विजय खत्री बद्रीप्रसाद पाण्डे
खाडी क्षेत्रीय संयोजक, गैर आवासीय नेपाली संघ, अन्तर र् ाष्ट्रिय समन्वय परिषद्
गोरखामा जन्मिएका बद्रीप्रसाद पाण्डे इन्जिनियरिङ अध्ययनपछि सन् १९९३ कतार गएका थिए । झन्डै पाँच वर्षसम्म कतारमा विशेषगरी घर बनाउने परियोजनामा सुपरभाइजरका रूपमा काम गरेपछि पाण्डे नेपाल फर्केर नेपाल विल्डर्स एन्ड कन्सट्रक्सन प्रालि स्थापना गरी केही निजी भवन बनाए पनि पुनः कतारमा नै गएर एक दशकअघि आफ्नै निर्माण कम्पनी स्थापना गरी अहिले बहुराष्ट्रिय निर्माण व्यवसायीका रूपमा चिनिन्छन् ।
मध्यपूर्वको कतारमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको समयमा विदेश गएर कम्पनी सुरु गरेपछि उनको प्रगति निरन्तर रूपमा भइरहेको छ । कतारको कानुनअनुसार विदेशी नागरिकले ४९ प्रतिशतमात्र लगानी गर्न पाउँछन् । कुनै पनि बेला साझेदारले हटाउन सक्ने कठिन जोखिम भएको देशमा पुगेर पनि पाण्डेले निकै नै प्रगति गरेका छन् । कतारी साझेदारले सर्वोच्च अदालतको स्वीकृतिमा कम्पनी चलाउने सम्पूर्ण अधिकार पाण्डेलाई दिएका छन् । उनी नै यस्तो अधिकार पाउने पहिलो नेपाली हुन् । अलफजर इन्टरनेसनल टे«डिङ एन्ड कन्ट्रयाक्टिङ डब्लूएलएल सञ्चालन गरिरहेका पाण्डेको अहिलेको वार्षिक कारोबार ७ अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।
कतारमा एक दशकदेखि निर्माण व्यवसायीका रूपमा सक्रिय पाण्डेले आफूले हासिल गरेको विज्ञता, अनुभव, विश्वासले खाडीका अरू मुलुकहरू, क्यानाडा, अमेरिका, बेलायतलगायतसम्ममा लगानी गरेका छन् । व्यावसायिक घर तथा आवासीय घर निर्माणमा पोख्त पाण्डे विश्वका विभिन्न मुलुकमा निर्माण सामग्रीको व्यापार, फर्निचर उद्योग, आल्मुनियम उद्योगका साथै निर्माण तथा मर्मत सम्भारसम्बन्धी सेवा दिने व्यवसायलाई अघि बढाएका छन् । नेपालमा पनि हाउजिङ, व्यापारिक भवनमा लगानी सुरु गरिसकेका उनी पर्यटन र उद्योगमा पनि लगानी गर्ने योजनामा छन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को खाडी क्षेत्रीय संयोजक तथा अलफजर इन्टरनेसनल कन्ट्याक्टिक डब्लूएलएलका प्रबन्ध निर्देशक पाण्डेको व्यावसायिक यात्रा, वर्तमान अवस्था र भविष्यका सम्बन्धमा कारोबार दैनिकका प्रमुख संवाददाता विजय खत्रीले गरेको कुराकानीका केही अंशः
खाडी मुलुकमा पुगेर व्यवसाय कसरी सुरु गर्नुभयो ?
सन् १९९३ मा म पहिलो पटक रोजगारीका लागि कतार गएको थिए । त्यतिबेला कतारमा काम गर्न जाने क्रम सुरु नै भएको थिएन । इन्जिनियरिङ अध्ययन गरेकाले मैले भवन निर्माण सुपरिवेक्षकका रूपमा काम सुरु गरे । पाँच वर्षसम्म यो काम गरेपछि आफ्नै व्यवसाय गर्नका लागि आवश्यक अनुभव हासिल गरेपछि नेपाल आएर यहाँ व्यवसाय सुरु गरेको थिए तर प्रतिकूल स्थितिले पुनः कतारमा नै गएर व्यवसाय सुरु गरेको हुँ ।
तपाईंको कम्पनीको वार्षिक कारोबार र हैसियत के छ ?
