अग्लिइन् अनुराधा


अमेरिकाको लसएन्जलसस्थित स्रान अडिटोरियम हल हलिउडका महँगा र चर्चित कलाकारसहित पाँच हजार अतिथिले भरिएको छ । त्यहाँ सीएनएनले हरेक वर्ष नोभेम्बरमा मनाइने थ्याङ्क्स गिभिङ डे चाडलाई साइत पारेर सीएनएन हिरो २०१० घोषणा गरिँदै छ । सात समुद्रपारिका देशमा भइरहेको यो उत्सव हामी पनि बडो उत्सुकतासाथ घरभित्रैको काँचको पर्दामा हेरिरहेका छौं । यसैबीच विश्वप्रख्यात पुरस्कारहरू वितरण गरिने यो हलको मञ्चमा देखा पर्छन् सीएनएनका सेलिब्रेटी पत्रकार एन्डरसन कुपर । सीएनएन वर्ष हिरो घोषणाका लागि मञ्चमा देखिएका यी सेलिब्रेटीले जब नेपाली समाजसेवी अनुराधा कोइरालाको नाम घोषणा गर्छन् हलमा उपस्थित धेरैका आँखा खुसीले रसाउँछन् । अनुराधालाई साथ दिँदै हलको अग्रपंक्तिमा उभिएका धेरै अमेरिकीलगायतका सहभागीले आँसु झारेको भावुक दृश्य देखिन्छ । समारोहमा जब ढाकाटोपी र दौरासुरुवालमा ठाँटिएका नेपाली विद्यार्थी अनुराधाको अँगालोमा बेरिन पुग्छन्, माहोल झनै भावनात्मक र हर्षविभोर बनिदिन्छ । त्यसै बखत कोइरालासम्बद्ध माइती नेपालका निर्देशक विश्व खड्का मञ्चमा उक्लेर उनलाई बुद्धको आकृति भएको खादा ओडाइदिन्छन् र मखमली रातो टीका, सुतीको चोली र सारीमा सजिएकी अनुराधाको हात उचाल्दै जितको खुसी प्रकट गर्छन् ।
यसरी अमेरिकी सहरको एउटा हलमा केही थान नेपालीहरू खुसी साटासाट गर्दैगर्दा निमेषभरमै फैलिएको यो खबरले नेपाल र विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली जुरुक्कै उचालिए । प्रख्यात टेलिभिजन च्यानलले दिएको यो उपाधिप्रति सबैले गौरव महसुस गरे । सीएनएन, बीबीसीजस्ता ख्याति आर्जेका अन्तर्राष्ट्रिय सूचनामूलक टेलिभिजनको प्राथमिकतामा आक्कलझुक्कल पर्ने सगरमाथाको देश अनुराधाको उपाधिपछि फेरि एकपटक खबरको सूचीमा शिखरमा देखियो । अस्थिर राजनीति र दर्जनौंपटक प्रधानमन्त्री निर्वाचन गर्न नसकेको देश एकचोटि एउटी निःस्वार्थ समाजसेवीका कारण प्रचारित भयो । कतिसम्म भने उनको यो जितले समाजसेवा र चेलीबेटीविरुद्धको अभिायनमा थप थुप्रै सहयोगी हात त पाएकी छन् नै, सँगै धेरै अमेरिकी सेलिब्रेटीहरूले समेत उनको अभियानमा ऐक्यबद्धता जनाउँदै साथ दिने बताएका छन् । 
हाल लसएन्जलसको टी डब्लु मेरिट होटलमा बसिरहेकी अनुराधालाई विजेता भएको भोलिपल्ट मैले सोधें, तपाईंलाई सीएनएन पुरस्कारको उपाधि दिलाउन कसको योगदान बढी छ  भन्ने लाग्छ ? टेलिफोनमा उनले जबाफ फर्काइन्, नेपाली मिडिया र चेलिबेटी बेचबिखनविरुद्ध माइती नेपालले थालेको अभियानका शुभेच्छुकको । ७ महिनाअघि थालिएको सीएनएन हिरोको चौथो संस्करण २५ जनाबाट जब उनलाई निणर्ायकले उत्कृष्ट १० मा पुर्‍यायो, त्यसपछि प्रायः सबै टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइनले भोट बढाउन महत्त्वपूर्ण प्रचार गरिदिए । उनले थपिन्, फेसबुक पनि मेरा लागि निकै सहयोगी भयो । सीएनएनका अनुसार २ महिनाअघि खुला गरिएको यस अभियानमा विश्वभरबाट २० लाखा हाराहारी भोट परेका थिए । दसवटा समाजसेवीमध्ये अनुराधाको पोल्टोमा बढी भोट पर्‍यो । सीएनएनले हिरोका लागि आह्वान गर्दा फेसबुकमार्फत उनको नाम अमेरिकाको टेक्सासमा अध्यनरत पोखराकी विद्यार्थी निशा प्रधान र काठमाडौंका सम्राट शाहले सिफारिस गरिदिएका थिए जुन कुरा उनले केही ढिलो गरी थाहा पाइन् । कोइरालालाई दिइएको मेडलमा सीएनएनले निशाको नाम सिफारिसकर्ताका रूपमा उल्लेखसमेत गरेको छ । सीएनएनले पुरस्कृत गर्न थालेयता मनोनयन र पुरस्कृत हुने अनुराधा नै पहिलो नेपाली हुन् ।
