काठमाडौ, फाल्गुन ६ - विदेशमा अध्ययनरत नेपाली युवाहरू पढ्नमा मात्रै केन्दि्रत छैनन् । त्यसो हुँदो हो त ब्रायन ज्यानसेन, लरेन हि्वट र सेन हलेनग्रेन काठमाडौंमा भेटिँदैनथे । उनीहरूलाई सहपाठी विकास पाण्डेले यता ल्याएका हुन् । चारैजना अमेरिकाको बिनाभिस्टा युनिभर्सिटी इवानमा स्नातक तहका विद्यार्थी हुन् ।
'नेपाल भ्रमण वर्षको अवसरलाई उपयोग गरौं भनेर,' विकासले कान्तिपुरसँग भने, 'उनीहरू पनि नेपाल आउन उत्साहित
थिए ।' उनले एक साताको अवधिमा अमेरिकी सहपाठीहरूलाई राजधानी र आसपासका अधिकांश धार्मिक, सांस्कृतिक, पर्यटकीय थलो घुमाए । सौराह, लुम्बिनी, पोखरा पनि पुर्याए ।
'युनिभर्सिटीमा नेपालबारे विकासले चर्चा गरेकाले भ्रमण गर्न आयौं,' ब्रायनले भने, 'नेपालको नाम मात्र सुनेका थियौं, घुम्न पाउँदा रमाइलो लाग्यो, नेपाल राम्रो
लाग्यो ।'
विकासका अनुसार बिनाभिस्टा युनिभर्सिटीमा सहपाठीहरूले आपसमा आ-आपmना देशबारे जानकारी दिने प्रचलन छ । विकासले त्यस्तै गर्ने गरेका थिए । त्यसमाथि विकास नै युनिभर्सिटीको सिनेटको उपाध्यक्ष चुनिएपछि अन्य विद्यार्थी सगरमाथा र बुद्धको देश घुम्न प्रेरित भएको ब्रायनले सुनाए ।
'सिनेटमा चुनिएपछि नेपालबारे मेरो पि्रजेन्टेसन थियो,' विकासले भने, 'त्यो सुनेपछि साथीहरू नेपाल आउन लालायित भए र लिएर आएँ ।'
विकासका अनुसार इवानमा प्रायः विदेशी विद्यार्थीले युनिभर्सिटी र कलेजमा एउटा विषय मात्र मेजर राख्छन् । त्यसो गर्दा १ सय २८ घन्टा क्रेडिट आवर पूरा गर्नुपर्छ । र, चार वर्षमा स्नातक सक्न हम्मे पर्छ । तर, त्यही युनिभर्सिटीमा एक नेपाली छात्र तीनवटा मेजर विषय लिएर साढे चार वर्षमा सबै कोर्स पूरा गर्दै छन् । ती विद्यार्थी विकास नै हुन् ।
'नौवटा सेमेस्टरमा तीनवटा मेजर विषय भ्याउँदै छु,' यी २३ वर्षेले भने, 'मलाई कलेजले धेरै स्कलरसिप दिएको छ । मेरो युनिभर्सिटीमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये एकजनाले पूर्ण छात्रवृत्ति
पाउँछ । त्यो मैले पाएको छु ।'
त्यहाँ कुनै पनि विद्यार्थीले एक सातामा सामान्यतः १५ घन्टा पढ्नुपर्छ, विकास भने १९ घन्टा पढ्दा रहेछन् । अतिरिक्त वर्क पर्मिटको समयमा उनी साताको १० घन्टा इन्टरनेसनल स्टुडेन्ट डाइरेक्टर र प्रोफेसरलाई पढाउने गर्दा रहेछन् ।
'खानाको आधा प्रतिशत र वर्षमा तीन हजार डलर मात्र युनिभर्सिटीलाई तिर्छु,' युनिभर्सिटीमा इन्टरनेसनल स्टुडेन्ट अफ द इयर अवार्ड प्राप्त गरेका विकासले भने ।
विकास 'ए'लेभल सकेर चार वर्षअघि अमेरिका गएका थिए । उनलाई अर्थशास्त्र पढ्न मन थियो । प्राध्यापकहरूको सल्लाहअनुसार उनी अकाउन्टिङ, फाइनान्स एन्ड बैंकिङ र इकोनोमिक्स मेजर विषयमा स्नातक गर्दै रहेछन् । उनी अन्तिम सेमेस्टर सिध्याउनुअघि छुट्टी मनाउन स्वदेश फिरेका हुन् ।
'मलाई युनिभर्सिटीले जागिरका निम्ति छनोट गरिसक्यो,' उनले सुनाए, 'अब एक वर्षभित्र सीपीए कोर्स र दुईवर्षे मास्टर्स सकेर स्वदेश फिर्ने लक्ष्य राखेको छु । सकेसम्म मैले काम गर्ने अर्नेस्ट एन्ड योङ कम्पनीलाई लिएर आउनेछु ।'
विकासको अनुभवमा, उच्च शिक्षाका लागि विदेश गएका विद्यार्थीहरूले त्यहाँ दुःख पाउनुको मूल कारण सम्बन्धित विश्वविद्यालय वा कलेजहरूबारे नेपालमा बुभmन नखोज्नु हो ।
उनका अनुसार युनिभर्सिटी पढ्दा कार्यभार बढी हुन्छ र केही सिकिन्छ । कार्यभारको डरले सामुदायिक कलेज रोज्दा कोचिङ क्लासमा जसरी साँघुरो ठाउँमा पढ्नुपर्छ । 'पढेर क्षमता प्रदर्शन गर्नुछ भने कलेजभन्दा युनिभर्सिटी नै रोज्नु उपयुक्त हुन्छ,' उनको बुझाइ छ, 'त्यसो गर्दा अवसर पनि काफी पाइन्छ । सँगसँगै स्वदेशप्रति विदेशीको मन तान्न पनि सकिन्छ ।
source:-ekantipur










0 commentaires