गुरुकुल, नाटक र विश्व

काठमाडौ, मंसिर १८ -
पुरानो बानेश्वरको एउटा थुम्कोमा नेपालमा त्यति हुन नसक्ने सिर्जनाको हलचल भएको आज मंसिर पन्ध्र सत्सट्ठी सालको दिन पन्ध्रै दिन पुगेछ । गुरुकुलले आयोजना गरेको तीनहप्ते अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आज अर्को नाटक हेरेर आएँ । एउटा कलाकारको देहमा कसरी समय, राज्य र मुक्तिका युद्ध लहरजस्तो गतिशील उठेका देखिन्छन् त्यो हेरेँ । हामी कोही पनि विदेह

होइनौं तर हाम्रो शरीरमा कसरी समयको नाटक हुन्छ हामीले हेरेका छैनौं । कोलम्बियाको हेक्टर अरिस्तिजाबल भन्ने एकल नाट्यपात्र, लेखक र निर्देशक मञ्चमा आयो । उसको शरीर कोलम्बिया राज्य भयो । 'अमेरिकाको सहयोगले काम गर्ने सैनिक शासन' को बर्बरता हेक्टरको शरीरमा लहरजस्तो भएर चढ्छ । उसको शरीर समय

हुन्छ । उसका गतिहरू ठाउँका व्यवधानले रोकिँदैनन् । ऊ वामपन्थी भनेर समातिन्छ । युवक छ ऊ । उसको भाइ पनि समातिन्छ । उसलाई सैनिकले यातना दिन्छ । उसको भाइ मारिन्छ । ऊ शरीर र भावभङ्गिमालाई लहरजस्तो कुदाउँछ । कोलम्बिया राज्य एउटा वृक्ष हुन्छ जसभित्र एउटा शक्तिको लहर दौडिन्छ । ऊ भाषा र अभिनयको प्रयोग गर्छ । म उसको नाटक हेेरेर बिस्तारै 'ट्रउमा' वा भयाक्रान्त मानसिकी र उदात्त भावनालाई जुधाएर बाहिर निस्किन्छु । अर्थपृ्र्ण घायल हुन्छु । यो सानो थुम्कोमा विश्वमा आएका परिवर्तन अभिनीत भएका छन् । नेपालको इतिहासका अभिव्यञ्जना नाटकीकरण भएका छन् यहाँ । युवाहरूले समय र इतिहासलाई सिर्जना र भयाक्रान्त मानसिकीमा हेरेका छन् यस डाँडोमा ।

हेर्दाहेर्दै यो थुम्को इतिहास भइसकेछ । कुनै ठाउँमा सांस्कृतिक र कलाका हलचल भए भने त्यो ठाउँ म्युजियम हुन्छ । कति देखिने कति नदेखिने वस्तुहरूको संग्रह भएको थलो म्युजियम हो तर गुरुकुल नामधारी यो थलो सम नाटकघरजस्तै अस्थिर छ । पहिलापहिला नाटक गर्दा सम नाटकघरको छानो चैतको फुइँकीले उडाउँथ्यो । कलाकार नाटक सकेर माथि चढ्थे अनि छानो ठीक गर्थे । यो थलो नै चैतको फुइँकीले उडाउने छानोजस्तो छ । भाडाको अवधि सकिनेबित्तिकै यो सकिन्छ तर गएका सातआठ वर्षदेखि यो थलोले नेपाल र बाहिर विश्वका सिर्जनाका संचेतना नाटकमा उतारेको छ । यो थलोमा नेपाली इतिहासका क्षणहरूको नाटकीकरण भएको छ । यो थलोमा पहिलापहिला त्यति मानिस आउँदैनथे । बिस्तारै यहाँ अनेकौँ थरीका मानिस आउन थाले । यो थलोको अचम्मको निर्वैयक्तिक र वैयक्तिक चिन्ताको समागमले खिचिएर पनि मानिस आउँथे ।

