डा. सूर्य पराजुली (एस.पी.लोचन)
३५ वर्षीया कलावती राजवंशी (नाम परिवर्तन) झापामा धेरै उपचार गरिसकेपछि पनि खुट्टाको माथिल्लो भागमा रहेको हड्डी (Femur) को फ्याक्चर निको हुननसक्दा काठमाडौं जाने सल्लाह पाएर एक मेडिकल कलेजमा जानुभयो । त्यहाँ उहाँलाई हाडजोर्नी विभागमा भर्ना गरियो र उपचार थालियो । त्यहाँ पनि उहाँको रोग निदानतर्फ जान सकेन । मेडिकल कलेजकी एक छात्राले अध्ययनका क्रममा उहाँको केश स्टडी गर्दा पो थाहा भयो, विगत नौ महिनादेखि उहाँको दायाँ स्तनमा गाँठो (Breast Lump) आएको रहेछ । त्यसपछि शल्यचिकित्सा विभागसँग समन्वय गरी उहाँको स्तन जाँच गर्दा उक्त गाँठो साँच्चै दुखाइ रहित रहेछ । नदुखेकै कारण उहाँले स्तनको समस्या बताउनुभएको रहेनछ ।
अन्त्यमा डाक्टरको डाइग्नोसिस यस्तो थियो :
स्तन क्यान्सर र त्यसको कारण Femur कोFracture (CA of breast with pathological fracture of femur)
रोगको पहिचान (Diagnosis) प्रक्रिया :
मुख्यतया ३ प्रकार (Triple Assessment) द्वारा जाँच गरिने गरेको पाइन्छ ।
१) स्तनलाई छामेर जाँच गर्ने :
स्तनमा गिर्खा/गाँठो/डल्लोको पहिचान गर्नका लागि स्तनलाई छामेर जाँच गर्नुपर्छ । स्तनलाई छामेर (Palpation) जाँच्दा गिर्खाको बनौट, आकार, नाप, साह्रो वा नरमपन, दुख्ने वा नदुख्ने, काखीमा गाँठो छ कि छैन भनी जाँचिन्छ ।
डाक्टरलाई देखाउनुअगाडि महिलाहरुले सरल तथा सहजरुपमा घरमै बसी आफ्नो स्तन जाँच गर्न सक्छन् ।
जसलाई स्वयं स्तन परीक्षण (Breast self examination-BSE) भनिन्छ ।
स्वयं स्तन परीक्षण तरिकाहरु :
२० वर्ष उमेर पुगेका महिलाहरुले यो जाँच गर्नैपर्छ । नियमित महिनाबारी हुने महिलामा महिनाबारी रोकिएको ५ औ दिनमा यो जाँच उपयुक्त छ । किनकि महिनाबारीको समयमा स्तन कडा, हल्का सुन्निएको तथा दुख्ने हुँदा परिवर्तन पत्ता लगाउन अलिक कठिन हुन्छ ।
अनियमित महिनाबारी हुने महिलाको हकमा प्रत्येक महिनाको निश्चित दिनमा यो जाँच गर्न सकिन्छ । जस्तै फागुन ७, चैत ७, बैशाख ७ ...
परीक्षण समयः कपडा फेर्दा, नुहाउँदा वा अन्य, ऐनाअगाडि उभिएर वा ओछ्यानमा पल्टेर ।
स्तनलाई छाम्दा हत्केलाको प्रयोग गर्नु जरुरी छ । दाँया हातले बायाँ स्तन र बायाँ हातले दायाँ स्तन जाँच गर्नुपर्दछ ।
स्तनका चारैकुनालगायत दुवै काखीमुनि छाम्नुपर्दछ ।
नोटः कुनै गाँठो या परिवर्तनको शंका लागेमा अस्पताल गएर चिकित्सकलाई देखाउनै पर्छ ।
२. X-ray परीक्षण :
क. म्यामोग्राम–
यो विशेष प्रकारको जाँच हो । ८० प्रतिशत क्यान्सर यस परीक्षणबाट पत्ता लाग्दछ । छातीको नर्मल X-ray भन्दा अलि भिन्न प्रकारको यो X-ray गर्दा स्तनलाई दुईवटा प्लेटको बीचमा एकछिन थिचिन्छ । केही असजिलो भए पनि यसले कुनै खराबी गर्दैन ।
समूहगत Mammogram परीक्षण हाम्रोजस्तो समाजमा आवश्यक हुँदै गइरहेको छ किनकि स्तन क्यान्सरलाई एकदमै सुरुको अवस्थामा पत्ता लगाइ ३५ प्रतिशत मृत्युदरलाई कम घटाउन सकिनेछ ।
प्रत्येक ४० वर्ष पुगेका महिलाले हरेक २ वर्षमा र ५० वर्ष पुगेका महिलाले हरेक वर्ष तथा शङ्का लागेमा म्यामोग्राम गर्नु उपयुक्त देखिन्छ ।
ख) स्तनको अल्ट्रासोनोग्राम (USG of Breast)
३५ वर्षभन्दा कम उमेरका महिलाको लागि यो जाँच उपयुक्त देखिन्छ । पेटको भिडियो एक्स–रे, जस्तै स्तनको जानकारी गराउने यस जाँचलाई Bresat Ultrasonogram भनिन्छ ।
यसबाट गिर्खा पानी भरेको (Cystic) वा ठोस (Solid) भन्ने जानकारी पाइन्छ । जसबाट अरु जाँच तथा उपचार प्रक्रियामा सहयोग पुग्दछ ।
३) कोष/तन्तुको जाँच (Cytology and Biopsy)
