काठमाडौं, फाल्गुन १० - जथाभावी तेर्स्याइएका गाडी, बाटो ओगटेर राखिएका क्युरियो पसल, वरिपरि फोहोर र दुर्गन्ध । प्रयोगविहीन फोहोर फाल्ने भाँडाहरू, जताततै हुल्याहाहरू । पर्यटक र भक्तजनले पशुपति प्रवेशका लागि प्रयोग गर्ने सबैभन्दा छोटो मार्ग तिलगंगामा दैनिक यस्तै भद्रगोल देखिन्छ । उक्त मार्गबाट अलि अगाडि सवारी निषेधको बोर्ड छ, पछिल्तिर भने लहरै मोटरसाइकल र गाडी पार्किङ गरिएको हुन्छ ।
पशुपति क्षेत्र विकास कोषले यसबारे चासो नदिंदा भक्तजनलाई समस्या परेको छ । 'महाशिवरात्रि, तीज र सतबीज छर्ने बेलामा मात्र नभएर संसारभरिका नागरिक पुग्ने यो स्थल हरेक दिन व्यवस्थित र सफा हुनुपर्छ,' पशुपति दर्शन गर्न आएकी सुकेधाराकी नीरा शर्माले भनिन् ।
पशुपति प्रवेश गर्ने गौशालाको मुख्य गेट र जयबागेश्वरी मार्ग वरिपरि यस्तै फोहोर फालिएको हुन्छ । 'वरिपरि भद्रगोल हेर्दा धार्मिक आस्थाको ठूलो केन्द्रमा आएको आभास हुन्न,' नियमित दर्शनका लागि मैतीदेवीबाट पशुपति पुग्ने वृद्ध सुखलाल श्रेष्ठले भने ।
बाह्य क्षेत्र मात्र नभएर मन्दिरको दक्षिण गेटमा पानीको बोतल, बचेखुचेका फास्टफुडका पोका र गुट्खा फालिएको हुन्छ । वरिपरि राखिएको हरियो रंगको फोहोर फाल्ने भाँडाभन्दा परिसरमै बढी फोहोर भेटिन्छ । कोषका सुरक्षा कर्मचारी यसबारे बेवास्ता गर्ने गरेका छन् । कोषका ७५ जना सफाइ कर्मचारी र झन्डै ६५ निजी सुरक्षाकर्मी यस क्षेत्रमा तैनाथ छन् । 'नपढेका कोही छैनन्, फोहोर फाल्ने ठाउँ लेखेकै छ, सबैलाई बाटोमै फाल्दा रमाइलो हुँदोरहेछ,' एक निजी सुरक्षाकर्मीले भने ।
पशुपति दर्शनका लागि जाने मन्दिरको पश्चिम गेटमै सबैभन्दा बढी फोहोर फाल्ने गरिएको छ । मन्दिर क्षेत्रमा पोलिथिनको झोला र बिस्कुटका खोल छरिएका हुन्छन् । भक्तजनले फालेका त्यस्ता सामग्री सफाइ कर्मचारीले व्यवस्थापन गर्ने गरेका छैनन् । सोमबार अपराह्न पानी परपछि फोहोरले वरिपरि चिप्लो भएकाले भक्तजनलाई हिंड्नसमेत समस्या परेको थियो । 'मुलुकको पहिचान र विश्वभरिका हिन्दुको आस्थाको केन्द्र यो थलो त जतिबेला पनि सुन्दर र सफा हुनुपर्छ,' जयबागेश्वरीका केशव खरेलले भने ।
कोषका सदस्य सचिव सुशील नाहाटाले दर्शनार्थी र आगन्तुकको गुनासोअनुरूप सुधारको हरसम्भव प्रयास गरिरहेको बताए ।
source:- ekantipur









0 commentaires