एसएलसी दिन नक्कली विद्यार्थी !


रुबी रौनियार, काठमाडौं, माघ १५ -बारामा स्कुलका शिक्षक र जिल्ला शिक्षाको परीक्षा शाखाका कर्मचारीहरूको मिलेमतोमा एलएलसी दिने ६ सय ६८ नक्कली विद्यार्थी फेला परेका छन्। माध्यमिक शिक्षा परीक्षा समन्वय समितिले माघ ५ मा सुरु एसएलसी टेस्ट परीक्षा अनुगमन गर्दा बारामा नक्कली परीक्षा फारम फेला परेको जिल्ला शिक्षा अधिकारी रामविनय सिन्हाले बताए।  


समितिको बिहीबार बसेको बैठकले फेला परेका ६ सय ६८ नक्कली विद्यार्थीको परीक्षा फाराम रद्द गरेको उनले जानकारी दिए। टेस्ट परीक्षा बिहीबार सकिएको छ। 
जिल्लामा २०६७ को एसएलसी परीक्षाका लागि ९७ माविबाट ७ हजार ७ सय ४४ ले परीक्षा फाराम भरेका छन्। यसमध्ये विभिन्न ठाउँबाट प्राप्त उजुरीका आधारमा छानबिन गर्दा एक साताभित्र ६ सय ६८ फर्जी विद्यार्थीको परीक्षा फारम फेला परेको सिन्हाले बताए।
'उजुरीका आधारमा स्कुलहरूको कक्षा ९ को भर्ना संख्या अध्ययन गर्दा ९ को तुलनामा कक्षा १० मा विद्यार्थी संख्या ह्वात्तै बढेको पाएँ,' सिन्हाले भने। 
एसएलसी दिन विद्यार्थीले टेस्ट परीक्षा अनिवार्य दिनुपर्छ, तर बारामा परीक्षा फारम भरेका ७ हजार ७ सय ४४ मध्ये ६ सय ६८ परीक्षार्थी टेस्ट परीक्षामा सहभागी नरहेको पाइयो।
छानबिनमा नेपाल राष्ट्रिय उच्चमावि कवहीजगातले ३ सय ६५ विद्यार्थीको परीक्षा फारमको तथ्यांक शिक्षा कार्यालयमा बुझाएकोमध्ये २ सय ८० विद्यार्थीको फाराम नक्कली रहेको भेटिएको छ। सिन्हाले भने, 'स्कुलमा गएर छानबिन गर्दा फाराम भरेकामध्ये ८५ ले मात्र टेस्ट दिएको पाइयो। दुई सय ८० नक्कली रहेछन्।' गढीमाई महेन्द्र उच्चमावि वरियारपुरले २ सय ९५ विद्यार्थीको परीक्षा फाराम भरे पनि ७० वटा नक्कली पाइएको छ। 
नेपाल राष्ट्रिय मावि इटीहाइले १ सय ४२ विद्यार्थी परीक्षामा समावेस गराएको तथ्यांक शिक्षा कार्यालयमा प्राप्त भएको तर स्कुलको तथ्यांकमा ४३ ले मात्र परीक्षा फाराम भरेको पाइएको छ। स्कुलको तथ्यांकअनुसार ९९ परीक्षा फारम फर्जी भएको अनुगमनमा छ। 
अमृतगन्ज गाविसको नेपाल राष्ट्रिय माविले जिल्ला शिक्षा कार्यालय बारामा परीक्षार्थी संख्या १ सय ८ उल्लेख गरेकोमध्ये २१ विद्यार्थीको फारम फर्जी फेला परेको छ। बतरा गाविसका अंचित माविले १ सय १४ परीक्षार्थीको फाराम शिक्षा कार्यालयमा बुझाएकोमा १५ फर्जी विद्यार्थी फेला परेको छ।
यसैगरी प्राइभेट र खुला विद्यालयबाट एसएलसी दिने परीक्षार्थीको फारमसमेत नक्कली भेटिएको शिक्षा कार्यालय बाराले जनाएको छ। 
प्राइभेट परीक्षा दिन सक्ने १ सय ९० परीक्षार्थीमध्ये १ सय १९ फर्जी भेटिएको छ। खुला परीक्षाअन्तर्गत सिद्धेश्वर संस्कृत मावि, कलैयाले १ सय ३२ विद्यार्थीको परीक्षा फाराम भराए पनि ६४ विद्यार्थी फर्जी भेटिएको सिन्हाले जनाए।
बारामा नक्कली विद्यार्थीलाई परीक्षामा समावेस गराई परीक्षा दिलाउने प्रवृत्ति पाँच वर्षयता तीव्र भएको सिन्हाको भनाइ छ। अढाइ महिनाअघिमात्र शिक्षा मन्त्रालयबाट बाराको शिक्षा अधिकारीको पद सम्हालेका सिन्हाले भने, 'नक्कली विद्यार्थीले ५ देखि १० हजार रुपैयाँ तिरेर परीक्षा फाराम भरेको देखियो।'
यसरी फारम भर्ने नक्कली विद्यार्थी तराईभन्दा माथिल्लो भेग धादिङ, मकवानपुर र चितवनका बढी छन्। आफ्नो जिल्लाबाट एसएलसी पास हुन नसकेका र विभिन्न पेसामा लाग्न शैक्षिक प्रमाणपत्र आवश्यक भएका नक्कली विद्यार्थी बढी फेला परेका छन्। 
'बारामा यस्ता विद्यार्थीले एलएलसी फाराम त भर्छन् तर परीक्षाको समयमा परीक्षा केन्द्रमा अलि जान्ने विद्यार्थीलाई शैक्षिक दलालले परीक्षा दिलाउँछन्,' सिन्हाले भने, 'छानबिन गरेयता मलाई विभिन्न माफियाको दबाब आइरहेको छ।' जतिसुकै कठिनाइ आएपनि कर्तव्यबाट नहल्लने अडान उनको छ।
परीक्षा समन्वय समितिले बारा जिल्ला प्रमुख बसन्तकुमार उपाध्यायको सहयोगमा फेला पारेको नक्कली विद्यार्थीको ६ सय ६८ नक्कली परीक्षा फाराम सोमबार परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा बुझाउने सिन्हाले बताए। शिक्षा नियमावलीअनुसार एसएलसी दिन विद्यार्थी कक्षा ९ मा भर्ना हुनु अनिवार्य छ।
कारणबस कक्षा १० मा भर्ना हुनुपरे कर्मचारीको छोराछोरी भए सरुवापत्र, विवाहित महिलालाई विवाह दर्ता, अन्यमा बसाइसराइको कागजात अनिवार्य हुन्छ।
तर फेला परेका ६ सय ६८ को कुनै पनि यस्ता प्रमाण नभएको र धेरै फाराममा परीक्षार्थीको फोटोसमेत छैन।
नेपाल राष्ट्रिय मावि इटिहाईका प्रधानाध्यापक बन्कालाल चौहानले आफ्नो स्कुलमा ४३ ले फाराम भरेको बताए। 'मेरो स्कुलको रेकर्डमा ४३ जना मात्र विद्यार्थी एसएलसी दिने छन्,' चौहानले नागरिकसँग भने, 'तर जिल्ला शिक्षाको परीक्षा शाखामा १ सय ४२ को तथ्यांक छ।'

source:-nagriknews

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login