डाक्टरले तपाईंका कुरा सुन्छन्?


दीपक दाहाल, काठमाडौँ, फागुन १०- बिरामी भएर अस्पताल जाँदा चिकित्सकले तपाईंका कुरा कति सुन्छन्? आफ्नो कुरा राख्ने मौका पाउनुहुन्छ?

अध्ययनहरूले देखाएका छन्, धेरै बिरामी जाँच्नुपर्ने हतार वा बिरामीलाई सम्मान नगर्ने प्रवृत्तिले; चिकित्सकहरू बिरामीका कुरा कम सुन्छन्। 'यो सञ्चार सीप नहुनुको परिणाम हो,' त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकै एक अध्ययनले देखाएको छ।
चिकित्सकमा सञ्चार सीपको आवश्यकता बोध गरेर संस्थानकै नेसनल सेन्टर फर हेल्थ प्रोफेसनल्स एजुकेसनले एमबिबिएसका विद्यार्थीका लागि योसम्बन्धी पाठ्यक्रम बनाएको छ जुन महाराजगन्ज शिक्षण अस्पतालमा पढाउनै सुरु गरिएको छ। दक्षिण एसियाभरिका चिकित्साशास्त्र शिक्षण संस्थामा लागू हुने भनिएको यो पाठ्यक्रमलाई नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ।


 पाठ्यक्रममा बिरामीका पीडा सुन्ने बानी, सहानुभूति देखाउने र समस्या लेख्ने कला, साथी बनाएर उपचार गर्ने सीप, नराम्रा समाचार कसरी सुनाउने र सम्भावित घटनाबारे कसरी मानसिक रूपमा तयार पार्ने भन्नेजस्ता विषय समेटिएका छन्।
'विभिन्न वर्ग, समुदाय, भाषा र परिवेशबाट आएका बिरामीसँग कसरी व्यवहार गर्ने भन्ने कुराले उपचारमा धेरै फरक पार्छ,' सेन्टरका कार्यकारी निर्देशक डा.जगदीशप्रसाद अग्रवालले भने। उनले नेपालभरिका अन्य मेडिकल कलेजहरूमा पनि यो पाठ्यक्रम चाँडै लागू हुने जानकारी दिए।

उनका अनुसार यस विषयमा संसारभर भएका थुप्रै अध्ययनले चिकित्सकसँगको सञ्चारबाट अधिकांश बिरामी सन्तुष्ट नभएको, ५० प्रतिशत चिकित्सक बिरामीको तनावको कारणसम्म पुग्न नसकेको देखाएका छन्। 'सञ्चार सीपको तालिम लिएका र नलिएका डाक्टरबाट उपचार पाएका बिरामीलाई छुट्टाछुट्टै समूहमा राखेर अध्ययन गर्दा बिरामीको सन्तुष्टिमात्रै होइन, उपचार परिणाम नै फरक देखिएका छन्,' उनले भने। वरिष्ठ र नाम चलेका चिकित्सक भनेपछि बिरामी झनै डराउने र उनीहरूले पनि बिरामीलाई धेरै समय दिन नसक्दा उपचार प्रभावकारी नहुने अग्रवालले बताए। सेन्टरले २० भन्दा बढी सञ्चार सीप सिकाउने जनशक्ति नै तयार गरिसकेको जानकारी गराएको छ।

वरिष्ठ मनोविज्ञ मुरारीप्रसाद रेग्मीका अनुसार बिरामीको तनावको जडसम्म पुग्न नसक्दा चिकित्सकले गर्ने उपचार प्रभावकारी हुँदैन। 'ग्लानि, दुःख, तनाव लिएर आएको बिरामीले तत्काल मानसिक सन्तुष्टि खोज्छ,' उनले भने, 'सञ्चार सीप भएका डाक्टर नम्र र भद्र हुने भएकाले ऊप्रति बिरामीको विश्वास बढ्छ।'

रेग्मीका अनुसार बिरामीलाई सीप र कलाले 'होल्ड' गर्न नसक्ने चिकित्सक रिसले 'मेकअप' गर्न खोज्छ। 'बिरामी रिझाउन सक्ने डाक्टरप्रति सम्मान पनि बढ्छ,' उनले भने।

मानसिक रूपमा चिकित्सकले आशावादी बनाउन सके बिरामीमा उपचारप्रति विश्वास, भनेको मान्ने प्रवृत्ति र उपचार सफलताको दर पनि बढ्ने चिकित्सकहरूले समेत स्वीकार गरे।

मेडिकल काउन्सिलका अध्यक्ष डा.सोमनाथ अर्यालले सञ्चार सीप चिकित्सकलाई सिकाउन नसकेको भन्दै दक्षिण एसियाभरिकै कलेजका लागि पाठ्यक्रम तयार गरेको बताए। 'हामीले पाठ्यक्रम पास गरेर पठाइसकेका छौं, अब विश्वविद्यालयहरूले पढाइ थाल्नुपर्छ,' उनले भने, 'यो सीपले उपचार गुणस्तरीय बनाउँछ भने बिरामी पनि सन्तुष्ट हुन्छ।'

केही दिनअघि भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको कार्यशालामा डा.अग्रवालले दक्षीण एसिया क्षेत्रमै यस्तो विषय अध्ययनका लागि भएका पहलबारे जानकारी गराएका थिए जहाँ काउन्सिल अध्यक्ष डा.अर्यालसमेत सहभागी थिए। केही साताअघि इन्डोनेसियामा भएको नेटवर्क अफ मेडिकल काउन्सिल अफ डब्लुएचओ साउथ इस्ट एसिया बैठकमा नेपालले सुरू गर्न लागेको पाठ्यक्रम लागू गर्न थुप्रै दक्षिण एसियाली देश सहमत भएको अग्रवालले जानकारी गराए। माल्दिभ्स र बंगलादेशका मेडिकल काउन्सिलले नेपालको सेन्टरलाई प्रशिक्षक उत्पादनका लागि सहयोग गर्नसमेत आग्रह गरेका छन्।

नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा.किरणप्रसाद श्रेष्ठले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना हुनुमा सञ्चार सीप अभाव प्रमुख कारण भएको बताए। उनले बिरामी उपचारमा लाग्ने खर्च, आउनसक्ने जोखिम, उपलब्ध सेवाका विविधताबारे स्पष्ट पार्न चिकित्सकले नसकेको बताए। 'उपचार सकिएपछि यति खर्च लाग्यो भनेर डराउने अवस्था आउनु सञ्चार सीपकै अभावको कारण हो,' उनले भने।

source:-nagriknews

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login