पर्वत, फाल्गुन ६ - गुम्ली (गौरा)पश्चिम नेपालको विकट गाउँमा भेटिइन् । ४८ वर्षीया गुम्लीसँग एक हूल कोरियाली साहित्यकार थिए । उनीहरू पर्वतको डिमुवाबजारसम्म बसमा आएर सात किलोमिटर पैदलयात्रा छिचोल्दै चित्रे पुगेका थिए ।
'यो हाम्रो पहिलो गाउँ यात्रा हो,' तीन दर्जन कृति प्रकाशन गरिसकेकी गुम्लीले रमाउँदै भनिन्, 'नेपालका गाउँ साँच्चै राम्रा रहेछन् ।'
१६ कोरियालीको टोली स्थानीय कलासंस्कृतिमा रमाएका थिए । मंगलबार साँझ चित्रे आएका उनीहरू बुधबार दिनभर झरी परिरहे पनि गाँउबस्तीका समस्या र दृश्य नियाल्न व्यस्त रहे । उनीहरूले पञ्चकोसी, लक्ष्मी प्रावि र जनसिद्ध माविका विद्यार्थीहरूसँग नाचगान गरे, घरी नेपाली गीतमा घरी कोरियालीमा । 'प्राकृतिक सुन्दरतामा नेपाल अगाडि रहेछ,' अर्का साहित्यकार किम्लेले भने ।
कास्कीको धम्पुस यात्रामा निस्किएका उनीहरूले स्थानीय राम गुरुङको आग्रहमा रुट परिवर्तन गरेका
रहेछन् । 'कोरियामा सुनेभन्दा निकै राम्रो रहेछ,' कोरियाली बालसाहित्यकार समाजका उपाध्यक्ष शिखरले भने । आकाश सफा रहेको दिन चित्रेबाट माछापुच्छ्र्रे हिमाल प्रस्ट देखिने गरे पनि बुधबारको वषर्ाले उनीहरूलाई निराश बनाएको थियो ।
कोरियाली साहित्यकारको टोलीको अगुवाइ गरेका थिए कवि कृष्णप्रसाद प्रसाइर्ंले । जरा फाउन्डेसनका अध्यक्ष ५० वषर्ीय प्रसाईंले अधिकांश कोरियाली साहित्यकारको यो पहिलो गाउँ भ्रमण रहेको खुलाए । 'उहाँहरू यसरी गाउँमा रमाउनुहोला भनेर सोचेको थिइनँ,' उनले भने, 'तर सोचेभन्दा धेरै राम्रो यात्रा भयो ।'
होमस्टे सुरु गरेको एक वर्षपछि विदेशी पाहुनालाई राख्न पाउँदा स्थानीय सुशीलादेवी गुरुङ पनि मक्ख थिइन् । 'विदेशी पर्यटक आउलान् र होमस्टेमा राखौंला भनेको लामो भयो,' उनले भनिन्, 'ढिलै भए पनि राम्रो मान्छेलाई राखेर होमस्टेको उद्घाटन गर्ने मौका पायौं ।'
काठमाडौं फर्किएपछि टोली सिन्धुपाल्चोकको मानेश्वारा गाविसस्थित महाकाली निमावि र सीताराम प्राविका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री सहयोग गर्न त्यहाँ पुग्नेछ । बार्हबिसेमाथिको विकट गाउँमा उनीहरूले होमस्टे बसेर तामाङ संस्कृतिलाई प्रत्यक्ष अध्ययन गर्नेछन् । सिन्धुपाल्चोकमै कोरियाली बालसाहित्यकार किम्लेको नेपालीमा अनुदित कृति 'कीराले खाएको रूख', यु जंग ईको 'काले रुँदैन' र पाँच साहित्यकारको संयुक्त लेखन 'कोरियाली बालकथाहरू' लोकापर्ण हुने प्रसाईंले जानकारी दिए । ती सबै कृति मोहन कार्कीले अनुवाद गरेका हुन् । कोरियाली टोली बिहीबार बिहान पोखरातर्फ लागेको छ ।
source:-ekantipur










0 commentaires