०२७ सालदेखि निजी बोर्डिङ स्कुलमा अंग्रेजी र सामाजिक शिक्षिकाका रूपमा काम गर्न थालेकी उनले ०५० सालदेखि समाजसेवा थालेकी थिइन् । उनका अनुसार त्यसताका पशुपतिमा भिख माग्ने ८ जना महिलालाई आयमूलक काममा लगाउन नाङ्लो व्यापारमा आबद्ध गराएकी थिइन् । सिन्धुपाल्चोकको मेलम्चीबाट भारतको मुम्बईमा मामाद्वारा बेचिएकी गीता सुनारको मुद्दा उनले हेरेको पहिलो मुद्दा थियो । कोठीमै एचआईभीबाट संक्रमणमा परेकी गीतालाई बिक्री गर्ने उनका मामा जामबहादुर र मुम्बइमा कोठी चलाउँदै आएकी सिन्धुपाल्चोककै सिम्ला तामाङलाई प्रहरी सहयोगमा कारबाही थालिएको थियो । पीडित गीता यतिबेला संसारबाट बिदा भइसकिन् भने जामबहादुर र सिम्ला यतिबेला कारागारमा सजाय भौग्दै छन् । त्यसै बेलादेखि माइती नेपाल दर्ता गरी बेचिएका, घरेलु हिंसामा पीडित भएका महिलाका पक्षमा उनी काम गर्दै आएकी हुन् । ०५१ सालतिर जब उनको संस्थाले सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, नवलपरासी, उदयपुरमा चेतनामूलक अभियान थाल्यो, त्यसपछि सर्वसाधारणले चेलिबेटी बेचिए गुहार्ने ठाउँ पुलिस चौकीजस्तै माइती नेपाल पनि हो भन्ने बुझे । सुरुका दिनमा स्कुलबाट पाइने तलबबाट समाजसेवा गर्थिन् उनी । पछि युनिसेफले सहयोग गर्न थाल्यो । सुरुमा उनलाई युनिसेफले बालबालिकाका लागि ३ लाख रुपैयाँ सहयोग गरेको थियो । 
सानो आर्थिक सहयोगबाट सुरु भएको माइती नेपाललाई यतिबेला दातृनिकायहरूले करिब वाषिर्क ८ करोड सहयोग दिन्छन् । यो रकम चेलिबेटी बेचबिखन, एचआईभी, अनाथ द्वन्द्वपीडित, बालबालिका, घरेलु हिंसापीडितका लागि खर्च हुन्छ । गौशालमा रहेको माइती नेपाल १० रोपनीमा फैलिएको छ । यहाँ  ६ वटा भवन छन् जहाँ स्कुल, क्लिनिक, पुनस्र्थापनागृह र कानुनी परामर्श केन्द्र छन् । टेरेजा एकेडेमी नाम दिइएको स्कुलमा यौनदुव्र्यवहार र द्वन्द्वमा परेका करिब ४ सय बढी विद्यार्थी निःशुल्क पढाइन्छन् । त्यस्तै काठमाडौंकै गोकर्णमा ७० शय्याको अस्पताल छ । त्यहाँ एचआईभी संक्रमित महिला र बालबालिका बस्दै आएका छन् । ३५ सय भाडा तिरेर २ वटा कोठाबाट सुरु भएको माइती नेपालसँग यतिबेला २९ वटा जिल्लामा फैलिएको छ । माइती नेपालसँग ४० करोड रुपैयाँ बढीको सम्पत्ति छ । देशभर यसका २ सय बढी कर्मचारी छन् । यस संस्थाको दबाबमा चेलिबेटी बिक्री गर्ने ४ सय ७५ दलाल हाल देशभरका कारागारमा छन् । तीमध्ये करिब ढेड सय महिला छन् । ओखलढुंगाको रुम्जाटारमा गुरुङ परिवारमा जन्मिएकी अनुराधाले दार्जिलिङको सेन्ट जोसेफ स्कुलबाट १० कक्षा पढेर भारतकै कोलकाताबाट बीए उत्तीर्ण गरेकी उनी १९ वर्षे किशोर उमेरमा काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् तर विगत १७ वर्षदेखि उनी एक्लो छोरासँग अलग्गै बसेकी छन् । एक्लै र निरन्तर सहयोगी भावका साथ अघि बढ्दा उनले एउटा उल्लेखनीय सफलता हासिल गरेर उनी बधाईकी पात्र भएकी छन् ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login