रुबी रौनियार, काठमाडौं, फागुन ३- स्कुलबाट फर्कनासाथ १० वर्षीया छोरी झोला फुत्त फालेर हत्तपत्त शौचालय छिरेको देखेर आमा छक्क परिन्। काठमाडौं नक्सालस्थित बृहस्पति विद्या सदनकी यी छात्राले स्कुलको शौचालयमा हात धुन साबुन नभएकाले दिसा नगरी हतारहतार घर आएको आमालाई बताइन्। 'टिफिन खाएपछि मलाई दिसा आयो, तर ट्वाइलेटमा साबुन नभएकाले जानै मन लागेन,' ती बालिकाले आमासँग रुन्चेस्वरमा भनिन्, 'टेन्सनले त्यसपछि पढ्न पनि मन लागेन।'
डन बस्को स्कुल (नाम फेरेर कान्जिरोवा) मा कक्षा ३ मा पढ्ने छोराले घर फर्कंदा दुवै हात माथि उठाएको देख्दा आमा छक्कै परिन्। स्कुलमा दिसा गरेपछि धुन साबुन नहुँदा उसलाई झोला बोक्नै घीन लागेछ। 'मैले बाटोभरि झोला छोइनँ, साथीलाई बोकाएँ,' उसले भन्यो, 'खाजा खान पनि घीन लाग्यो।'
उपत्यकाको प्रतिष्ठित स्कुल सेन्ट मेरिजमा कक्षा ९ पढ्ने छात्रा जहिल्यै झोलामा साबुन बोक्छिन्। 'स्कुलमा दिसा लागेपछि हात धुन साबुन नै हुँदैन,' ती छात्राले नागरिकसँग भनिन्, 'स्कुलमा दिसा लागेको दिन हात धुन नपाउँदा पढाइमा मनै लाग्दैन, सकसक हुन्छ।'
अनामनगरस्थित अक्सिडेन्टल स्कुलमा कक्षा ७ मा पढ्ने छोरा शौचालयमा हात धुन साबुन नभएकाले दिसा लाग्ला भनेर टिफिनै नखाई फर्कने गरेको ती आमाले बताइन्। 'दिसा लाग्ला भनेर कतिपटक छोरो टिफिन नै नखाई फर्कने गरेको छ,' तिनले भनिन्। १३ वर्षीय ती छात्रले भने, 'हाम्रो स्कुलको ट्वाइलेटमा साबुन नै हुँदैन, टिफिन खानै मन लाग्दैन।'
मासिक शुल्कबापत हजारौं रुपैयाँ असुल्ने र कक्षामा साबुनपानीले हात धुनुपर्छ भनेर सिकाउने यी स्कुलहरूले शौचालय र बाथरुममा साबुन किन नराखेका होलान्?
'लापरबाही,' एक अभिभावकले भनिन्, 'धेरैजसो स्कुल बालबालिकाको भविष्यभन्दा कमाउनमात्र लागेकाले यस्तो भएको हो।'
दिसापछि साबुनपानीले हात नधुँदा झाडापखाला, हैजा, जन्डिस, आउँ र जुकालगायत रोग लाग्ने बालरोग विशेषज्ञ एवं कान्ति बाल अस्पतालका निर्देशक तीर्थराज बुर्लाकोटीले बताए।
'कक्षामा धेरै बेर दिसा रोक्दा बालबालिकाले पढाइमा ध्यान दिन सक्दैनन्,' बुर्लाकोटीले भने, 'शारीरिक र मानसिक टेन्सन हुन्छ।' दिसा रोक्ने बालबालिकालाई टाउको दुख्ने, पेटसम्बन्धी समस्या, आन्द्रा र नसासम्बन्धी रोगसमेत हुनसक्ने उनले बताए। 'टिफिन नखाने बानीले कुपोषण पनि हुन्छ,' उनले भने।
दसकअघि आफ्नै छोराछोरी सेन्ट जेभियर्स स्कुलमा पढ्दा हात धुन साबुन नभएकाले दिसा लाग्ला भनेर टिफिनै नखाई फर्कने गरेको उल्लेख गर्दै बुर्लाकोटीले अहिले पनि समस्या उस्तै रहेको थाहा पाउँदा छक्क लागेको बताए।
मनोविश्लेषक शर्मिला मल्लका अनुभवमा बालबालिकाले धेरै बेर दिसा रोक्दा दीर्घकालीन र तत्कालीन दुवैखाले असर पर्छ। 'एकाग्रता कमी, चिडचिडे, साथीभाइसँग घुलमिल हुन नसक्ने स्वभाव विकास हुन्छ,' उनले भनिन्, 'छुचोपन, रिसाहा, आत्मनिर्णयमा कमीजस्ता समस्या पनि यसले बढाउँछ।'
शौचालयमा साबुन राख्दा बालबालिकाले जथाभावी चलाएर फालिदिने बताउँछन् बृहस्पति विद्यासदनका प्रिन्सिपल सुमन थिङ लामा। अक्सिडेन्टलका प्रिन्सिपल टेकबहादुर पौडेलले भने, 'हामीले साबुन राख्ने गरेका छौं, कहिलेकाहीँ छुटेको हुनसक्छ।'
मनोविश्लेषक मल्लले बालबालिका चकचके हुने भन्दैमा साबुन नराख्ने भनाइ गैरजिम्मेवारपूर्ण भएको बताइन्। उनले सानो साबुन वा तरल ह्यान्डवास राख्न स्कुललाई सुझाव दिइन्।
क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार ६–१२ वर्ष उमेर समूहका बालबालिकालाई दिसा रोक्दा ९५ प्रतिशत मानसिक र शारीरिक असर हुन्छ भने २–६ वर्ष उमेर समूहलाई ७० प्रतिशत।
निजी स्कुलहरूको संगठन प्याब्सनका अध्यक्ष राजेश खड्काले स्वास्थ्य र सरसफाइलाई सानादेखि ठूलो तहसम्मका शिक्षण संस्थाले प्राथमिकतामा राख्नुपर्ने बताए। 'बालबालिकाको स्वास्थ्य र सरसफाइमा ध्यान नदिने स्कुलका अभिभावक र विद्यार्थीले सञ्चालकहरूसँग यसबारे कुरा गर्नुपर्छ।'
source:-nagriknews










0 commentaires