केपी ढुंगाना, काठमाडौं, मंसिर ३ - कारागारभित्र मोबाइल प्रयोग गरेको अभियोगमा प्रहरीले चार्ल्स शोभराजलाई कारबाहीको सिफारिस गरेको छ।सुरक्षाकर्मीलाई झुक्याएर कारागारभित्र प्रतिबन्धित सामग्री पठाएको अभियोगमा शोभराजकी प्रेमिका निहिता विश्वासलाई पनि कारबाहीको सिफारिस गरिएको छ। आकस्मिक छापा मार्दा कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारको गोलघरमा सजाय काटिरहेका शोभराजको कोठाबाट मोबाइल, सिम कार्ड र आइपड बरामद भएको प्रहरीले जनाएको छ।
कारागार ऐनविरुद्धको उनीहरूको अभियोग पुष्टि भए ६ महिना कैद र दुई सय रुपैयाँ जरिवाना हुनसक्छ।
कारागारभित्र भएका अपराधको अनुसन्धान गर्ने अधिकार सम्बन्धित कारागार प्रमुखलाई रहेकाले महानगरीय प्रहरी परिसरले बरामद सामग्रीसहित बिहीबार केन्द्रीय कारागारलाई पत्र पठाएको छ।
शोभराजले कारागारभित्र मोबाइल प्रयोग गर्ने गरेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले कात्तिक १७ गते गोलघरमा छापा मारेको थियो। प्रहरीको टोली पुगेलगत्तै शोभराजले एनसेलको एउटा सिम चपाएका थिए भने उनको ओच्छ्यानमुनिबाट प्रहरीले एउटा सिम बरामद गरेको थियो। शोभराजले ओच्छ्यानमुनि लुकाएर राखेको सामसुङ मोबाइल दुई वटा, आइपड, मेमोरी कार्ड, कार्ड रिडर, हेयरफोन र चार्जर बरामद भएको छापामा संलग्न एक प्रहरी अधिकारीले बताए।
कारागारभित्र बरामद सामग्रीको आधारमा दोषी देखिएका व्यक्तिहरूलाई कानुनी कारबाही गराउन कारागार प्रशासनलाई जिम्मा दिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख राजेन्द्रसिंह भन्डारीले बताए।
'कारागार सुरक्षामा गम्भीर त्रुटी देखिएको छ,' भन्डारीले नागरिकसँग भने, 'बरामद सामग्रीको आधारमा बन्दीमाथि कारबाही गर्ने नगरिएकाले कानुन अनुसार शोभराजमाथि कारबाही होस भनेर कारागार प्रशासनमा पठाएका हौं।' शोभराजको कोठाबाट अन्य महत्वपूर्ण सामग्रीसमेत बरामद भएको र त्यसबारे ब्युरोले अनुसन्धान गरिरहेको उनले बताए।
source:-nagriknews










0 commentaires