पर्वत, माघ १७ - सहिद गोविन्दनाथ शर्माका भाइ देव शर्मा आइतबार बिहानैदेखि फोन आउने प्रतीक्षामा थिए । माघ १६ गते सहिद दिवस परेकाले दलका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी र विभिन्न संघसंस्थाका प्रतिनिधिले फोन गर्लान् भन्दै उनी दाइको शालिक नियाल्दै बसिरहे ।
बिहान उठेर दाइको शालिक आसपासको ठाउँ सफा गरेर बसेका शर्माको मोबाइलमा ११ बज्दासम्म कहीँ कतैबाट फोन आएन । सहिदलाई सम्झेर शालिकमा माल्र्यापण गर्न पनि कोही भेला भएनन् ।
कतैबाट फोन नआएपछि र दाजुलाई सम्झने कोही नभेटिएपछि शर्मा आफैं पूजा सामान जुटाउन लागें । भाउजू -सहिदकी श्रीमती) काठमाडौं गएकाले आफैंले पूजा गर्ने तयारीमा जुटेका शर्माको मोबाइलमा अचानक फोन आयो ।
सहिद आवासीय माविका शिक्षकले सहिद गोविन्दनाथको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिएको छ भन्दै निम्तो गरेपछि मलिन उनको अनुहारमा केही खुसी छायो ।
उनले आफ्नो परिवारको स्वार्थमात्र नभएर सिंगो देशका लागि ज्यानको बलिदान दिने दाइको नाममा गाँसेको माला बोकेर सहिद चोकमा विद्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगे । त्यहाँ शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो । केही राजनीतिक दलका प्रतिनिधि कार्यक्रम नियाल्दै थिए भने सरकारी कर्मचारी कोही देखिएनन् ।
माल्यापर्ण गर्दै सबैको भविष्य बोकेको संविधान निर्माणमा दलका नेतालाई एकजुट बनाइदिन आग्रह गर्दै विद्यार्थीले सहिदको पूजा गरे । विद्यालय पोसाकमा आएका उनीहरूको कार्यक्रम हेर्न चोकमा एकछिन भीडै लाग्यो । एउटा विद्यालयले सहिदलाई सम्झेर कार्यक्रमको आयोजना गरे पनि दलका नेता, सरकारी कार्यालयका कर्मचारीले सहिदको सम्झनामा कुनै पनि कार्यक्रमको आयोजना गरेनन् ।
सरकारी कार्यालयले सहिदको बेवास्ता गरेकामा चित्त दुःखेको देव शर्माले बताए । 'पोहोर पनि कसैले दाइलाई सम्झेनन्,' उनले भने, 'अहिले पनि बेवास्ता गर्दा परिवारका लागि मात्र सहिद बनेजस्तो लागेको छ ।' उवासंघले भने प्रत्येक वर्ष उनको सम्झनामा कार्यक्रम गर्दै आए पनि अन्य संघसंस्थाले चासो दिने गरेका छैनन् ।
'दाइको सम्झना कसैले नगरे पनि केही हुने थिएन,' देवले भने, 'तर सबै दल एकजुट भई अबको पाँच महिनामा जनताको संविधान निर्माण गरिदिएदेखि दाइको सपना पूरा हुने थियो ।' थपिएको समयमा पनि संविधान नबने दाइले अल्पायुमै रगत बगाई देशको नाममा दिएको बलिदान सार्थक नहुने र सहिदको रगतले सबै नेतालई पोल्ने उनले बताए ।
दोस्रो जनआन्दोलनमा धौलागिरिकै प्रथम सहिद गोविन्दनाथका दुई श्रीमती, एक छोरा र पाँच छोरी छन् । २०६३ वैशाख ८ गते सुरक्षाकर्मीको गोली लागेर घाइते भएका उनको पोखरामा उपचारको क्रममा १२ गते मृत्यु भएको थियो ।
परिवारले सहिदका नाममा विद्यालय, बाटोघाटो निर्माण गर्नुपर्ने बताए । विद्यालयले सहिदको सम्झनामा दल, विभिन्न संघसंसथाका प्रतिनिधिलाई भेला गराई कार्यक्रम गरेको हो ।
source:-kantipur










0 commentaires