तरवार चलाउन डर लाग्छ राजेशलाई


काठमाडौं, फागुन ५  – गोरखकाली पुकार्दै अघि बढेको सेनालाई नेतृत्व गरेका छन् अभिनेता राजेश हमालले। फिल्म 'सौर्य'मा पृथ्वीनारायण शाहको सेनापति हुन् उनी। उनले बोकेको तरवार पनि विशेष छ। 'यो तरवार गोरखनाथले पृथ्वीनारायणलाई दिनु भएको हो। पृथ्वी बिरामी परेपछि सेना र तरवार दुवैको जिम्मेवारी मेरो काँधमा छ,' सेनापति हमालले भने, 'फिल्ममा साँच्चिकै तरवारको प्रयोग कमै हुन्छ।

यो ऐतिहासिक युद्धको दृश्य भएकोले सक्कलीकै प्रयोग गरिएको छ।' सामान्यभन्दा लामो र गह्रौं तरवारले हातमा ठेला उठाएको उनले देखाए।
'यो सम्झना केही दिन मेरो हातमा रहने छ,' आफूले चलाउने तरवार फिल्मको मुख्य विषय बनेकाले निकै सजग भई यो काम गरिरहेको उनले बताए। अहिलेका फाइटमा धेरै प्रयोग हुने बम, बन्दुक र स्टन्ट 'सौर्य'मा नभएको पनि उनले खुलाए।

तरवार युद्ध उनलाई जोखिमयुक्त लाग्छ। रिसाएर तरवार घुमाउने दृश्य 'फस्ट टेक'मै सकाएपछि उनले भने, 'बरु सट कमजोर भए होस्। रिटेक गर्न डर लाग्छ मलाई,' चोभारमा सुटिङ गरिरहेका राजेशले सोही ठाउँमा तरवार युद्ध गर्दा भएको दुर्घटना सुनाए।

'मैदान फिल्ममा तरवार युद्धको सुटिङ हुँदै थियो। मैले चलाएको तरवार उछिट्टिएर क्यामेराम्यान युवराज राईलाई लाग्यो। बिँड मेरो हातमा, उनको चारवटा दाँत मैदानमा। त्यो दिन ठूलो अनिष्ट टर्‍यो,' राजेशले भने।

यो फिल्मको पहिरन र संवादले आफूलाई नौलो काम गरेको अनुभव भइरहेको उनले सुनाए। 'उनीहरू हामीलाई हराउन आयाका छन्। हामी जित्न्या लड्या छौं,' आफ्नो भूमिका बताउने सिलसिलामा उनले फिल्मकै संवाद शैलीमा जवाफ दिए। यसअघि 'वसन्ती'मा गगनसिंहको भूमिका निर्वाह गरेका राजेशलाई ऐतिहासिक पात्रको भूमिका निकै चुनौतीपूर्ण लाग्छ।

'काम गर्न रमाइलो लाग्छ तर पहिरन, हाउभाउ, संवाद लगायत धेरै कुरामा ध्यान दिनुपर्ने भएकाले अप्ठ्यारो पनि हुन्छ,' उनले भने। फिल्ममा राजेशका साथ सौगात मल्ल, अनुपविक्रम शाही, सुशील पोखरेल, रवीन्द्र खड्का, हेमा श्रेष्ठ लगायतले अभिनय गरेका छन्।

गत वर्ष नै सुटिङ थालिएको यो फिल्म इलाम र काठमाडौंमा खिचिएको छ। 'ऐतिहासिक घटनाक्रम उठाएर त्यसलाई अहिलेको मुद्दासँग सान्दर्भिक बनाउन खोजेका छौं,' कास्टिङ निर्देशक राजन उप्रेतीले भने। फिल्मको विषयबारे उनी खुल्न चाहेनन्। फिल्मलाई नयाँ निर्देशक मार्कण्डेय दीपबिम बस्नेतले निर्देशन गरेका छन्। फिल्ममा ग्राफिक्स र एनिमेसनको काम धेरै हुने भएकोले अझै चार महिना पोस्ट प्रोडक्सनमा लाग्ने उनले बताए।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login