पशुपतिनाथको आम्दानी १ लाख ९२ हजार मात्रै


अर्जुन सुवेदी, काठमाडौं मंसिर १८ - गत वर्ष ३ लाख ६८ हजार आम्दानी भएको पशुपतिनाथको आम्दानी यस वर्ष घटेर १ लाख ९२ हजारमा झरेको छ।

   पशुपतिको भेटीघाटी व्यवस्थित गर्न सर्वोच्च अदालतले दिएको आदेशविपरीत पशुपतिनाथ मन्दिरमा चढाइने भेटीघाटीको चुहावट झनै बढेको छ। पशुपतिको भेटीघाटी सबै भट्ट र भण्डारीले लिँदै आएकाले उनीहरूको तलब तोकी भेटीघाटी पारदर्शी गर्नुपर्ने भन्ने उजुरी परेपछि सर्वोच्च अदालतले गत पुसमा राजनीतिक नियुक्तिरहित कार्यदल बनाई त्यसैको सुझाव मान्न सरकारको नाममा आदेश जारी गरेको थियो।
तर आदेश दिएको तीन महिनाभित्र उच्चस्तरीय कार्यदल गठन भैसक्नुपर्ने भएपनि एक वर्ष बित्दा पनि कार्यदल अपुरो छ। यसैगरी संसदीय सुनुवाइ समिति र सार्वजनिक लेखा समितिले समेत भट्टभण्डारीलाई उचित तलब तोकी पशुपतिमा चढाइने भेटी पारदर्शी गराउन सरकार र पशुपतिक्षेत्र विकास कोषलाई पटक-पटक ध्यानाकर्षण गराइसकेका छन्।
लाखौं दर्शनार्थीको भीड लाग्ने र एउटै विशेष पुजाको ११ सयदेखि १३ लाख रुपैयाँसम्म तिर्नुपर्ने पशुपतिनाथको वार्षिक आम्दानी सबै भट्ट र भण्डारीको भागमा परेपछि सर्वोच्च अदालतले गत पुसमा कार्यदल बनाई त्यसको अध्ययन प्रतिवेदनका आधारमा भट्टभण्डारीलाई तलब तोक्न सरकारको नाउँमा आदेश दिएको थियो। तर सो हुनुको सट्टा यस वर्ष झनै विशेष पुजा गरेवापत गत वर्षहरूमा जम्मा हुने थोरै पैसासमेत जम्मा हुन सकेको छैन। गत वर्ष नै सार्वजनिक लेखा समिति र संसदीय सुनुवाइ समितिले दिएको निर्देशनको बेवास्ता गर्दै मन्दिरको भेटीघाटी पारदर्शी गर्ने विषयमा कुनै पनि काम अघि बढ्न सकेको छैन।
'यो रकम गत वर्षभन्दा आधाले कम भएपनि त्योभन्दा अघिल्ला वर्षभन्दा बढी नै हो,' पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तमलाल वैद्यले भने, 'मन्दिरमा चढाइने भेटीघाटीलाई पारदर्शी बनाउने योजना अधुरै रहेपछि आम्दानी बढाउन सकिएको छैन।' उनका अनुसार भएपनि अहिले झनै घटेको हो।
पशुपतिनाथ मन्दिरमा प्रत्येक वर्ष बालाचतुर्दशीको अघिल्लो दिन आर्जन भएको सम्पत्तिको लगत राखिन्छ र भोलिपल्ट सार्वजनिक गरिन्छ। पशुपति भण्डार तहविलका नाइके अरुण श्रेष्ठले भने, 'वर्षभरिको यो आम्दानीले सुन किनेर आइतबार मुल ढुकुटीमा दाखिला गर्ने कार्यक्रम छ।' उनका अनुसार पशुपतिनाथमा हामीले चन्दाबाकसमा खसालेबाहेक मन्दिरमा चढाइएको आम्दानी ढुकुटीसम्म पुग्दैन। मन्दिरमा चढाइने सबै पैसा भट्ट र भण्डारीले बाँडेर लिँदै आएका छन्। 'दर्शनार्थीले तोकेरै पशुपतिको ढुकुटीमा जाओस् भनेर चढाएको पैसामात्र मुल कन्तुरसम्म पुग्छ,' श्रेष्ठले भने, 'तर धेरैलाई चन्दा बाकसमा खसालेको पैसामात्र ढुकुटीमा पुग्छ भन्ने थाह नभएपछि आम्दानी बढ्न नसकेको हो।'
उनका अनुसार त्यै रकम पनि ढुकुटीमा दाखिला गर्ने नगर्ने भन्ने भण्डारीको तजविजमा भर पर्छ। उनका अनुसार दर्शनार्थीले सिधै खुत्रुकेमा खसालेको पैसा त यस वर्ष पनि ४० हजार मात्रै हो। अरू मन्दिरको सम्पत्तिबाट थपिएको हो।
