चक्रे मिलनविरुद्ध उजुरी गर्दा आक्रमण


काठमाडौ, फाल्गुन १२ - दुई करोड जबर्जस्ती असुल्न खोजेकोबारे प्रहरीमा उजुरी गरेको भन्दै चक्रे मिलन समूहले बुधबार खुकुरी प्रहार गरी निर्माण व्यवसायी सञ्जीव ओलीलाई सख्त घाइते बनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी र पीडितका अनुसार माग गरेको रकम दिनुको साटो प्रहरीकहाँ उजुरी गरेको भन्दै जेलभित्रै रहेका चक्रे भन्ने मिलन गुरुङको निर्देशनमा उनका सहयोगीहरूले बुद्धनगर निवासी ओलीलाई बुधबार बिहान ७ बजे नयाँबानेश्वर चोकमा खुकुरी प्रहार गरेका हुन् । 
ओलीले रकम मागेकोबारे प्रहरीलाई विस्तारमा बताउँदै फिल्डमा काम गरिरहेको डोजर र त्यसका सहचालकलाई जिउँदै जलाउने प्रयास चक्रे मिलनकै निर्देशनमा भएको किटानी जाहेरी दिएका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ओलीको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहारबाट घाइते ओलीको कुमको हड्डी जोड्न अपरेसन गरिएको छ । यसअघि सुन्धारास्थित भद्रगोल जेलमा चार पटकसम्म भएको कुराकानी नमिलेपछि गुरुङको गिरोहले धापासीमा बन्न लागेको आवास गृहको काममा खटेको डोजरमा आगजनी गरेको थियो ।
त्यसक्रममा चालक कक्षमा सुतेका सहचालक यादव सिलवाल जलेर गम्भीर घाइते भएका थिए । उनको अवस्था गम्भीर छ । घटनामा प्रहरीले अभियुक्त खोजी गरिरहँदा सोही समूहबाट खुकुरी प्रहार भएको हो ।
लागूऔषध र हातहतियार खरखजनाको अभियोगमा पक्राउ परेका गुरुङले मिलेमतोमा जेलभित्रबाटै आपराधिक योजना बनाएको सार्वजनिक भएपछि बुधबार प्रहरी मुख्यालयमा खैलाबैला मच्चिएको छ । गुरुङले कुन-कुन अधिकृतको सहयोगमा यस्तो कार्य गरिरहेका छन् भन्नेबारे अनुसन्धान गर्न महानगरीय आयुक्तको कार्यालय, प्रहरी मुख्यालय र महान्यायाधिवक्ताको कार्यालयमा पटक-पटक बैठक बसेको थियो ।
बैठकमा सहभागी एक अधिकृतका अनुसार केही अधिकृतले महानिरीक्षक रमेश चन्द ठकुरीलाई प्रहरीप्रति विश्वासै नरहने गरी घटना हुँदा पनि मुख्यालयले केही नसोच्ने हो भने आफूहरूले राजीनामा दिने चेतावनीसमेत दिएका थिए । डोजरको आगजनी, सहचालकको हत्या प्रयास र निर्माण व्यवसायी ओलीलाई खुकुरी हान्नेमध्ये कसैलाई पनि बुधबार साँझसम्म प्रहरीले पक्राउ गरेको छैन ।
'यो घटनाले हामी स्तब्ध भएका छौं,' महानिरीक्षक ठकुरीले भने, 'संगठित अपराध गर्ने गुरुङलगायत समूहको सञ्जाल तोड्न निर्देशन दिएको छु, परिणाम चाँडै
आउनेछ  ।' स्रोतका अनुसार यो घटनापछि स्थानीयस्तरमा महिनावारी बुझेर संगठित अपराधीलाई गोप्य रूपमा सहयोग गर्नेको पहिचान गरी तत्काल हटाउने निर्णय भएको छ । कारागार व्यवस्थापन प्रहरी एक्लैले पाउनुपर्ने वा त्यसबाट प्रहरीलाई मुक्त गर्नुपर्ने माग पनि आयुक्त कार्यालयले गृह मन्त्रालयसमक्ष गरेको छ । हाल कारागार व्यवस्थापन निजामती कर्मचारीले र त्यसको सुरक्षा प्रहरीबाट हुँदै आएको छ ।
'घटनामा संलग्न हुनेहरूको पहिचान भइसकेको छ, अभियुक्तहरू चाँडै पक्राउ पर्छन्,' महानगरीय प्रहरी आयुक्तको कार्यालयका डीआईजी सुरेन्द्रबहादुर शाहले भने, 'यो घटनाले प्रहरी परिचालनमा ठूलो परिवर्तन ल्याउने भएको छ, त्यसको परिणाम यसै साता देखिन्छ ।' 
विभिन्न स्थानमा भएको सरोकारवालाको बैठकले सुरक्षाकर्मी र कारागारका अधिकृतको अनुमतिमा बुधबार बिहानसम्म निर्बाध फोन सुविधा पाइरहेका गुरुङलाई अपराह्नदेखि टेलिफोन र भेटघाटको सुविधा नदिने निर्णय गरेको छ । महानगरीय आयुक्तको कार्यालयले यसअघि नै गुरुङसहित करिब १५ जनालाई तत्काल दुर्गम क्षेत्रका जेलमा स्थानान्तरण गर्न माग राख्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो । तर त्यो निर्णय महिना दिन बित्दा पनि कार्यान्वयन नभएबाट जेलका अपराधीको सञ्जाल कहाँसम्म छ भन्ने पुष्टि भएको एक उच्च प्रहरी अधिकृतले बताए ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login