मैले बिस्तारै यो थलो मन पराउने र मन नपराउने दुवै थरीका नरनारीसँग यहाँ संवाद गरेको छु । यहाँ मेरा निकैवटा नाटक प्रस्तुत भए । पात्रहरूका स्वभाव र विचारहरूलाई म चित्त लगाएर हेर्छु । यहाँ फराकिलो र साँगुरो मन हुनेहरू आए । एक दिन एउटा अधबैँसे मानिस आयो । मतिर सिधै आयो । यो कविता गर्ने ठाउँ होइन ? सोध्यो । मैले गरे हुन्छ भनेँ । कविता देखायो । श्ाब्दहरूका कुनै अभिव्यञ्जना थिएनन् । भाषा किन प्रयोग गर्ने कवितामा उसले बुझेको थिएन । लय थिएन, गेडो केही थिएन कवितामा । ऊ त्यस्ता कविताको संरक्षणमा कसिएर लागेको थियो । केही दारुको सेवन अनि कुनै आपmनो भेटिबस्ने 'ग्याङ्' को हवाला दिएर बोलेपछि ऊ आफूलाई सुरक्षित ठान्थ्यो । मैले उसभित्रको पीडा बुझेको थिएँ । ऊ अभद्र बोल्थ्यो तर मैले त्यो मानिसलाई पछि नाटक हेर्न आउन थालेको देखेँ । उसमा आएको परिवर्तनले मलाई

छोयो । ऊ दुखी मानिस रहेछ । उसका घरमा कुनै पीडा रहेछ । म उसलाई अहिले पनि स्नेह गर्छु । यहाँ आनन्दसँग नाटकबाट प्रक्षेपण हुने कुरा लिन र मन फराकिलो गर्न मानिस आउन थाले । माथिको मानिसजस्ता पात्रहरू पनि आउन थाले । युवाहरू आउन थाले । सपना बोकेका अनि कला र जीवनको तीन फिट टाढाको सम्बन्ध हेर्न चाहने मानिस आउन थाले । कलाकारका पसिनाको गन्ध थाहा पाइने अनि तिनका हिँडाइले उठेको धूलोमा बस्न पाइने हुनाले नाटक जीवनको सबैभन्दा नजिकको प्रदर्शनकारी कला विधा भएको हो ।

राजनेताहरू पनि नाटक हेर्न आए तर धेरै आएनन् । राजनीति शास्त्रका पण्डित आएनन् । समाजशास्त्री आएनन् । आपmनो माहोल, मोहल्ला र महल भएका समाजमा नाम कमाएका मानिस नाटक हेर्न आएनन् तर युवाहरू धेरै आए,  आउँदै छन् । सुनील पोखरेल र आरोहणले बाहिर विश्वसँग सम्पर्क गरे । हामीले सन् दुई हजारमा विश्व आईटीआई संस्थाको सदस्यता लियौँ । सुनील, पुष्कर गुरुङ र मैले बाहिर विश्वका मुलुकमा सम्पर्क गर्‍यौँ तर सुनीलले अर्को व्यावहारिक बाटो छाने । तिनले नर्बेजियाली र अरू केही विदेशी नाट्यसमृ्ह र संस्थासग मिलेर गुरुकुलको वृत्त फराकिलो बनाए । देशभित्र तिनले खासै केही सहयोग पाउने थिएनन् । ती अत्यन्त प्रतिभाशाली नाट्यनिर्देशक र संगठन गर्ने गुण भएका मानिस हुन् । तिनको व्यक्तिगत प्रयास, निशा शर्मा, वसन्त भट्ट र अरू कलाकारको सहयोगले सुनीलले यत्रा नाटक महोत्सवहरू गर्न थाले । हरेक दिन ठृ्लो संख्यामा नाटक हेर्न आउने दर्शकहरू देख्दा मलाई लाग्छ अब नाटक वयस्क भयो तर भन्न सकिँदैन । पाँच दशवटा नाट्यसंस्थाले सक्रिय भएर