कतारमा रहेको अलफजर इन्टरनेसनलको वार्षिक कारोबार वार्षिक ७ अर्ब रुपैयाँ छ । मेरो कम्पनी अहिले तेस्रो वरियतामा पर्छ । कतारमा निर्माण कम्पनीलाई १० वर्गमा विभाजन गरिन्छ । रोजगारी, दायित्व, उपकरण, कामदारलाई दिएको सुविधालगायत थुप्रै मापदण्डका आधारमा कम्पनीको वर्गीकरण गरिन्छ । अहिल्यैको दरमा वृद्धि हुने हो भने छिट्टै दोस्रो र पहिलो वरियतामा पुग्छु । कतारमा विदेशीद्वारा स्थापित कम्पनी तेस्रो वरियतामा पुग्नु पनि निकै नै ठूलो उपलब्धि हो । यो कम्पनी पूर्णरूपमा मेरो लगानीमा स्थापना भएको हो । मेरा कतारी स्पोन्सर असल र दूरदर्शी भएकाले मलाई अघि बढ्न हौसला मिलेको हो । औंलामा गन्न सकिने विदेशीद्वारा सञ्चालित कम्पनीमात्र कतारमा पहिलो र दोस्रो वरियतामा छन् ।
कति जना नेपालीलाई रोजगारी दिनुभएको छ ?
कतारमा मात्रै ५ सय ५० जनाभन्दा बढी नेपालीहरूलाई रोजगारी दिएको छु । ६० जनाभन्दा बढी विदेशी कामदार मेरो कम्पनीमा छन् । अरू मुलुकका पनि कामदार छन् । मूलतः खाडीका गरिब देशहरू इजिप्ट, सिरियालगायतका देशबाट आएका विदेशी कामदार छन् । मेरो व्यवसायको प्रकृति निर्माण क्षेत्र भएकाले कुनै बेला कामदारको संख्या निकै धेरै पनि हुन्छ भने कुनै बेला थोरै पनि । मैले माथि भनेका स्थायी प्रकृतिका कामदारहरू हुन् । निर्माण कम्पनीमा रोजगार पाउनेको संख्या निश्चित हुँदैन । अप्रत्यक्ष रूपमा दुई/तीन हजारले रोजगारी पाएका छन् । सप्लाई कम्पनीमा पाएको रोजगारीसमेतलाई यसमा हेर्नुपर्छ ।
विश्वका कुन–कुन मुलुकमा लगानी विस्तार गर्नुभएको छ ?
दुई वर्ष अघिसम्म संसारभर निर्माणको क्रम तीव्र गतिमा अघि बढेको थियो । त्यतिबेला मैले क्यानाडा, अमेरिका, बेलायत, यूएईलगायतका देशमा आफ्नो व्यवसायको दायरा फराकिलो बनाउन निकै नै धेरै मेहनत र लगानी गरेको थिए । दुबईमा ठूलो परियोजना निर्माणलाई हस्ताक्षर भइसकेको थियो । अमेरिकाको केन्टकीमा माउन्ट एभरेस्ट कन्सलटेन्सी नामको कम्पनी दर्ता गरेर काम अघि बढिसकेको थियो । यी काम विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीले गर्दा अबरुद्ध भएका छन् । क्यानाडामा इलेक्ट्रोनिक प्लम्बिङ एन्ड सर्भिसिङ कम्पनी ठूलो आकारमा सुरु हुँदै छ । रियलस्टेटको क्षेत्रमा पनि लगानी छ । नेपालमा पनि लगानी बढाउँदै छु ।
विश्वव्यापी आर्थिक मन्दीले संसारभर निर्माण कम्पनीहरू प्रभावित भएको समयमा पनि त अघि बढिरहनु भएको छ ।
संसारभर आर्थिक मन्दी हुने बित्तिकै सबभन्दा पहिला निर्माण कार्य प्रभावित हुन्छ । पक्कै पनि मलाई विश्वव्यापी आर्थिक मन्दीले असर ग¥यो । विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीका कारण निर्माण उद्योग संसारभर प्रभावित भएकाले मेरो लगानीको दायरा केही संकुचित भएको छ । फेरि पनि क्यानाडामा आक्रमक रूपमा यो परियोजनालाई अघि बढाएको छु । अरू देशमा पनि हेर्दै छु ।
मन्दीको समयमा मैले नयाँ रणनीति अवलम्बन गरेकाले कुनै असर परेन । मैले कतारमा निरन्तर रूपमा ठूला–ठूला परियोजना पाउन सुरु गरेको थिए । त्यस्ता परियोजनामा नाफा र इज्जत दुवै बढी हुन्छ । आर्थिक मन्दीको असर खाडी क्षेत्रमा पनि परेको समयमा मैले त्यस्ता परियोजना गुमाउन बाध्य भए । तर, मेरो लामो अनुभव, विश्वसनीयता, गुणस्तरीय र समयमा परियोजना सम्पन्न गराउने रेकर्डले गर्दा आकारका दृष्टिले ठूला–ठूला परियोजना नपाए पनि साना–साना परियोजना झन् धेरै पाएँ । मेरो व्यवसायको आकार घटेन । मैले पनि ठूलाभन्दा साना परियोजनालाई प्राथमिकता दिने रणनीति अवलम्बन गरे । कतिपय साना कम्पनीहरू टाट उल्टिएकाले गर्दा कामको चाप झन् बढ्यो । मैले पनि साना परियोजना धेरै लिएको हुनाले कुनै असर परेन ।
खाडी क्षेत्रमा निर्माण व्यवसायको भविष्य कस्तो छ ?
