सीमान्त गुरुङ काठमाडौ, फाल्गुन ९ - सुरक्षा घेरामा रहने चर्चित क्यानाडेली गायक ब्रायन एडम्सलाई ड्राइभ गरूँला भन्ने मैले कल्पनासम्म गरेको थिइनँ । तर शनिबारको दिन मेरा लागि सम्झनालायक हुन पुग्यो ।
आयोजकमध्येको ओडिसी नेपालको निर्देशकका रूपमा म आयोजक साथीहरूका साथ उनलाई लिन त्रिभुवन विमानस्थल पुगेको थिएँ । बंगलादेशको एयर विमानबाट ओर्लिएपछि ब्रायनलाई मैले गाडीमा सोल्टी होटल पुर्याउनुपर्ने सल्लाह हामीबीच भयो । विमानस्थलबाट उनलाई कार्यक्रमको अफिसियल क्यारियर रहेको नीलो रंगको मित्सुवोका कारमा सुरक्षाकर्मीको स्कर्टिङमा सोल्टी लैजाँदै थिएँ । सिनामंगलमा पुग्दा उनले सोधे, 'कस्तो छ तयारी ?' मैले 'सबै तयारी भैसकेको छ, दर्शकहरू तपाईंको प्रतीक्षामा छन्' भनें ।
शनिबार परेकाले सडकमा सवारीको चाप थिएन । तीनकुनेबाट नयाँ वानेश्वरतिर पस्दै गर्दा उनले फेरि सोधे, 'होटल कति टाढा छ ?' त्रिपुरेश्वर पुगेपछि दशरथ रंगशालाको गेटमा लाइन देखेर उनी चकित परे । मैले त्यता औंल्याउँदै भनें, 'यही हो आज कार्यक्रम हुने ठाउँ ।' उनले फोटो खिचिहाले । उनलाई सगरमाथाको उचाइबारे जानकारी रहेनछ । मैले बताइदिएँ । 'दोस्रो अग्लो हिमाल अन्नपूर्ण हो ?' उनले सोधे, 'माउन्ट के टू पनि नेपालमै छ ?' मैले भनें, 'होइन, पाकिस्तानमा ।' 'नेपालमा बुद्धिस्ट मान्ने बढी होलान् है ?' 'हैन,' मैले भनें, 'यहाँ हिन्दू धेरै छन् ।'
दिउँसो २:२० मा विमानस्थलमा ओर्लिएका ब्रायन सोल्टीमा पुगेपछि आफू बस्ने रेसिडेन्डल सुइटमा पसे, ब्यान्ड सदस्यहरूसाथ । तीन कोठाको सुइट ठूलो लागेछ, उनी 'ठूलो कोठामा नबस्ने' भन्दै सुइटभित्रकै सानो कोठामा सरे ।
उनीसँगै आएका सेफले उनलाई इटालियन परिकार बनाई खुवाए । बेलुकी ६ बजे मैले फेरि उनलाई गाडीमा राखेर त्रिपुरेश्वर ल्याएँ । त्यस बेला कारमा उनी र म मात्रै थियौं । विमानस्थलबाट आउँदा उनका किबोर्डम्यान पनि उनीसँगै पछिल्लो सिटमा थिए । उनी कारमा अघिल्तिर बस्न रुचाउँदा रहेनछन् ।
रंगशालामा भित्रिएपछि ब्रायनले सोधे, 'हेलोलाई नेपालीमा के भन्ने ?' 'नमस्ते,' मैले सुझाएँ । फेरि सोधे, 'हाउ आर युलाई ?' मैले त्यसको पनि नेपाली भनिदिएँ, तर उनले सम्झिन सकेनन् । 'होस्, नमस्ते मात्र भन्छु' भनेका थिए, तर स्टेजमा चढेपछि नमस्ते भन्न पनि बिर्सेछन् ।
रंगशालामा उनका लागि सोल्टी होटलकै कुकले चमेना गृह बनाएका थिए । त्यहाँ उनले जुस पिए । कन्सर्ट सकिएपछि उनलाई फेरि मैले नै सोल्टी पुर्याउनुपर्यो । बाटाभरि उनले स्टेजमा आफूसँगै गाउने नेपाली वृन्दा सिंहको मात्रै प्रशंसा गरेनन्, सारा नेपाली मन परेको बताए । 'मैले नसोचेको कार्यक्रम भयो, कत्रो भीड,' राति होटल फर्किंदा उनले भने । उनलाई सोल्टीमा पुर्याएर गाडी त्यहीँ छाडी म घर फर्किएँ । एक प्रहरी अधिकृत त्यहाँ बसे ।
