३ खर्ब ३८ अर्बको बजेट


काठमाडौ, मंसिर ३ - बजेट ल्याउन भएको ढिलाइका कारण 'मुलुकले चुकाएको मूल्य' समेत प्रतिविम्बित हुनेगरी अर्थमन्त्री सुरेन्द्र पाण्डेले करिब ३ खर्ब ३८ अर्ब हाराहारीको बजेट तयार गरेका छन् ।
स्रोतका अनुसार पुरानै बजेटको तल्लो वर्गलाई छुने खालका केही योजनालाई विस्तार गरेर सामाजिक सुरक्षामा राज्यको उपस्थिति बढाउने कार्यक्रम पनि बजेटमा प्रस्ताव गरिएको छ ।
चालू आर्थिक वर्षका लागि असारमा ३ खर्ब ४५ अर्बको तयार भए पनि यस अवधिमा पुरानै दरको राजस्व असुलीका कारण गुमेको करिब ५/६ अर्ब रुपैयाँ घटाउनु परेको हो । करिब २ सय १५ अर्ब राजस्व असुलीको लक्ष्य बजेटको छ । असारमा २ सय २२ अर्ब राजस्व लक्ष्य तोकिएको थियो ।
बजेटले वैदेशिक ऋण र अनुदान गरी करिब एक अर्ब प्राप्त हुने अनुमान गरेको छ । ढिलो बजेटका कारण सरकारी खर्च हुन नसकी तरलता अभाव बढिरहेकाले गत वर्षझैं यसपाला पनि आन्तरिक ऋण भने कम उठाउने योजना बजेटले प्रस्तुत गरेको छ । 'गत वर्षकै हाराहारीमा मात्र आन्तरिक ऋण उठाइनेछ,' उनले भने । गत वर्ष करिब ६ अर्बको ओभर ड्राफ्टसमेत २८ अर्ब आन्तरिक ऋण लिएको थियो । ढिलाइले आर्थिक वृद्धिदर पनि ४ दशमलव ५ प्रतिशतमा झरेको छ । यसअघि करिब ५ प्रतिशतको अनुमान थियो । मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित गर्ने प्रक्षेपण बजेटले गरेको छ ।
निर्यात संकुचन र आयात वृद्धिका कारण भइरहेको व्यापार घाटा कम गर्न निर्यातकर्तालाई नगदै सहुलियत दिने प्रस्ताव गरिएको छ । 'निश्चित परिमाणभन्दा बढी निकासी गर्ने निर्यातकर्तालाई निकासी रकमको २ देखि ४ प्रतिशत नगद नै सरकारले फिर्ता दिने योजना छ,' स्रोतले भन्यो । यसबाट निरन्तर घाटामा गइरहेको सोधनान्तर स्थिति चालू आर्थिक वर्षमा ९ अर्बले बचतमा रहने अनुमान छ । यसबाहेक औद्योगिक सुरक्षाका लागि ५ सयभन्दा बढीलाई रोजगारी दिने उद्योगमा प्रहरी बिट राख्ने प्रस्ताव छ ।
श्रमिक समस्या समाधान गर्न बृहत् सामाजिक सुरक्षा अवधारणालाई अघि बढाउने प्रस्ताव बजेटको छ । नियमित तलब लिनेबाट लिइन थालेको १ प्रतिशत करबाट उठ्ने रकमलाई राजस्वको बेग्लै शीर्षकमा राखेर त्यसको व्यवस्थापन गर्ने अलग्गै निकाय खडा गर्ने योजना छ । कर तिर्ने करिब २० लाखलाई परिचयपत्र दिने र त्यो रकमबाट कार्यस्थलमा हुने जोखिम बिमा, महिलालाई प्रसूतिकालीन भत्ता र कसैले जागिर गुमायो भने निश्चित अवधिलाई बेरोजगार भत्ता दिने प्रस्ताव यसको छ ।
यसपाला पनि शिक्षामा उच्च प्राथमिकता छ । गत वर्षभन्दा झन्डै २५ प्रतिशतले रकम थप
गरी करिब ५७ अर्ब विनियोजन गरिएको छ ।
विद्यालयमा भर्ना प्रोत्साहित गर्न छात्रा, दलित र अति सीमान्तकृत बालबालिकालाई नगद छात्रवृत्ति दिने प्रस्ताव छ । सार्वजनिक विद्यालयमा भर्ना हुने सबैलाई दिने तयारी गरे पनि सत्तारूढ र अन्य दलको सुझावमा यसलाई घटाइएको हो ।
पर्यटन वर्ष २०११ बजेटको प्राथमिकतामा छ । जनकपुर, लुम्बिनी र काठमाडौंमा पाँचतारे होटल खोल्नेलाई निश्चित समय कर छुट सुविधासहित पर्यटन प्रवर्द्धनका लागि विदेशी सञ्चारमाध्यममा गरिने विज्ञापन खर्च सरकारले बेहोर्ने छ । त्यसैगरी सय पर्यटक हवाईमार्गबाट ल्याई सभा सेमिनार गर्नेलाई एकमुष्ट ५ लाख रुपैयाँ दिने प्रस्ताव छ ।
राजधानीको ट्राफिक व्यवस्थित गर्न र आधुनिक सहरका रूपमा विकास गर्न मेट्रो विभाग स्थापनाको परिकल्पना गरेको छ । विभागले पूर्व-पश्चिम राजमार्ग र पोखरा-काठमाडौंलाई रेल सञ्जालनमा आबद्ध गराउने काम गर्नेछ ।
मध्यपहाडी लोकमार्ग, तराई जोड्ने फास्ट ट्र्याक, सिक्टा सिँचाइ योजनालगायत अर्थमन्त्रीले निकै महत्त्वसाथ उठाउँदै आएका पूर्वाधारका केही आयोजनाले बढी रकम पाएका छन् । मध्यपहाडी लोकमार्गका २० स्थानमा सहर विस्तारको आकांक्षी योजना छ ।
पहिलो प्राथमिकताका योजनालाई ८५, दोस्रो प्राथमिकताकालाई १३ र तेस्रो प्राथमिकताका योजनालाई २ प्रतिशत बजेट छुट्याइएको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार संसद्को अर्थ तथा श्रमसम्बन्धी समितिमा बताएका थिए । बजेटको ४७ प्रतिशत रकम गरिबी न्यूनीकरणमा केन्दि्रत भएको उनको भनाइ थियो ।
लोडसेडिङ सम्बोधन गर्ने योजना नभए पनि ग्रामीण विद्युतीकरणमा बजेटले ध्यान दिएको छ । करिब हजार गाविसमा १ सय ५० किलोवाटसम्मका लघु जलविद्युत् आयोजना बनाउन बजेट विनियोजन गरिएको छ ।
बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभिन प्रोत्साहित गर्न २/३ वर्ष अवधिको समय दिएर कर सहुलियत प्रस्ताव पनि बजेटले गरेको एक अधिकारीले जनाए । उनका अनुसार व्यावसायिक कृषि प्रोत्साहित गर्ने विशेष कार्यक्रम पनि बजेटमा छ ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login