कलेन्द्र सेजुवाल, सुर्खेत, मंसिर १८- पोइल जान पाम... पाम भन्ने गीत गाउन सुर्खेत आइपुगेकी कोमल वलीले राखेको विवाह प्रस्ताव राउटे युवाले अस्वीकार गरिदिएका छन्। 'म तिमीसँग जान्छु लाने हो?' मञ्चमा भेटिएका राउटे युवा प्रकाश शाहीलाई वलीले सोधेकी थिइन्। एकाएक आएको विवाह प्रस्तावले राउटे प्रकाश शाही अलमल्ल परे। तर उनले अविवाहित गायिकाको विवाह प्रस्ताव स्वीकारेनन्। बरु चुपचाप लागेर आफ्ना अरु सहकर्मीसँगै लसुक्क मञ्चबाट बाहिरिए।
मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको अवसरमा काठमाडौंबाट आएकी वली र सल्यानको कालीमाटी जंगलबाट आएका शाहीबीच एउटा समानता थियो- अविवाहित अवस्था। तर त्यसलाई व्यक्त गर्ने सामाजिक संस्कारमा उनीहरुबीच असमानताको गहिरो खाडल देखियो। ओलीले हजारौँ दर्शकसामु 'मनमा आँट भाको, गोजीमा गाँठ भाको' झ्वाँक तन्नेरी खोज्दै गर्दा शाहीले भने कोमलको सँगै जाने प्रस्तावलाई प्रतिक्रियासमेत दिन सकेनन्।
प्रकाशको मुहारमा 'कोमल साँच्चिकै आफूसँग गइन् भने के गर्ने होला?' भन्दा पनि सामाजिक संस्कार उलंघन हुने हो कि भन्ने चिन्ता बढी देखिन्थ्यो। मञ्चबाट झरेपछि उनले नागरिन्युजसँग भने, 'हामी त विवाह आफ्नैसँग गर्छौँ, जो पायो त्यहीसँग गर्दनौँ।' उनले विवाहबारे आफ्नो मुखियाको अनुमतिबिना कुरा गर्न नमिल्ने पनि बताए।
कार्यक्रममा कोमल र प्रकाशले आआफ्नो कलासंस्कृति भने मज्जाले प्रस्तुत गरे। प्रकाशले आफ्नो समुदायका सदस्यसँगै वैशाली नाच देखाए। कोमलले पनि 'पोइला जान पाउँ, तुलसीपुरमा म जाँदा खेरी, झ्वाँक तन्नेरी' लगायतका चर्चित गीतले हजारौँ दर्शकहरुको ध्यान आफूतिर खिचिन्।
source:-nagriknews










0 commentaires