काठमाडौं, २८ माघ कतारी प्रधानमन्त्रीका विशेष दूत डा. खालिद विन मोहम्मद हतिया तीनदिने भ्रमणका लागि अर्को साता नेपाल आउने भएका छन् । संयुक्त राष्ट्रसंघीय महासभाको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नेपाल र कतारले आ-आफ्ना पक्षमा लबिङ तीव्र गरिरहेकै वेला उनको भ्रमण हुन लागेको हो ।
डा. खालिद कतारी अन्तर्राष्ट्रिय सहकार्य राज्य मन्त्री हुन् । कतारमा अन्तर्राष्ट्रिय सहकार्य राज्यमन्त्री विदेशमन्त्री मातहत हुन्छन् । कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री हमद विन जासिम विन जवर अल थानीका विशेष दूतका रूपमा उनी १५ फेब्रुअरीमा काठमाडौं आउनेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कतार सरकारले केही दिनअघि उनको भ्रमणबारे जानकारी गराएको थियो ।
'कतार सरकारले राज्यमन्त्रीको भ्रमण प्रस्ताव गरेको थियो, हामीले बिहीबार स्वीकृति दियौँ,' मन्त्रालय स्राेतले नयाँ पत्रिकासँग भन्यो, 'नेपाल र कतार महासभा अध्यक्षका लागि लड्ने भएकाले भ्रमण महत्त्वपूर्ण छ ।' नेपालले कतारलाई अनौपचारिक रूपमा उम्मेद्वारी फिर्ता लिन र नेपाललाई समर्थन गर्न आग्रह गरिसकेको जानकारी दिँदै मन्त्रालयका एक उच्च अधिकारीले कतारी विशेष दूतको भ्रमणमा औपचारिक रूपमै आग्रह गरिने बताए ।
हतियाले प्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्रमन्त्रीलगायत उच्च सरकारी अधिकारीहरूलाई भेट्नेछन् । परराष्ट्र अधिकारीहरूले राज्यमन्त्रीको भ्रमणबारे बिहीबारै प्रधानमन्त्री खनाललाई जानकारी गराएका छन् । उनले कतारका पक्षमा मतदान गर्न र नेपाललाई उम्मेदवारी फिर्ता लिनसमेत प्रस्त्ााव गर्नसक्ने परराष्ट्र अधिकारीहरूको भनाइ छ । नेपालले केही समयअघि कतारी अधिकारीहरूसँग आफ्नो भ्रमण टोली पठाउने विषयमा कतार सरकारलाई प्रस्ताव गरेको थियो । 'तर कतारले नेपालबाट हुने भ्रमणलाई स्वीकारेन,' परराष्ट्र स्रोतले भन्यो ।
उता सरकारले संयुक्त राष्ट्रसंघीय महासभाको अध्यक्ष पदमा नेपालका तर्फबाट प्रस्तावित उम्मेद्वार कुलचन्द्र गौतमलाई जिताउन अभियान थालिसकेको छ । अभियानअन्र्तगत यतिवेला गौतम अमेरिकाको न्युयोर्क पुगेका छन् । मन्त्रालयको संयुक्त राष्ट्रसंघ शाखाले अभियानअन्र्तगत विभिन्न कार्यक्रम बनाइरहेको छ । 'राष्ट्रसंघ महासभाको अध्यक्ष जित्न लबिङ तीव्र बनाएका छौँ,' मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले भने । दक्षिण एसियाली देशहरू चीन, कोरिया र जापानका विदेश मन्त्रालयका अधिकारीहरूले गौतमलाई महासभा अध्यक्षमा जिताउन सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । नेपालले पहिलोपटक राष्ट्रसंघको सर्वोच्च पदमा उम्मेदवारी दिएको हो ।
source:-nayapatrika










0 commentaires