विनोद घिमिरे २७ माघ, काठमाडौं । मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि एकीकृत नेकपा माओवादी वर्तमान सरकारमा सहभागी नहुने भएको छ । माओवादी सरकारमा सहभागी नहुने भएपछि एमालेले अन्य दलहरुलाई सरकारमा सहभागी गराउन पहल थालेको छ ।
प्रधानमन्त्री झलनाथ खनाललाई विहीबार विहान बालुवाटारमा भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी नहुने जानकारी गराउनु भएको थियो ।
माओवादीले गृह मन्त्रालय आफैले पाउनु पर्ने दावी गरे पनि एमालेले दिन मानेको थिएन ।
छलफलमा सहभागी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सात बुँदे सहमतिको अपव्याख्या भएको र देशभित्रकै प्रतिक्रियावादी शक्तिले चलखेल गरेकोले माओवादी सरकारमा सहभागी नहुने पत्रकारहरुलाई जानकारी दिनुभयो । ‘माओवादीलाई सरकारमा सहभागी हुन नदिन देश बाहिर र देशभित्रकै प्रतिक्रियावादी शक्तिहरु खले । एमालेकै नेताहरुले पनि सात बुँदे सहमतिविरुद्ध अभिव्यक्ति दिँदै हिँडेकोले अब माओवादी सरकारमा सहभागी हुँदैन,’ प्रकाशले अनलाइनखबरसँग भन्नुभयो ।
माओवादीले सरकार बाहिरै रहेर शान्ति र संविधानमा सहयोग गर्ने जनाएको छ । ‘अब सरकारको व्यवहारअनुसार माओवादी अघि बढ्छ,’ उपाध्यक्ष प्रकाशले भन्नुभयो, ‘सरकार बाहिरै रहेर शान्ति र संविधानमा सहयोग गर्छौं ।’
माओवादी अध्यक्ष प्रचण्ड उपाध्यक्ष प्रकाश र स्थायी समिति सदस्य देव गुरुङका साथ बालुवाटार पुग्नु भएको थियो ।
एमाले अध्यक्ष खनाल माओवादीको समर्थनमा गत २० गते प्रधानमन्त्रीमा निर्बाचित हुनु भएको थियो । माओवादीले अन्तिम समयमा अध्यक्ष प्रचण्डको उम्मेदवारी फिर्ता लिएर खनाललाई समर्थन गरेको थियो ।
माओवादीसँगको छलफलपछि एमाले सचिब शंकर पोख्रेलले माओवादीलाई मनाउने प्रयास जारी राख्ने पत्रकारहरुलाई जानकारी दिनुभयो । उहाँले अन्य दलहरुलाई पनि सरकारमा सहभागी गराउन आजैदेखि छलफल थाल्ने बताउनुभयो ।
‘सरकारमा अन्य दललाई सहभागी गराउन सबैसँग छलफल गर्छौं,’ सचिब पोख्रेलले भन्नुभयो, ‘माओवादीलाई मनाउने पनि प्रयास जारी हुन्छ ।
SOURCE:-ONLINEKHABAR









0 commentaires