काठमाडौ, फाल्गुन २ - 'ब्रायन एडम्स लाइभ फुल ब्यान्ड विश्व यात्रा' को काठमाडौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक ओडिसी नेटवर्क र इभेन्ट म्यानेजर जेपीआर कम्पनीले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार ब्रायन शनिबार बिहान ढाकाबाट निजी जेट विमानमा आउनेछन् । ब्यान्ड सदस्यसहित ४० जनाको टोलीका साथ आउन लागेका ५१ वर्षे क्यानाडेली रक स्टारले त्यही साँझ रंगशालामा 'हस्की' स्वरमा गाउने छन् 'समर अफ सिक्स्टी नाइन्...' जस्ता चार्टटपर गीतहरू ।
तीन दशकदेखि गायनमा सक्रिय ब्रायन फोटोग्राफीमा पनि निकै रुचि राख्छन् । उनलाई कन्सर्टको भोलिपल्ट माउन्टेन फ्लाइटमा लैजाने आयोजकको योजना छ ।
ओडिसीका प्रमुख कार्यकारी सुरेशजंग रायमाझीका अनुसार कन्सर्टमा प्रहरी र निजीसहित दुई हजार सुरक्षाकर्मी रंगशालामा परिचालित हुनेछन् । आठ फिट अग्लो अन्तर्राष्ट्रियस्तरको स्टेज, साउन्ड र लाइट सिस्टमको जिम्मा भारतीय इभेन्ट कम्पनीले पाएको छ । सामानसहित ११ ट्रक यसै साताको मध्यसम्म काठमाडौं आइसक्नेछन् ।
दुई हजारको टिकटमा रंगशालाको प्याराफिटमा बस्ने श्रोताहरूले ब्रायनलाई २०/२० इन्च ठूला मोनिटरमा पनि हेर्न सक्नेछन् । ओडिसीका निर्देशक सीमान्त गुरुङका अनुसार रेडियो/टिभीबाट कार्यक्रम लाइभ हुनेछैन । फोटो/भिडियो खिच्न पाइनेछैन । मिडियालाई आयोजकले नै फोटो/भिडियो उपलब्ध गराउनेछ ।
कन्सर्टका दिन रंगशाला पस्न १३ ढोका खोलिनेछन् । मद्यपान गरेका श्रोताहरू बाहिरै रोकिनेछन् ।
'यो महत्त्वपूर्ण महोत्सव हो,' रायमाझीले भने, 'हामी चाहन्छौं, दर्शकले भरपुर मनोरञ्जन लिऊन् ।' अर्को आयोजक जेपीआरका स्याङदेन शेर्पाका अनुसार दिउँसो २ बजे सुरु हुने कन्सर्टमा ६४ वटा सीसीटिभी क्यामरा हुनेछन् । क्यामरामा देखिने गतिविधि सुरक्षाकर्मीले तीन स्थानबाट नियाल्ने छन् । शंकास्पद क्रियाकलाप गर्ने श्रोतालाई प्रहरीले नियन्त्रणमा लिनेछ । २५ हजारजति श्रोताको अपेक्षा गरेको आयोजकले दमकल, एम्बुलेन्ससहित चिकित्सक टोली पनि रंगशालामा तैनाथ पार्ने बताएको छ ।
ब्रायनले गाउनुअघि १९७४ एडी, नमस्ते ब्यान्ड, मंगोलियन हार्ट, रवीन एन्ड न्यु रिभोलुसनले गीत प्रस्तुत गर्नेछन् । तीन वषर्ीया गायिका अतिथि केसीले राष्ट्रगान सुनाउनेछिन् । ब्रायनको काठमाडौं यात्रा सम्पन्न भए 'अन्तर्राष्ट्रियस्तरका ठूला गायकका लागि भविष्यमा बाटो खुला हुने' आयोजकले बताएको छ ।
कन्सर्टका लागि ६ हजार, ३ हजार र २ हजार रुपैयाँका टिकट मनकामना बैंकका शाखा, भाटभटेनी सुपरमार्केट, नाङ्लो बेकरी, सिटी सेन्टर र ठमेलको न्यु अर्लिन्समार्फत बिक्री भइरहेका छन् ।
source:-ekantipur









0 commentaires