अजित तिवारी, जनकपुर, मंसिर १७ - राष्ट्रपति डा. रामवरण यादवको पुत्री अनु यादवको ह्यान्डिक्याम जनकपुर विमानस्थलको अति विशिष्ट कक्षबाट चोरी भएको छ। धनुषा प्रहरीले क्यामरा खोज्न हवलदारको कमाण्डमा छुट्टै प्रहरी परिचालन गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैन। यति एयरको नियमित जहाजबाट बिहीबार काठमाण्डौं फर्किनुअघि विमानस्थलको अति विशिष्ट कक्षमा समय बिताएकी अनुले बसेको सोफाको छेउमै राखेको सोनी कम्पनीको क्यामरा चोरी भएको धनुषा प्रहरीले जनाएको छ। घरायशी कामको सिलसिलामा अनु बुधबार जहाजबाटै जनकपुर आएकी थिइन्। अनुको त्यो ‘पर्सनल' क्यामरा ‘राष्ट्रपति पुत्रीको क्यामरा एयरपोर्टमा चोरी भएकोले खोजिदिन नेपाली सेनाले खबर गरेको हो'-धनुषा प्रहरीका एक अधिकारीले नागरिकसँग भने,‘क्यामरा खोज्न नै हवलदारको कमान्डमा चारजना प्रहरी खटाएका छौ।' राष्ट्रपति पुत्री विमानस्थलको अति विशिष्ट कक्षमा विमान कुरिरहेको बेला त्यही कक्षमा बिद्युतका क्षेत्रीय प्रमुखलाई ‘रिसिभ' गर्न धनुषा प्राधिकरणका प्रमुखसहितको टोली समेत पुगेको थियो।
बिद्युतका कर्मचारीहरु पुगेपछि अति विशिष्ठ कक्षमा भएको भिडभाडको फाइदा उठाउँदै राष्ट्रपति पुत्री अनुको क्यामरा कसैले चोरेको प्रहरीको अनुमान छ। तर प्रहरी श्रोतका अनुसार क्यामरा खोजिदिन ताकेता गरिरहेको नेपाली सेनाका एक क्याप्टेनले भने राष्ट्रपति पुत्री अनुको क्यामरा बिद्युतकै कर्मचारीहरु मध्ये कसैले चोरेको दाबी गरेका छन्।
राष्ट्रपति पुत्रीको क्यामरा चोरी भएको खबर पाएलगत्तै धनुषा प्रहरीको विमानस्थलमा कार्यरत्त सुरक्षाकर्मीले अति विशिष्ठ कक्षको कुनाकाप्चा पटकपटक खोजतलास गरेका छन्। क्यामरा नै खोज्न हवलदारको कमाण्डमा जिल्ला प्रहरी कार्यालयको छुट्टै टोलीले बिद्युतका क्षेत्रीय प्रमुख बसेको जनकपुरस्थित मानकी होटल र प्राधिकरणको कार्यालयसम्म पुगेर खोजतलास गरेका छन्। बिद्युतका क्षेत्रीय प्रमुख अनु फर्किने जहाजबाटै जनकपुर आएका हुन्।
‘चारैतिर खोजेपनि क्यामरा भेटाउन सकिएको छैन'-प्रहरीका ती अधिकारीले भने,‘एसपी सा'व र डिएसपी सा'व दुबै जिल्ला वाहिर भएको बेला के आपत् आइलाग्यो।' धनुषाका प्रहरी प्रमुख(एसपी) दिनेश अमात्य दिनभरको एउटा कार्यक्रममा सहभागी हुन जनकपुर बाहिर छन भने डिएसपी जगदिश पोखरेल बिदामा बसेका छन्।
राष्ट्रपति पुत्री अनु विशिष्ठ कक्षमा जहाज कुरिरहेकै बेला पर्यटनमन्त्री शरदसिंह भण्डारीलाई स्वागत गर्न समेत धेरैबढी मानिसहरु जनकपुर विमानस्थलको अति विशिष्ठ कक्षमा प्रतिक्षारत थिए। महोत्तरीको गौशालामा आयोजित कार्यक्रममा सरिक हुन जनकपुर विमानस्थलमा झरेका पर्यटनमन्त्री भण्डारीलाई स्वागत गर्न सय भन्दा बढी मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)का नेता/कार्यकर्ताहरुको विमानस्थलमा घुइँचो लागेको थियो।
‘एकैचोटी तीनजना विशिष्ठ व्यक्तिलाई बिदाई र स्वागत गर्न धेरैबढी मानिसहरु विमानस्थलको अति विशिष्ट कक्षमा घुँइचो लागेकाले राष्ट्रपति पुत्री अनुको क्यामरा चोरी गर्नेको पहिचान गर्न समस्या छ'-धनुषाका प्रहरी निरिक्षक हरि खतिवडाले भने। बिद्युत प्राधिकरण धनुषाका अधिकारीहरुले भने अति विशिष्ट कक्षमा राष्ट्रपति पुत्रीको क्यामरा चोरी भएको विषयमा केही थाहा नभएको बताएका छन्। ‘प्रहरीले पनि हामीसंग सोधपूछ गर्न आएको थियो'-बिद्युतका एक अधिकारीले भने,‘हामी बसेकै ठाउँबाट क्यामरा चोरिएको सुनेपछि अच्चम लाग्यो।'
Source :- Nagariknews
0 commentaires