका भने, 'दलाल' ले पुर्‍याउने ठाउँमा पुर्‍याएर शोषित हुने गरेका छन् ।

यसरी लैजाँदा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको जोगबनी नाकालगायत सीमाद्वार प्रयोग गर्ने चलन छ । चेलिबेटी बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालका अनुसार सन् २०१० मा २ सय ७६ युवतीलाई पशुपतिनगर नाकाबाट फर्काएको छ । तीमध्ये घरेलु हिंसापीडित र वैदेशिक रोजगारीमा लगिदिने भनेर फसाइएका छन् ।

तिनमा ११ वर्षदेखि ३१ वर्षसम्मका काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, तेह्रथुमलगायतका रहेको माइती नेपाल, पशुपतिनगर संयोजक होम ढकालले बताए । विभिन्न माध्यमले चेतनामूलक कार्यक्रम गरी प्रचार गर्दा पनि यस्तो क्रम निरन्तर रहेको उनको भनाइ छ । शंकास्पद अवस्थामा भेटिएका युवतीलाई जाँचबुझपछि परिवारको सम्पर्कमा पठाउने गरेको उनले बताए ।

यसैगरी काठमाडौंस्थित इस्टर बेन्जामिन्स मेमोरियल फाउन्डेसन अभियानकर्मीले यसै साता ३० नेपाली बालबालिकालाई उद्धार गरेको छ । भारतको केरलास्थित राजकमल सर्कसमा रहेका उनीहरू ४ मोरङका, २ उदयपुरका अनि २४ जना नेपाली मूलका सिलिगुडीका बालबालिका रहेको फाउन्डेसनकी नेपाल कन्ट्री डाइरेक्टर शैलजा सीएमले बताइन् ।

उनका अनुसार प्रलोभन देखाएर बालबालिका भारतका विभिन्न ठाउँ पुर्‍याएर श्रम शोषण गर्ने समूह पूर्वमा सक्रिय छन् । धेरै पैसा कमाउने लोभमा पारी विद्यालय पढ्दै गरेका बालबालिकालाई भारत पुर्‍याएर सर्कसमा जोखिमपूर्ण काम गराउने, यौन शोषण गराउनेजस्ता घटना पाइएका छन् । 'आफन्तले नै सम्झौतापत्रमा सहीछाप गरी केटाकेटी बिक्री गरेका छन्,' सीएम भन्छिन्, 'महिनाको हजार रुपैयाँ पाउने भनी एक-दुई वर्षको पारिश्रमिक पेस्कीमा लिने गरेको कागज हामीसँग छ ।


source:-kantipur'
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login