काम नगरेसम्म नाट्यसंस्कृति यति अगाडि आयो भन्न सकिँदैन ।

अस्ति अक्टोबरका पहिला दिनहरूमा डब्लिनमा एउटा अन्तर्राष्ट्रिय नाट्यमहोत्सवमा भाग लिन गएको थिएँ । म सुनीलको महोत्सव र त्यसको तुलना गर्न लागेको होइन । यी दुवै महोत्सव अलग हुन् तर केही साम्य छन् अनि केही फरक अवस्था छन् । त्यो सम्पृ्र्ण महोत्सवलाई अल्सटर्स बेङ्कले अनि त्यो महोत्सवको हाम्रो सेमिनार पक्षलाई भने स्पेन, बेलायत र आयरल्यान्डका केही विश्वविद्यालयले पैसा दिएका थिए । भयानक राम्रा नाटक गरे त्यहाँ तर आपmनै दुःखले आज्र्याको यो महोत्सव गरेर सुनीलले नेपालमा राजनीतिको निकास निस्कन नसकेर ऐठनमा परेको देशमा संसारभरिका अभिव्यक्तिका क्षणहरू, समय नाटकीकरण भएका घटनाहरू अनि मुक्तिका अनेकौँ अनुहारलाई मञ्चमा उत्रन दिएर एउटा नयाँ शक्तिको सिर्जना गरेको देखेँ मैले । नाटकको सृ्त्र सजिलो हुन्छ । हेर्दा पनि हुन्छ, नहेर्दा पनि हुन्छ । नाटक आपmना निम्ति हेरिन्छ । मन फुकाएर

हेर्नुपर्छ । धनकुटामा बनेको अल्लाको सेतो कोट लाएका, नाट्य अनुरागले अलिक बढी नै विनम्र र तरल भएका सुनीलले हरेक नाटकको परिचय दिएको दृश्य मेरा निम्ति अति भावुक क्षण थियो । तिनले परिचय गराएका नाटकका स्तर, विषय र नाटकीय सामथ्र्य अलगअलग थिए । यो छोटो लेखमा लेख्न सकिँदैन ।

आज देश अर्कै चिन्तामा डुबेको छ । गरिब देशको धन खान अनेकौं प्रपञ्च गरेर लागेका छन् मानिस । मुक्तिका अवसरहरू बचाउन अनि प्रजातन्त्रको मान्यता बचाउन पनि कोही लागिपरेका छन् । युद्ध, दुःख, जित र हार अनि दिनदिन विघटित भइरहने प्रकृति र मारिएका वन्यजन्तु, विस्थापित भइरहने मानिस, देश र विदेश सबैतिर गएर शोषित हुने नरनारीहरू, दिशाहीन भएर नशामा परेजस्तो गरी योजनाबिना काम गर्ने समाजका मानिस हेर्दा लाग्छ यहाँ धेरै नाटक लेख्ने र मञ्चन गर्ने विषय छन् तर गर्ने समूहहरू धेरै छैनन् । सुनीलले विगतमा आयोजना गरेका

राष्ट्रिय नाट्यमहोत्सवमा ती कतिपय समूह देखिएका थिए ।

यस महोत्सवमा प्रस्तुत नाटकहरूका वैविध्य धेरै देखिए यसपालि । प्रयोग, प्रस्तुति र विषयमा आजको विश्वमा चलेका विषय र मञ्चशैलीका प्रयोग भए । मैले देखेँ आज विश्वमा बाबेलको धरहराजस्तो भाषा र हल्ला फरकफरक छन् तर एक्कासि एउटै समस्यामा पर्ने र निस्कने अनि भयाक्रान्त मानसिकीले काम गर्ने विश्व अब तीव्र नाटक गर्छ । विश्व नाटकका धारहरूको गुरुकुलमा प्रयोग भएको हेरेर भन्छौँ मुक्तिको खोजी साझा भाषामा गरिएको नाटक हो ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login