'मेरो टाउकोमा अरूको अनावश्यक तस्वीर समावेश गरेर त्यसले व्यक्तित्वमा ठूलो असर पार्यो, नायिका पन्तले भनिन्- 'मैले बन्द गर्नका लागि धेरै ठाउँमा पहल गरेँ, तर त्यसको कसैले वास्ता नै गरेनन्।'
'इन्टरनेटमा पनि महिलालाई नै बढी लक्षित गरेर यस्ता तस्वीरहरू समावेश गरेर चरित्र हत्या गरिन्छ, निकै भावुक हुँदै उनले भनिन्- 'हरेक ठाउँमा महिलालाई मात्र पीडित बनाइन्छ, यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही नगरेसम्म महिला हिंसा रोकिँदैन।'
नायिका गरिमा पन्तलाई मात्र होइन, अर्की चर्चित नायिका करिश्मा मानन्धरको नाममा पनि कसैले फेसबुक चलाएको छ भन्ने कुरा स्वयम् उनलाई अहिलेसम्म जानकारी छैन।
'मेरो नाममा फेसबुक खोलेर चलाउने व्यक्तिले राम्रो नै गरेको होला, तर पछि उसले केही बदमासी गर्ला, यसले मेरो व्यक्तित्वमा ठूलो असर पार्ला कि भन्ने चिन्ता छ, नायिक मानन्धरले भनिन्- 'मेरो नामको फेसबुक कसरी बन्द गर्ने भन्ने विषयमा सदा चिन्तित छु।'
'अरूको नामबाट फेसबुक खोल्ने, अरूको पासवर्ड चोर्नेजस्ता क्रियाकलापहरू पछिल्लो समयमा निकै वृद्धि भइरहेको छ, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन् -'साइबर अपराधसम्बन्धी आफू सचेत रहनुपर्छ, तीन-तीन महिनामा आफ्नो फेसबुक, इमेलको पासवर्ड परिर्वतन गरिरहनुपर्छ जसले गर्दा अरूले पासवर्ड चोर्न पाउँदैनन्।'
'इन्टरनेट प्रयोगकर्ताहरूले आफैँ सचेत भएर काम गर्नुपर्छ, प्रमाणीकरण नियन्त्रणको कार्यालयका नियन्त्रक राजनराज पन्त विद्युतीय कारोबार ऐन २०६३ ले व्यक्तिगत अपहेलना, चरित्रहत्याको बारेमा स्पष्ट नपारेकाले कानुन समय सान्दर्भिक नभएको बताए।
महिलाको विद्युतीय माध्यमबाट भौतिक, शारीरिक, मानसिक यौनिक हिंसा हुने गरेको तर त्यसका लागि विद्युतीय कारोवार ऐनले नसमेटेको अधिवक्ता सविन श्रेष्ठको भनाइ छ।
'इन्टरनेट प्रयोगकर्ताहरूले आफ्नो चरित्रहत्या भएको विषयमा नेपाल प्रहरीमा कमैमात्र उजुरी पर्ने बताउँछन् नेपाल प्रहरीका प्रवक्ता विज्ञानराज शर्मा।
'साइबरजन्य अपराधका घटनाहरूमा प्रहरीमा गएर उजुरी गरेमा त्यसको बारेमा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा तुरुन्त त्यस्ता साइडहरू बन्द गर्न सकिन्छ'- प्रवक्ता शर्माले भने।
प्रमाणीकरण नियन्त्रणको कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा फेसबुक प्रयोगकर्ताहरू लगभग सात लाख रहेका छन्। तीमध्ये सबैभन्दा बढी १८-२४ वर्ष उमेर समूहका करिब ४७ प्रतिशत रहेको छ। त्यसमा महिला ३१ प्रतिशत र पुरुष ६९ प्रतिशत रहेको बताइन्छ।
साइबर अपराधसम्बन्धी विद्युतीय कारोबार ऐन २०६३ ले कुनै पनि व्यक्तिका विद्युतीय सञ्चार माध्यममार्फत अवज्ञा गरेमा, चरित्रहत्या गरेमा, समुदाय-समुदायबीच द्वन्द्व सिर्जना गर्ने खालका समाचारहरू प्रकाशन वा प्रसारण गरेमा पाँच वर्ष जेल वा रु दुई लाख जरिवाना वा दुवै सजाय हुनसक्ने भनी उल्लेख गरिएको छ। रासस
0 commentaires