यसबाहेक विशेष पुजाबाट मन्दिरको भाग लाग्ने गरेपनि पशुपतिको भेटीघाटी पारदर्शी गर्ने विषयमा सर्वोच्चले दिएको आदेशलाई निहुँ बनाउँदै भट्ट र भण्डारीले विशेष पुजाको पैसा दिन नमानेपछि ढुकुटीमा सो रकम दाखिला हुन सकेको छैन। पशुपतिनाथ मन्दिरमा एउटा विशेष पुजाको ११ सयदेखि १३ लाख रुपैयाँ लाग्छ। तर त्यसबाट भट्ट, भण्डारी, पुजा खर्च कटाएर मन्दिरको ढुकुटीमा थोरै पैसा जम्मा गर्नुपर्ने भएपनि यो वर्ष कतिले विषेश पुजा गरे भन्ने रेकर्डसमेत भण्डारीहरूले कोषलाई दिएका छैनन्। गत वर्ष कोषले नै विशेष पुजाको रसिद काट्ने व्यवस्था भएपनि यसवर्ष त कोषले काटेको रसिद बोकेर पुजा गर्न पुग्नेहरूको पुजा नै हुन दिएनन्।' भण्डार तहविलका एक कर्मचारीले नागरिकसँग भने, 'मन्दिरको भेटीघाटी पारदर्शी गराउने कुरो उठ्यो भने भट्ट र भण्डारीले सधैं धम्क्याउने मात्र काम गर्छन्।' उनका अनुसार ११ सयको पन्चामृत पुजा गर्दा गत वर्ष कोषको ढुकुटीमा २० रुपैयाँ मात्र दाखिला हुन्थो।
दुई वर्षअघि माओवादी सरकारका पालामा कोषको भेटीघाटी पारदर्शी बनाउने विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेपछि भण्डारीहरूले त्यसैलाई निहुँ बनाएर कोष र नियमलाई समेत अटेर गर्न थालेका हुन्। विस्तृत अध्ययनपछि ऐननियम परिवर्तन गरेर भट्ट र भण्डारीलाई तलब तोकिनुपर्ने समेत फैसलामा उल्लेख छ।
सर्वोच्च अदालतले गत वर्ष राजनीतिक नियुक्तिबिनाको उच्चस्तरीय कार्यदल बनाएर मन्दिरमा चढाइने भेटीघाटी पारदर्शी गराउन आदेश दिएको वर्षदिन बितिसक्दा पनि कार्यदल बनाएर छलफल गर्नु त परै जाओस् कार्यदल गठनको तारतम्यसमेत गरेको छैन। अदालतले गत वर्ष तीन महिनाभित्र कार्यदल गठन गर्न निर्देशन दिएको थियो। त्यसबाहेक संसदको सार्वजनिक लेखा समितिले समेत पशुपतिनाथमा आर्थिक अनियमितता भएको भन्दै पटक-पटक दिएका सुझाव र निर्देशनसमेत पालना भएको छैन। 'प्रधानमन्त्री र मन्त्रीहरू नै भएपछि नियमै लाग्दैन भनेझैं अदातलको नियमलाई लत्याइएको छ,' श्री पशुपतिनाथ सुव्यवस्था प्रतिष्ठानका महासचिव तथा कोषका पूर्व सदस्यसचिव शिवशरण राजभण्डारीले नागरिकसँग भने, 'यस विषयमा मन्त्री र मन्त्रालयका पदाधिकारीसँग कुरा गर्दा मुन्टोमात्र हल्लाउँछन् तर प्रतिबद्धता कार्यान्वयन गर्दैनन्।'
पशुपतिनाथको पूर्वी ढोका भासिन थालेपछि निरीक्षणका लागि पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले गत साता कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएर फर्किए पनि गठनका लागि कुनै सुरसार छैन। प्रधानमन्त्रीले भत्केको ठाउँ बनाउन निर्देशन दिएको एक सातापछि काम सुरु हुनुको सट्टा संस्कृतिमन्त्री मिनेन्द्र रिजाल पुनः निरीक्षण गर्न पुगे तर काम भएन। त्यसबाहेक कोषका सदस्यसचिव, कोषाध्यक्षलाई कार्यदलबारे जिज्ञासा राख्दा बेखबरझैं गरे। शुक्रबार मन्दिरमा पुगेका मन्त्री रिजाललाई 'कार्यदल कहिले गठन हुन्छ?' भनेर जिज्ञासा राख्दा प्रधानमन्त्रीले नै यो विषयलाई गम्भीरतापूर्वक लिएको र तयारी भैरहेको बताए। तर के-के तयारी भएको हो, खुलाएनन्। 'हामी यो विषयमा गम्भीर छौं,' मन्त्री रिजालले भने, 'ढिलै भएपनि दिर्घकालीन समाधान हुने तरिकाले लागेका छौं, त्यसैले ढिलाइ भएको हो।' तर कोषकै उच्च अधिकारीहरू मन्त्रीको भनाइ हास्यास्पद भएको टिप्पणी गर्छन्। 'एक वर्षसम्म हुनुपर्ने काम सुरु नहुने गम्भीरता कस्तो खालको रहेछ?' कोषका एक उच्च अधिकारीले नागरिकसँग भने।