आइतबार बिहानै म सोल्टीमा गएँ । त्यता लाग्नुअघि उनका म्यानेजरलाई घरबाटै टेलिफोनमा प्रधानमन्त्रीसँग चियापान र माउन्टेन फ्लाइटको प्रस्ताव राखेको थिएँ । ब्रायन भेटेर पनि आग्रह गरें । तर उनले लन्डनमा कार्यक्रम रहेकाले ढिलो हुने बताए । 'प्रधानमन्त्रीलाई एयरपोर्टमा भेट्न सकिँदैन ?' उनले भने, 'त्यहाँ मिल्ने भए हुन्थ्यो ।' उनीसहित चार जना ब्यान्ड मेम्बरका लागि कतार एयरवेजमा टिकट लिइसकिएको थियो ।
मध्याह्न १२:४० मिनेटको उडान छोप्न हामी सोल्टीबाट निस्कियौं । कालीमाटीबाटै जाममा पर्यौं । 'आइतबार पनि जाम हुन्छ ? आज त विदाको दिन होइन ?' उनले भने । 'होइन, हाम्रो देशमा सार्वजनिक बिदा शनिबार हुन्छ,' मैले भनें । कालीमाटी चोकमा साइकलमा गोलभेडा बोकेर जाँदै गरेका व्यापारी देखेपछि उनले हाँस्दै भने, 'आजै बेलुकी बिक्री भैसक्छ होला है ।'
प्रधानमन्त्रीसँग चियापान गराउन नसकेकामा म थकथकी मान्दै थिएँ, उनले ठट्टा गर्दै भने, 'कुनै मन्त्रालयमा पनि काम गरिन्छ कि कसो ?' उनले कन्सर्टमा घाटा/नाफाबारे सोधे । मैले भनें, 'तपाईंको आगमनले नेपालको विश्वभर प्रचार भयो, त्यो नै फाइदा हो ।' कालीमाटीमा गाडी अलिअलि सर्दै थियो, उनले सडकछेउ कपाल काट्नेहरू देखेपछि फोटो खिचे । त्रिपुरेश्वरमा तीन साना विद्यार्थी अँगालोमा बाँधिएर हिंड्दै गरेको दृश्यले उनलाई छोएछ, मलाई र आफ्ना म्यानेजरहरूलाई देखाए । सन् ५० को दशकमा बेलायतमा लोकप्रिय मानिएको विलासी कारमा यात्रा गरिरहेका ब्रायनले मुखमा मास्क लगाई हिँडिरहेका सर्वसाधारण देखेपछि 'मानिसहरू किन मुख छोप्छन् ?' भनेर सोधे । मैले कारण बताइदिएँ ।
एयरपोर्ट पुगेपछि उनको फोटो खिच्नेहरूको भीड बढ्यो । जिम्मेवारी छाडेर फोटो खिचाउन र अटो माग्न तँछाडमछाड गरेका कर्मचारी र प्रहरीहरू देखेर उनी चकित परे ।
एयरपोर्टमा उनलाई ड्युटी फ्रि पसलहरूमा लग्यौं । नेपाली पस्मिनाका तीन वटा सल र ढाका टोपी किनेर उनलाई आयोजकका तर्फबाट उपहार दियौं । उनी पर्स झिकेर पैसा तिर्न खोज्दै थिए, मैल मानिनँ । उनले खुसी हुँदै एउटा कालो सल गलामा बेरे र दुइटा आफ्नो कार्यालयमा काम गर्ने महिला सहयोगीलाई उपहार दिने भन्दै आफूले बोकिरहेको झोलामा हाले ।
उनको फ्लाइटको उद्घोषण भयो । उनी ब्यान्ड मेम्बरहरूसहित लन्डनका लागि दोहातर्फ उड्न बिदा भए, पर्यटकका रूपमा नेपाली हिमाल हेर्न आउने वाचा गर्दै ।
(सुरज कुँवरसँगको कुराकानीमा आधारित)
source:-ekantipur










0 commentaires