काठमाडौ, फाल्गुन १४ - पाँच वर्षपछि पुनः निरन्तरता पाएपनि शनिबार भएको मिष्टर नेपाल विवादमुक्त हुन सकेन । एक्सपोज नेपाल डटकमको आयोजनामा तामझामका साथ शुरु भएको उक्त प्रतियोगिताको उपाधी घोषणासम्म आईपुग्दा विवादीत मात्र बनेन झडप नै हुन पुग्यो ।
४१ प्रतिस्पर्धी सहभागी मिष्टर नेपालमा विभिन्न सवटाईटल दिईएपछि महत्वपूर्ण तीन अवार्ड मध्ये सेकेण्ड रनरअप र थर्ड रनरअपका उपाधी बहिष्कार गरिएपछि प्रतियोगिता विवादीत बनेको हो । प्रतियोगिता निष्पक्ष नभएको आरोप लगाउँदै सेकेण्ड रनरअप घोषित आशिष लुइटेल र फष्ट रनरअप कुबेर तामाङले अवार्ड लिन अस्वीकार गरेको बताए । मिष्टर नेपाल भने आयुष्मान घिमिरे बने । उनले उपाधीसँग नगद एकलाख समेत जिते । घिमिरे काठमाडौं मेडिकल कलेजका छालारोग सम्बन्धी चिकित्सक हुन् ।
घिमिरेले अवार्ड थापिरहँदा अन्य प्रतियोगिले भने घिमिरेले आयोजकलाई पाँच लाख रुपैयाँ घुस खुवाएर मिष्टर नेपाल बनेको भन्दै मञ्चमै नाराबाजी गरेका थिए । नाराबाजी गरेपछि आयोजक पक्ष कार्यक्रम स्थल छोडेर सम्पर्क विहीन भएका थिए भने प्रहरीले लाठीचार्ज गरी विरोधमा उत्रनेलाई तितरवितर पारेको थियो ।
मिष्टर नेपाल बनेका घिमिरेले आफुले रकम खुवाएर उपाधी जितेको नभई क्षमताका आधारमा पाएको भन्दै उपाधी जित्दा खुशी लागेको बताए । घोषणा लगत्तै विरोध भएपछि उनलाई प्रहरीले नै सुरक्षित स्थलसम्म स्कर्टिङ गरेर लगेका थिए । प्रहरीको लाठी प्रहारबाट घाइईते समेत बनेका प्रतिष्पर्धी मनिष पोखरेलले प्रशिक्षणमै नआएकोलाई उपाधी दिईएको भन्दै विरोध गरे । भने, 'आयोजकले मलाई पनि उपाधी लिनेभए पैसा देउ भनेर बार्गेनिङ गरेका थिए । त्यसैले उसले पैसा नखुवाएको भए प्रशिक्षणमै नआएकोले कसरी जित्यो त ?' नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त कार्यक्रममा प्रहरीले बल प्रयोग गर्दा झण्डै आधा दर्जन प्रतियोगी र केही बाटो हिड्ने बटुवा समेत घाईते भएका छन् ।
source:-ekantipur









0 commentaires