मणि दाहाल, काठमाडौं, माघ १५ - सात वर्षअघि स्वयंसेवक बनेर नेपाल आउँदा कोनर ग्रेननले सोचेका थिए, 'नेपाल बसाइको अनुभव पबमा सुन्दरीहरूका अगाडि गफ हाँक्न काम लाग्ला।' त्यतिखेर तीन महिना नेपाल बस्दा उनले ललितपुर गोदावरीस्थित 'लिटिल प्रिन्सेस हाउस'मा काम गरे। फर्केपछि पनि उनले त्यहाँ अनाथ बालबालिकालाई बिर्सन सकेनन्। सन् २००६ मा फेरि नेपाल आए। दोस्रोपटक ग्रेनन उक्त संस्थामा आउँदा त्यहाँ ४ देखि १० वर्षका १८ बालबालिका थिए।
उनले फेरि त्यहीँ काम गर्न थाले। यसबीच एक यस्ती महिला संस्थामा आइन्, जसले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो। ती महिला अनाथालयमा रहेका आफ्ना दुई बच्चा भेट्न आएकी थिइन्। उनले आफू मरिसकेको भनी नक्कली प्रमाण पेस गरेर आफ्ना बच्चालाई दलालमार्फत् संस्थामा भर्ना गराएकी थिइन्। यो घटनाले बालबालिका ओसारपोसारमा ठूलो गिरोह सक्रिय रहेको ग्रेननले चाल पाए।
उनले त्यस्ता बालबालिकालाई उद्धार गर्न र अभिभावकसँग पुनर्मिलन गराउन २०६२ पुसमा 'नेक्स्ट जेनरेसन नेपाल' नामक संस्था खोले। र, अभिभावक खोज्ने अभियानमा लागे।
यही विषय समेटेर उनले हालै किताब लेखेका छन्, 'लिटिल प्रिन्सेस'।
ग्रेननको अनुभव समेटिएको यो पुस्तक क्यानडामा चर्चित छ। दुई साताअघि सार्वजनिक उक्त पुस्तक सर्वाधिक बिक्री हुने सूचीमा दोस्रो स्थानमा रहेको नेक्स्ट जेनरेसनले जनाएको छ। मंगलबारदेखि अमेरिकामा पनि पुस्तक बिक्री सुरु भएको छ।
सन् २००६ नोभेम्बर र डिसेम्बरमा ग्रेनन बाबुआमा मरिसकेको भनिएका बालबालिकाका तस्बिर र चिठी लिएर हुम्ला पुगेका थिए, तिनका अभिभावक खोज्न। त्यतिखेर उनीसँगै रहेका हिमाली नवीन समाजका धनबहादुर लामाले नागरिकसँग भने, 'यो पुस्तकमा राम्रो शिक्षाको लोभमा मृत्यु भइसकेको भनी नक्कली कागज बनाएर बालबालिकालाई तस्करको हातमा सुम्पने अभिभावक खोजी गर्दाको घटनाक्रम समेटिएको छ।'
पुस्तकको आधा अंशदेखि लामा पनि जोडिन पुगेका छन्। उनले १ सय ३६ बालबालिकाका अभिभावक खोज्ने जिम्मेवारी पाएका थिए। 'युनिसेफ र जिल्ला बाल विकास समितिको अनुरोधपछि प्रहरीले मातातीर्थ र थानकोटमा छापा मारी एउटा गैरसरकारी संस्थाले अलपत्र परेका १ सय ३६ बालबालिकाको उद्दार गरेको थियो,' लामाले भने।
'हुम्लाजस्ता द्वन्द्वग्रस्त क्षेत्रमा माओवादीले लगिदिने हुन् कि भनेर चिन्तित अभिभावकले नै आफ्ना केटाकेटी तस्करको हवाला गरेको पाइयो,' लामाले भने, 'तस्करमार्फत् काठमाडौं आइपुगेका ती केटाकेटीले यहाँ राम्रो शिक्षा त के, खाना र उपचार पनि राम्ररी पाएका थिएनन्।'
त्यसपछि ग्रेननका तीन र आफूसँगका पाँच गरी आठ जनाको टोली बालबालिकाको अभिभावक खोज्न हुम्ला पुगेको उनले बताए।
उनका अनुसार हुम्लाको सिमिकोट लेकबाट स्याम्नेको ओरालो झर्दा ग्रेनन हिँड्न नसक्ने अवस्थामा पुगेका थिए। '४५ मिनेटको बाटो ३५ मिनेटमै झरेपछि उनको नसा तन्किएछ,' उनले भने, 'हुम्लाका सातवटा गाविस उनले खुट्टा खोच्याउँदै हिँडेका थिए।'
सार्वजनिक हुनअघि पुस्तक अध्ययन गरेका लामाले भने, 'बालबालिका अभिभावकलाई छोराछोरीका फोटो देखाउँदा उनीहरू निकै खुसी भएका थिए।'
यसैबारे ग्रेननले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भनेका छन्, 'त्यस समयमा चौबीस बालबालिकाको फोटो लिएर तिनका अभिभावक खोज्न गएको थिएँ। किताबमा त्यही अनुभव समेटेको छु।'
पुस्तक सार्वजनिक हुनुअघि अक्टोबर महिनामा उनी नेपाल आएका थिए। हुम्लामा रहेको घरमा पनि पुगे। अहिले ती बालबालिका त्यहीँ अध्ययन गरिरहेका छन्। तिनलाई पढ्न चाहुञ्जेल पढाउने उनले बताए। उनले सिमिकोटको एउटा विद्यालयको स्तरोन्नति गरेर नमूना विद्यालय बनाउने योजना पनि सुनाए।
लेखकले पुस्तकको प्रचारका लागि अमेरिकाका विभिन्न ठाउँमा एक महिनाभन्दा लामो कार्यक्रम राखेका छन्। उनको कार्यक्रम माघ १८ गते न्यू मेक्सिको राज्यबाट सुरु भई फागुन २६ गते त्यहीँ पुगेर सकिनेछ।
(जुम्लाबाट तुफान न्यौपानेको सहयोगमा)
source:-nagriknews










0 commentaires