मोरङ, १० फागुन धर्मको नाममा अपांगहरूको सम्मानमा चोट पुर्याउनेगरी चंगाई महोत्सवको पर्चामा लेखिएका नारालाई सच्याउन अपांगहरूले माग गरेका छन् । विराटनगरको सहिद रंगशालामा ११ फागुनदेखि १५ गतेसम्म हुने चंगाई महोत्सवका लागि बनाइएको प्रचार सामग्रीले अपांगलाई अपमान गरेको राष्ट्रिय अपांग महासंघ पूर्वाञ्चल क्षेत्रीय समितिको ठहर छ ।
चंगाई महोत्सवको पर्चामा अपांगलाई अन्धा, लंगडाजस्ता शब्द प्रयोग गरिएको छ । अपांग महासंघका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै २४ घन्टाभित्र पर्चामा लेखिएका नारा परिवर्तन गरेर क्षमा-यचाना नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । यसअघि विराटनगरको जनआन्दोलन चोकमा सोमबारै महासंघले पत्रकार सम्मेलन गरी सार्वजनिकस्थलमा ब्यानर, पोस्टर टाँस्ने र पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेर अपांगलाई होच्याउने काम भएको जनाएको छ ।
चंगाई महोत्सव प्रचारका लागि तयार गरिएको सामग्रीमा अन्धा देख्न थाल्छन् लंगडो कुद्न थाल्छ भन्नेजस्ता शब्द प्रयोग गरिएका छन् । महासंघले चंगाई महोत्सवका लागि प्रयोग भएका सम्पूर्ण प्रचार-प्रसार सामग्री तत्काल हटाई भ्रामक प्रचार गर्ने संस्थालाई कडा कारबाही गर्न माग गर्दै मोरङका प्रमुख जिल्ला आधिकारी सुरेश अधिकारीको ध्यानाकर्षण गराएको हो ।
source:-nayapatrika










0 commentaires