अन्य परीक्षणबाट शंका लागेमा स्तन क्यान्सर नै हो भनी किटान गर्न यो जाँच आवश्यक देखिन्छ । तसर्थः यो परीक्षण सबैभन्दा प्रमुख, विश्वसनीय र अन्तिम जाँच हो ।
परीक्षण प्रक्रियाहरु ः
क) FNAC -Fine Needle Aspiration Cytology
यो प्रक्रियामा उक्त गाँठोबाट सिरिञ्जको प्रयोग गरी अलिकति तरल पदार्थ (जसमा कोषहरु हुन्छन्) निकालिन्छ, तत्पश्चात् यसलाई सूक्ष्मदर्शक यन्त्रबाट जाँच गरिन्छ ।
OPD मै यो सरल प्रक्रियाद्वारा गरिने जाँच एउटा उपयुक्त विधि हो ।
ख) Open Biopsy (अप्रेशन गरेर)
यस प्रक्रियामा सानो अप्रेशन गरी पूरै गिर्खा वा केही अंश झिकेर विशेषज्ञ (Pathologist) द्वारा जाँच गरिन्छ ।
स्तन क्यान्सरको उपचार प्रक्रियाहरु :
समयमै परीक्षण गरेर यो रोग पत्ता लगाएमा उपचार प्रक्रिया सहज देखिन्छ । क्यान्सरको अवस्था (Stage) अनुसार विभिन्न प्रकारका उपचार पद्धति हुन्छन् ।
१) स्तनको जाँचहरु (माथि भनिए झै)
२) क्यान्सरको अरु अङ्गमा फैलावट (Metastasis)
क) रगतका विभिन्न परीक्षणहरु
ख) छातीको एक्स–रे
ग) पेटको भिडियो एक्स–रे
घ) सिटी स्क्यान
ङ) बोन स्क्यान
उपचार पद्धतिहरु :
१) क्यान्सर भएको ठाउँको मात्रै उपचार (Local Treatment)
२) सम्पूर्ण उपचार (Systemic Treatment)
Local Treatment:
१) शल्यक्रिया :
स्तनलाई मात्र काटेर फालिने शल्यक्रिया (Simple Mastectomy)
स्तन र त्यसैपट्टिको काखीको ग्रन्थि (Axillary Lymph node) झिकेर फालिने शल्यक्रिया (Modified Radical Mastectomy)
स्तन, काखीको ग्रन्थी र स्तनमुनिका दुईवटा मांसपेशी (Petoralis major/Pectoralis minor)सबैलाई झिकेर फालिने शल्यक्रिया (Radical mastectomy)
नयाँ पद्धति :
स्तनलाई नफाली डल्लो मात्रै झिक्ने र त्यतैपट्टिका काखीको ग्रन्थीहरु झिक्ने शल्यक्रिया
(Breast Conservation Surgery-BCS)
नोटः स्तन फाल्नुपर्ने शल्यक्रियापश्चात् पुनः कृत्रिम स्तन बनाउन सकिनेछ ।
माथिका विभिन्न शल्यक्रियाहरु चिकित्सकले रोगको प्रकृति हेरी निर्णय लिनुहुन्छ ।
२) रेडियो थेरापी (Radio Therapy) :
विकिरण ९ह्(चबथ० ले क्यान्सर सेल्सलाई सेकेर नष्ट गर्ने पद्धति हो । यसका पनि विभिन्न प्रक्रिया छन् ।
Systemic Treatment
१) किमोथोरापी (Chemotherapy) :
विभिन्न प्रकारका Anticancer/cytotoxic drugs प्रयोग गरी गरिने उपचार पद्धति हो । उपचारपश्चात् सामान्य कोषहरु पुनः पहिलेकै स्वस्थ अवस्थामा आइपुग्दछन् तथापि क्यान्सर कोषहरु नष्ट हुँदै जान्छन् ।
२) हर्मोन थेरापी (Hormon Therapy) :
यो उपचार पद्धति विशिष्ठ प्रकारको हो, जहाँ हर्मोनयुक्त औषघि खाने वा हर्मोन उत्पादन गर्ने अङ्गलाई operation गरी झिकिन्छ । जसका कारण क्यान्सर कोषहरु बढ्नलाई चाहिने हर्मोनबाट बञ्चित रहन्छन् ।
Follow up :
अरु रोग/क्यान्सरजस्तै नियमित जाँच आवश्यक छ किनकि
क) स्तनमै रोग बल्झेको छ वा छैन,
ख) शरीरको अन्य भागमा रोग फैलिएको छ कि छैन,
गरिने परीक्षणहरु ः
१) सम्पूर्ण शरीरको विशेषज्ञद्वारा जाँच,
२) अप्रेशन क्षेत्र, अर्को स्तन, काखी र घाँटीको जाँच,
३) छातीको एक्स–रे,
४) पाठेघर तथा मलद्वारको जाँच,
५) अर्को स्तनको म्यामोग्राम,
६) वोन अथावा सिटी स्क्यान ।
सारांश ः
१) स्वयम् स्तन परीक्षण विधि आजैबाट सुरु गरौं ।
२) चिकित्सकको परामर्श लिन लाज नमानौं ।
३) रोग लागेमा उपयुक्त ठाउँमा गई तुरुन्त उपचार गराऊँ ।
४) रोगलाई घृणा गरौं, रोगीलाई माया गरौं ।
परिवार, समाजको माया, सद्भाव आवश्यक छ, बिरामीलाई छिःछि र दुर्दुर नगरी उसको आत्मबल बढाउन तपाई–हामी सबै मिली एकसाथ लाग्नु जरुरी छ ।
source:-blast









0 commentaires