'आधाभन्दा बढी गाउँलेले छोराछोरी साथै लिएर गएका छन्,' पनौती नगरपालिका-४, चामखर्कस्थित बालकल्याण प्राविका प्रधानाध्यापक मेघराज सापकोटाले भने, 'मेरो १७ वर्षे अनुभवमा मंसिरदेखि चैतसम्म विद्यार्थी संख्या आधाभन्दा बढी घट्ने गरेको छ।'
बाबुआमासँगै स्कुले केटाकेटीसमेत इँटाभट्टामा जाने भएपछि काभ्रेका अन्य विद्यालयमा समेत विद्यार्थी हाजिरी ह्वात्तै घटेको छ। जिल्लाको चण्डेनी स्रोत केन्द्र अन्तर्गतको उमा सहशिक्षालय, जनजागृति प्रावि, चामुण्डादेवी प्रावि, कुलाचौर प्रावि र हिमज्योति प्राविमा विद्यार्थी घटेका हुन्।
यस्तै, मंगलटार स्रोत केन्द्रअन्तर्गत महाकाली प्रावि, मंगल जनविजय उच्च मावि, देवीश्वरी प्राविमा पनि विद्यार्थी घटेका छन्। जनक उमावि स्रोत केन्द्रअन्तर्गतको महाँकाल प्रावि र कालीदेवी प्राविमा पनि पूरै विद्यार्थी छैनन्। हरेक वर्ष शिक्षा कार्यालयलाई विद्यार्थी इँटाभट्टामा गएकाले संख्या घटेको जानकारी पठाउने गरेको सापकोटाले बताए।
'बाबुआमासँगै केटाकेटी लैजाँदा पढाइ बिग्रन्छ भनेर सम्झाएका हौं,' स्थानीय युवा राजन तामाङले भने, 'उल्टै उनीहरु हाम्रा छोराछोरी तिमीहरु हेरिदिन्छौ भनेपछि हाम्रो केही सीप लागेन।' गाउँले भट्टामालिकले पठाइदिएको ट्रकमा दाउरा, ओढ्ने ओछ्याउनेसहित बालबच्चा लिएर उपत्यका छिर्न थालेको उनले जानकारी दिए।
घरको नाजुक अवस्था भएका र परिवार धान्न नसक्ने अवस्थाका उपत्यकासँगैका गाउँलेको रोजगारीको आकर्षक थलो इँटाभट्टा बनेको छ। गाउँमा रोजगारी नभएपछि काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका ग्रामीण भेगबाट इँटाभट्टामा काम गर्न जानेको संख्या वर्षेनी बढ्दो छ।
'गाउँमा कामै छैन, खान नपुगेपछि के गर्नु?' चामखर्कका सन्तबहादुर तामाङले दुखेसो पोखे, 'घर छाडेरै इँटा पार्न जानुबाहेक उपायै छैन।' उनी इँटा पार्न भट्टामा जाने थालेको १८ वर्षसम्म भयो।
इँटाभट्टामा काम गर्न जानेमा निम्न आयस्तर भएका तामाङ, नेवार र दलितको बाहुल्ये छ। काभ्रेका अलावा सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली चारवटै जिल्लाका गरी यसपटक ५ हजारको हाराहारीमा मजदुर र आश्रित परिवार इँटाभट्टामा गएको स्थानीयले जानकारी दिए।
भट्टा मालिकले असारदेखि दसैं अगाडिसम्म सबैको घरघरमा गएर गत वर्षको कामको आधारमा पेस्की दिने गरेका छन्। मजदुरहरुलाई बिहानको कठ्याग्रिँदो चिसोदेखि राति अबेरसम्म इँटा पार्न पत्नी र छोराछोरीले समेत सघाइरहेका भेटिन्छन्।
मजदुरले प्रति हजार इँटा पारेबापत ६ सय रुपैयाँ पाउँछन्। उनीहरु वैशाख लागेपछि मात्र घर फर्कन थाल्छन्। 'इँटाभट्टाबाट फर्कंदा नयाँ शैक्षिक वर्ष सुरु हुने हुँदा विद्यार्थीको पढाइ अधुरै हुन्छ,'काभ्रेका शिक्षा अधिकारी रामशरण सापकोटाले भने, 'गाउँका विद्यार्थी रोक्न कि बाबुआमाको गाउँमै रोजगारी हुनुपर्यो कि भट्टामै घुम्ती स्कुल खोल्नुपर्यो।'
SOURCE:-NAGRIKNEWS
0 commentaires