निर्धारित समयमै एमआरपी जारी हुन्छः परराष्ट्र
काठमाडौ, मंसिर १७ - ओबर्थर टेक्नोलोजिज प्रालिले परराष्ट्र मन्त्रालयलाई डेढ लाखप्रति मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बुझाएको छ । परराष्ट्र स्रोतका अनुसार बिहीबारसम्म दुईपटक गरी ओबर्थरले डेढ लाखप्रति एमआरपी बुझाएको हो ।
परराष्ट्र र ओबर्थरबीच गत भदौ ११ गते भएको सम्झौताअनुसार ७० दिनभित्र ४ लाखप्रति एमआरपी बुझाउनु पथ्र्यो । तर उसले ८२ औं दिनमा पहिलो खेप 'ज्यादै थोरै' एमआरपी बुझाएको थियो । स्रोतका अनुसार त्यसपछि दुईपटक गरी ओबर्थरले डेढ लाखप्रति एमआरपी बुझाएको हो । 'अघिल्लो पटक ८० हजार र बिहीबार ७० हजार एमआरपी आएको छ,' परराष्ट्र स्रोतले भन्यो ।
'ओबर्थरले एमआरपी बुझाइरहेको छ,' परराष्ट्रका सहायक प्रवक्ता हरिशचन्द्र घिमिरेले भने, 'हामी निर्धारित समयभित्रै एमआरपी जारी गर्छौं ।' अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आईकाओ) ले दोस्रो पटक थपिदिएको समय सीमाअनुसार नेपालले आगामी पुस १७ गतेभित्र एमआरपी जारी गरिसक्नु पर्छ ।
एमआरपी जारी गर्न ओबर्थरले परराष्ट्रमा आवश्यक उपकरण जडान गरिसकेको छ । त्यसबाहेक आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पनि उसले परराष्ट्रका कर्मचारीलाई पालैपालो प्रशिक्षण प्रदान गरिरहेको छ ।
एमआरपी जारी गर्नुपूर्व परराष्ट्रले विभिन्न देशको अध्यागमन र राहदानी कार्यालयमा आफ्नो कूटनीतिक नियोगमार्फत एमआरपीको नमुना पठाउनुपर्छ । परराष्ट्रले उक्त नमुना पठाउने तयारी गरिरहेको छ । एमआरपी जारी गर्न मन्त्रिपरिषद्ले दुई साताअगाडि नियमावली पारित गरि कानुनी ढोका खोलिसकेको छ ।
0 commentaires