सर्लाही-, मंसिर १८ - सर्लाही- सीमा क्षेत्रमा भारत सरकारका तर्फबाट खटाइएका सशस्त्र सीमा बल -एसएसबी_ को दुव्र्यवहारका कारण वारिपारि गर्ने सर्वसाधारणको संख्या दिनदिनै घट्न थालेको छ ।
घरायसी सामान किनमेल गर्न जाँदा एसएसबीको गालीगलौज र कुटाइसमेत खानुपरेको गुनासो स्थानीयले गरेका छन् ।
'यस्तो कहिल्यै थिएन, अब त चाडपर्वका लागि सामग्री ल्याउन पनि झन्झटिलो भएको छ,' सीमासँग जोडिएको सर्लाही बलराका ब्रजेश झा भन्छन्, 'वारिपारि गर्न सधैं सहज अनुभव गरेका अहिले एसएसबीबाट दिनदिनै अपमानित हुनुपरेको छ ।'
सीमापारिको बजारमा निर्भर गाउँ क्षेत्रका उपभोक्ताले अझ बढी कष्ट भोग्नुपरेको छ । असोज ३ गते २ लिटर खाने तेल ल्याएको निहुँमा सर्लाही ब्रह्मपुरी ७ का सञ्जीव साहलाई नेपाली भूमिबाटै एसएसबीले समातेर कुटेको थियो । 'सहज ढंगले यताउता गर्दै आएका सर्वसाधारणलाई पछिल्ला वर्षहरूमा एसएसबीबाट हुने व्यवहारले प्रताडित बनाएको छ,' सर्लाही उद्योग वाणिज्य संघका अध्यक्ष रंगलाल अग्रवाल भन्छन्, 'सीमा क्षेत्रका वारि र पारिका बजार यसै कारण सुक्दै गए । चहलपहल कम भएको छ ।' माओवादी द्वन्द्वका कारण सुकेको नेपाली बजारमा शान्ति प्रक्रियासँगै केही राम्रो भए पनि अहिले एसएसबीकै कारण घटेको अग्रवालको अनुभव छ । मंसिर १२ गते रौतहटको बन्जरहा ७ का मदनप्रसाद राजवंशीलाई र मंसिर ३ गते महोत्तरीको गौशाला बजारका व्यापारी राजकिशोर यादवलाई एसएसबी जवानले नेपाली भूभागमा पसेर निर्घात कुटेका थिए ।
दुई मुलुकबीच १७ सय ५१ किलोमिटर खुला सीमा छ । भारत सरकारले सन् २००१ देखि ५० हजार संख्यामा एसएसबी सीमा क्षेत्रमा परिचालन गरेको छ । सीमापारिका बजारमा नेपाली उपभोक्ता घटेकाले उताका व्यापारी पनि यस्तो व्यवहारप्रति आक्रोशित छन् । एसएसबीले नेपाली उपभोक्तालाई कुटेको विरोधमा असोज ४ गते सर्लाही सदरमुकाम मलंगवासँगै सीमापारि सोनवषर्ाका व्यापारीले बजार बन्द गराएका थिए । त्यस्तै गत वर्ष कात्तिकमा सीमामा हुँदै आएको नेपाली नागरिकमाथिको ज्यादतीविरुद्ध नेपालगन्जपारि रुपैडियाका भारतीय व्यापारीहरू व्यवसाय बन्द गरेर सडकमै ओर्लिएका थिए । पारिका बजार मुख्य रूपमा नेपाली उपभोक्तामा निर्भर रहँदै आएको छ ।
निरन्तर बढ्दै गएको ज्यादतीविरुद्ध नेपाली जनता पनि सडकमा उत्रिन थालेका छन् । कात्तिक २२ मा सीमापारि सोनवषरबाट फर्केका डा. रामनारायण साहलाई एसएसबीले दुव्र्यवहार गरेको थियो । त्यसको विरोधमा चार घन्टा सीमा जोड्ने सडक अवरुद्ध भए ।
माओवादीले भारतविरोधी आन्दोलन उद्घोष गरेयता सीमा क्षेत्रमा एसएसबीले कडाइ बढाउँदै लगेको
हो । 'राजनीतिक दलको अपरिपक्व व्यवहारको परिणाम बोर्डरका जनताले बेहोर्नुपरेको छ,' वरिष्ठ अधिवक्ता उमेशचन्द्र झा भन्छन्, 'काठमाडौं र दिल्लीबीचको असहजताको परिणाम बोर्डरमा तुरुन्तै देखिन थालेको छ ।'
उनले रोटी बेटीको सम्बन्ध रहेको मुलुक छिर्दाको कठिनाइले नेपाली जनतामा भारतप्रति नकारात्मक धारणाको विकास भइरहेको बताए ।
SOURCE:-ekantipur









0 commentaires