कोषका पूर्व सदस्यसचिव तथा पशुपतिकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका संस्कृतपदि् डा.गोविन्द टण्डन भट्ट र भण्डारी पुजाआजाको ठेकेदार बनेको टिप्पणी गर्छन्, 'भट्टको ध्यान विशुद्ध पुजाआजामा मात्र जानुपर्ने हो।' तर भट्टभण्डारीले मन्दिरबाट अथाह सम्पत्ति आर्जन गरेपनि पशुपति गरिबीबाट कहिल्यै माथि उठ्न सकेन।' उनका अनुसार विसं १७९२ को ताडपत्रमा पशुपतिका भट्टले दान लिनै नहुने उल्लेख भएपनि यसलाई पालना गर्नुसट्टा उल्टो विशेष पुजाको प्रचलन भिœयाएर सबै भेटीघाटी बटुल्दै आएका छन्। विशेष पुजाको कुनै व्यवस्था नभएपनि आफ्नो आम्दानीको स्रोत बढाउन २०२२ सालमा तत्कालीन भट्ट पद्मनाथ शास्त्रीले विशेष पुजाको प्रचलन भित्र्याएका थिए। 'चढाएको पैसा भट्ट र भण्डारीले लिनुपर्ने, विशेष पुजा गर्नुपर्ने कुनै परम्परा छैन,' संस्कृतिविद् टण्डनले भने, 'यो सबै भट्ट र भण्डारीको कमाउने निहुँमात्र हो।' ऐननियम बनाएर भेटीघाटी पारदर्शी बनाउने काम थालेकै कारण २०५० सालमा आफूलाई तत्कालीन मुलभट्टले सदस्य सचिवबाट राजीनामा दिन बाध्य पारेको उनले सुनाए।
पशुपतिको भेटीघाटीलाई पारदर्शी बनाउने भन्दै माओवादीले आफ्नो सरकारको पालामा केही व्यवस्था थालेको थियो। तर उसको प्रयास भेटीघाटीभन्दा नेपाली पुजारीलाई राष्ट्रियतासँग जोड्नतर्फ केन्द्रित भएपछि उसको प्रयास त्यहीँ तुहिएको थियो। तत्कालीन समयमा ५ दिनसम्म चढाइएको भेटीको दैनिक लगत राख्दा तिथिपर्व नपरेको सो समयमा सुनचाँदीलगायत जिन्सीबाहेक दैनिक ५० हजार जम्मा भएको थियो।
...विशेष पुजाबाहेक पनि बाहिरबाट मन्दिरभित्र फ्याँकिएको र भट्टकै हातमा सुम्पिएको भेटीघाटी सबैभन्दा बढी हुन्छ,' संस्कृतिविद् टण्डनले भने, 'यो सबै हिसाब गर्ने हो भने पशुपतिको भेटीघाटी करोडौं हुन्छ।' उनले राम्रो व्यवस्थापन भए र विशेष पुजा धेरै भए विशेष दिनमै करोड आम्दानी गर्न सकिने बताए। उनका अनुसार पहिलेभन्दा अहिले झनै अपारदर्शीता बढेको छ। पशुपतिको परम्पराअनुसार मन्दिरको जम्मा भएको नगदको सुन किनेर मुल ढुकुटीमा दाखिला गर्ने चलन छ।
कोष भने सरकारकै कारण भेटीघाटीलाई पारदर्शी गराउन नसकिएको बताउँछ। 'भेटीघाटी पारदर्शी गर्ने कार्यदल बनाउने सरकारले हो,' कोषका सदस्यसचिव सुशील नाहटाले भने, 'यस विषयमा छलफल गरिरहेका छौं।' यसअघि संस्कृति मन्त्रालयले संस्कृति सचिवको संयोजकत्वमा अन्य प्रमुख हिन्दु धार्मिक स्थलको अध्ययन गरी त्यसैको आधारमा भट्ट र भण्डारीलाई तलब तोक्न कार्यदल गठन गरेपनि त्यसले समेत केही काम गर्न सकेको छैन। भेटीघाटीबाहेक जग्गा सरकारीअनुदान लगायत आम्दानी कोषसँग रहेको र भेटीघाटीको हिसाबकिताबको अधिकार कोषलाई नभएको कोषाध्यक्ष वैद्यले सुनाए।
source:nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login