झापा, ११ फागुन धार्मिक कार्यक्रम र धार्मिक संस्थाको नाममा दक्षिणी इलामका सामुदायिक वनबाट रातारात काठ तस्करी भइरहेको खुलासा भएको छ । पुराणको नाम भजाएर झापातर्फ ल्याइँदै गरेको सखुवाको काठ बरामद भएपछि तस्करीका लागि अपनाइएको नयाँ रणनीति सार्वजनिक भएको हो ।
झापाको धुलाबारीमा सञ्चालन भइरहेको पुराण व्यवस्थापनका लागि भन्दै तस्करहरूले लाखौँ मूल्यबराबरको सखुवाको गोलिया झापा ल्याउने क्रममा सर्वसाधारणले बरामद गरेका छन् । सोमबार राति झापाको खुदुनाबारीस्थित झेलेनीका स्थानीयवासीले दक्षिणी इलामको लक्ष्मीपुरबाट ल्याइएको दुई ट्रयाक्टर सखुवाको गोलिया काठ नियन्त्रणमा लिएको युवा संघ नेपाल खुदुनाबारीका अध्यक्ष गजेन्द्र दाहालले बताए ।
ट्रयाक्टरमा एक सय ५० क्युबिकफिट परिमाणको २९ थान सखुवाको गोलिया र केही दाउरा रहेका छन् । सो काठ दक्षिणी इलामको लक्ष्मीपुरमा रहेको कोप्चे सामुदायिक वन उपभोक्ता समितिबाट झापातर्फ ल्याइएको थियो । लक्ष्मीपुरबाट दाहालटार सामुदायिक वन उपभोक्ता समिति र मैनाली केरियरको ट्रयाक्टरबाट गोलिया ल्याइएको खुलेको छ ।
गोलिया ल्याउँदै गरेको गोप्य सूचना पाएपछि पिछा गर्दै जाँदा दुईवटा ट्रयाक्टरले आधा बाटोमै गोलिया छाडेर भागेका थिए । तस्करहरूले शान्ति सामुदायिक वनका उपाध्यक्ष टंक लामिछानेको घरपछाडि र नजिकैको बाँसघारीमा जथाभावी गोलिया झारेर भागेका थिए । स्थानीयवासीले घटनामा खुदुनाबारी-४ का टीका उप्रेती, खुदुनाबारी ३ का कृष्णबहादुर श्रेष्ठ र लक्ष्मीपुर-५ इलामका देवी नेपालको संलग्नता भएको बताएका छन् ।
सरकारले नौ महिनाअघि काठ कटानसँगै ओसारपसारमा प्रतिबन्ध लगाए पनि कोप्चे सामुदायिक वनका अध्यक्ष बोधराज राईले सबै कानुनी प्रक्रिया पुर्याएर गोलिया निकासी भएको दाबी गरे । गोलिया बरामद भएपछि मंगलबार अपराह्न भएको सर्वपक्षीय छलफलबाट हाँसपोखरी रेन्जपोस्ट इलामका रेन्जर भुवनलाल मण्डलको रोहवरमा स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा गोलिया बुझाइएको छ ।
source:-nayapatrika










0 commentaires