गुलरिया, फाल्गुन ८ - गाविसको जग्गा अतिक्रमण गरी २३ जनाले पक्की घर बनाएका छन् । नगरउन्मुख राजापुर गाविसको करिब एक विघा जग्गा अतिक्रमण गरी उनीहरूले घर बनाएका हुन् ।
कित्ता नम्बर ५ सय ६० र १ सय ५ नम्बरमा रहेको उक्त जग्गा २०२१ मा भूमिसुधार लागू भएपछि राजापुर गाविसको नाममा दर्ता भएको थियो । राजापुर मध्यपश्चिमकै पुरानोमध्येको एक बजार मानिन्छ । तीन दशकअघि उक्त गाविससँग कच्ची पसल थाप्न निवेदन दिई बसेका व्यवसायीले पक्की घर बनाउँदै हकदाबी गर्दै आएको गाविस सचिव तीर्थराज शाहीले बताए ।
उनीहरूले पुनरावेदन अदालत नेपालगन्जमा मुद्दासमेत दायर गरेका थिए । पुनरावेदन अदालतले २०६६ मंसिर ७ मा उक्त जग्गा गाविसको भएकाले हकदाबी गर्न नपाइने भन्दै फैसला सुनाएको सचिव शाहीले बताए ।
गाविसले उक्त जग्गा उपभोग गरेबापत भाडा माग गर्दासमेत पाएको छैन । भाडा नदिए प्रहरी प्रशासन, दल, नागरिक समाजको सहयोगमा कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ । स्थानीय बासिन्दाले भने कुनै पनि हालतमा बसेको ठाउँ नछाड्ने बताएका छन् ।
राजापुर बजार अहिलेसम्म लालपुर्जाविहीन छ । बजार क्षेत्रमा बस्दै आएका करिब तीन हजार जनसंख्याको ५ सय घरधुरी दर्ता नभएका कारण लालपुर्जाविहीन भएका छन् । २०२० मा तात्कालीन बाँके, बर्दिया गौश्वाराका वडा हाकिमले राजापुरमा बजार बसाल्न व्यापारीलाई पसल राख्न जग्गा छुट्याएको थियो । त्यसै क्रममा पसल र स्थानीय बासिन्दाले बजार क्षेत्रमा कच्ची र पक्की घर बनाएका छन् ।
तीन दशकअघि राजापुर गाविसलाई पसल रेखदेखको जिम्मा दिइएको थियो । २०४० मा नापी शाखाले जग्गा दर्ताका लागि नापी गर्ने प्रक्रिया सुरु गरेको स्थानीय उद्योग व्यापार संघका पूर्वअध्यक्ष मानबहादुर खत्रीले बताए । २०६४ कात्तिकमा जग्गा दर्तासम्बन्धी १ सय ६५ जनाको नाममा ३५ दिने सूचना मालपोत कार्यालयले जारी गरेको थियो ।
source:-ekantipur










0 commentaires