खाडीका केही क्षेत्रमा मन्दीको असर अझै छ तर खाडीमा निर्माणको विकल्प छैन । निर्माण क्षेत्रको विशेषता के छ भने मन्दीको असर पनि अल्पकालका लागि मात्र हुन्छ । अझै पनि खाडी क्षेत्रमा यसका सम्बन्धमा निकै ठूलो संभावना छ । तेलमा आधारित अर्थतन्त्रमा पछिल्ला केही वर्षदेखि विदेशी लगानी पनि उच्च भएको छ । पर्यटकीय आय पनि बेपत्ता बढेको छ । सेवा क्षेत्र विस्तारित भएका छन् । व्यापार र व्यवसायको स्थितिमा पनि सुधार आएको छ । खाडीमुलुकमा आम्दानीको पर्याप्त स्रोत भएकाले निर्माण क्षेत्र अझै व्यापक रूपमा विस्तार हुँदै छ । यी देशमा आम्दानी हुने बित्तिकै लगानी गर्ने भनेको ठूला–ठूला व्यापारिक भवन, आवासीय भवन र पर्यटकीय होटल तथा रिसोर्ट हुन् । तसर्थ यो क्षेत्रमा लगानीका लागि निकै ठूलो अवसर छ । किनभने खाडीमा लगानीका धेरै क्षेत्र छैन । नयाँ–नयाँ डिजाइनका घर बनाउने, सडक बनाउने नै हो ।
कतारमा सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने भएकाले निर्माण क्षेत्रमा अझै ठूलो लगानी हुने अनुमान गरिएको छ, के होला ?
सन् २००६ मा दोहामा एसियाली गेम आयोजना भएको थियो । यसका लागि सन् २००३ देखि नै दोहामा ओलम्पिक भिलेज निर्माण सुरु भएको थियो । यो अवसरलाई लक्षित गर्दै थुप्रै होटल तथा अपार्टमेन्ट बनेका थिए । यसका लागि आयोजक समितिले मात्रै ४० अर्ब रुपैयाँभन्दा बढी पूर्वाधार निर्माणमा खर्च गरेको थियो भने निजी क्षेत्रले झन्डै ८० अर्ब रुपैयाँको निर्माण कार्य गरेको थियो ।
सन् २०२२ मा योभन्दा २० औं गुणा बढी निर्माणका काम हुने अनुमान गरिएको छ । अहिले कतार सरकार र निजी क्षेत्र योजना बनाउन सक्रिय छ । योजना बनाउन मात्र पनि कम्तीमा १ देखि २ वर्ष लाग्न सक्छ र त्यसपछि निर्माण कार्य सुरु हुन्छ । अहिले विश्वकपलाई लिएर कतारमा हरेक क्षेत्र उत्साहित भएको छ । कतारको सरकार र निजी क्षेत्र यो अवसरलाई भव्य बनाउनका लागि जति रकम पनि खर्च गर्न तयार भएको अवस्था छ ।
यो अवसरबाट नेपालले कसरी फाइदा लिन सक्छ ?
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपले नेपालको भाग्य परिवर्तन पनि गर्न सक्छ । पूर्वाधार निर्माणका लागि २० औं लाख श्रमिक आवश्यक पर्छन् । कतारसँग नेपाली श्रमिकको विकल्प पनि धेरै नभएकाले कम्तीमा पनि पाँच लाख थप व्यक्तिले तीन चार वर्षभित्र कतारमा रोजगारी पाउन सक्ने अवस्था छ । यसका लागि सरकारी तहमा सम्बन्ध सुमधुर बनाउनुपर्छ । नेपाली कामदारको तलब तथा सुविधा बढाउनका लागि यो अवसर सबैभन्दा सुनहरा मौका हो । यतिबेला सबै जना उत्साहित छन् ।
कतारले नेपालबाट श्रमिक लैजानुको विकल्प छैन् । श्रीलंकाका कामदारसँग कतारका रोजगारदाता खुसी छैनन् । भारतीयले तल्लो स्तरको काम गर्दैनन् । बंगलादेश र पाकिस्तानका कामदारको संख्या पहिल्यै बढी भइसकेको छ । तसर्थ नेपाली कामदारको आवश्यकता बढी हुन्छ ।
यसका लागि के–के गर्नुपर्छ ?
कामदारलाई बढी रोजगारी दिलाउनका लागि सरकारी तहमा कुराकानी हुनुपर्छ । साथसाथै कतारका लागि आवश्यक जनशक्ति तयार गर्नका लागि पनि जोड दिनुपर्छ । खाडी मुलुकमा प्रयोग हुने उपकरणहरू प्रयोग गरेर तालिम दिनु आवश्यक छ । यसका लागि त्यहाँ आवश्यक हुने कामदार आपूर्ति गर्नका लागि अहिल्यै तालिमको व्यवस्था गर्नुपर्छ । अहिले नेपालमा पनि खाडीबाट फर्केका अनुभवी कामदारले विभिन्न क्षेत्रमा आकर्षक रोजगारी पाएका छन् । ती नेपालीहरूको सहयोगबाट अरू नेपालीलाई दक्ष बनाउन सकिन्छ । यसका लागि पहल गर्नुपर्छ ।
व्यवसायीका लागि कुनै संभावना छैनन् ?
निर्माण व्यवसायीका लागि निकै ठूलो संभावना छ । म त के भन्छु भने आगामी एक दशकका लागि कतारमा जति निर्माण क्षेत्रमा भविष्य संसारको कुनै पनि मुलुकमा छैन । तसर्थ नेपाली व्यवसायीहरू आफ्नो दलबलसहित कतार आउन कोसिस गर्ने हो भने निकै बढी फाइदा हुन्छ । सामान्यतया निर्माण परियोजनामा कतारमा परियोजना रकमको २० प्रतिशत फाइदा हुन्छ । नेपालमा भन्दा त कतारमा गरिने व्यवसाय २० गुणा बढी फाइदाजनक हुन्छ ।
नेपाली व्यवसायीहरूले त्यहाँ ठेक्का लिने हो भने नेपाली कामदारले पनि बढी सुरक्षाको अनुभूति गर्न सक्छन् । नेपालीहरूसँग काम गर्न उनीहरूलाई सजिलो पनि हुन्छ । यतिमात्र होइन, नेपाली व्यवसायी त्यहाँ गएमा बढी कमाई पनि गर्न सक्छन् । त्यो रकम नेपाल आउन सक्छ । थप रेमिटेन्स नेपाल आउँछ ।
नेपालमा पनि विकास निर्माणका काम गर्न धेरै बाँकी छ । विदेशमा निर्माण क्षेत्रमा सहभागी भएका तपाईंहरू नेपाल फर्कन किन चाहनुहुन्न ?
विदेशमा व्यवसाय गर्नेदेखि काम गर्ने सबै नेपालीहरू स्वदेशमा फर्कन चाहन्छन् । सम्पूर्ण गैरआवासीय नेपालीहरू नेपालप्रतिको मायाले ओतप्रोत छन् । नेपालमा लगानी गर्दा आफ्नो रकम नै डुब्ने स्थिति सिर्जना हुनु भएन । शान्ति, मैत्री व्यावसायिक वातावरण पनि नेपालमा छैन । विदेशमा सिकेको सीपले नेपालको उन्नतिमा योगदान पु¥याउनुपर्छ । राजनीतिक स्थिरता पनि जरुरी छ । विदेशमा रहेका नेपालीहरू जतिबेला पनि नेपाल आउन तयार छन् । विदेशमा रहेका नेपालीलाई भित्राउने वातावरण तयार गर्ने हो भने कुनै पनि देशबाट प्राविधिज्ञ ल्याउन पर्दैन । यहाँ नै प्रशस्त मात्रामा छन् ।
खाडीमा रहेका नेपालीले सामूहिक लगानी गर्न सक्छन् ?
सामूहिक लगानीका लागि पहल सुरु गर्नुपर्छ । सामूहिक लगानी गर्न आकर्षित गर्ने वातावरण बनाउनुपर्छ । खाडीमा १५ लाखभन्दा बढी नेपाली छन् । कम्तीमा पनि १० प्रतिशतले मात्र सामूहिक लगानीमा पहिलो वर्ष भाग लिएमा दोस्रो, तेस्रो वर्षमा यो क्रमशः बढ्दै जान्छ । अबको पाँच सात वर्षमा खाडीमा रहेका नेपालीको संख्या २५ लाख हुनेछ । उनीमध्ये २० प्रतिशतलाई मात्र सामूहिक लगानी गरेमा नेपालमा अर्बौ रुपैयाँ हुन्छ । तसर्थ यसका लागि छिटो पहल गर्नुपर्छ ।
source:-karobardaily










0 commentaires