काठमाडौ, मंसिर ५ -रोजगारीको सिलसिलामा कतारको दोहामा बस्दाका समय रचना गरिएका गीतहरूमा संगीत भरेर गीतकार धर्मेन्द्र खड्काले आफ्नो पहिलो एल्बम 'उद्गार' शनिबारदेखि बजारमा ल्याएका छन् ।
मनका भाव भनिएका उनका गीतहरूको एल्बमलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले लोकार्पण गरेका हुन् । 'उद्गार' विमोचनपछि झापाली गीतकार खड्काले परदेशमा बस्दाका भोगाइ र स्वदेशमै क्याम्पस पढ्दाको भोगाइको टिपोटलाई नै गीतमा उनले भावना पोखे । 'त्यो भोगाइ के थियो, कसरी लेखें भन्ने सबै मेरै गीतका शब्दले बताउँछन् भन्ने लाग्छ,' उनले भने ।
कुलपति काइँलाले खड्काको लेखन क्षमताको तारिफ गर्दै साहित्य सृजना गर्ने भनेकै युवा उमेरमा भएकाले दत्तचित्त भएर लाग्न सुझाव दिए । श्रीराज प्रोडक्सनले बजारमा ल्याएको 'उद्गार' लाई गीतकार रमण घिमिरेले गीत, संगीत र गायनको हिसाबले 'सशक्त' भनी टिप्पणी गरे । उनले संगीतमा एल्बमले नयाँपन दिएको खुलाउँदै गीतमा भने साहित्यिक व्याकरणमा केही त्रुटि रहेको औंल्याए । एल्बमको गीतमा समेत स्वर दिएका गायक रामकृष्ण ढकाललेे मधुर संगीतमा यति राम्रो गीत गाउन पाएकोमा आफूलाई भाग्यमानी सम्झे । विमोचन कार्यक्रममा आफ्नो गीतको मुखडासमेत गाएका ढकालले संगीतको पाईरेसी बढिरहेको अवस्थामा पनि गीतकारले सुगम संगीतमा एल्बम निकाल्नु प्रशंसनीय भएको बताए ।
११ गीत समावेश एल्बममा 'उद्घोषण...,' 'रुँदै छु म तिमीलाई सम्झी...,' 'यो छातीमा...,' 'क्षितिजभन्दा...,' 'तिमी भयौ परदेशी...', 'मृत्युको काखमा...', 'यही गीत हो व्यथा...,' 'फूलजस्तै फुलिरहनु...,' 'धरधरी आँसु...,' 'थोपाथोपा आँसु...' र 'माया यो कस्तो...' वियोगात्मक शैलीका गीतहरू समावेश छन् ।
एल्बममा गायक ढकाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, जगदीश समाल, शिव परियार, गोकुल खड्का, सन्तोष लामा र दीपक लिम्बूका साथमा गायिका इन्दिरा जोशीले स्वर दिएका छन् भने संगीत विनय बर्मा, सत्यराज, अर्जुन नेपाली, गोकुल खड्का, राजु सिंह, देवु-सञ्जीव र डेनी निरौलाले गरेका हुन् ।
एल्बमको बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम झापाको धुलाबारी क्याम्पसको शैक्षिक विकासका लागि सहयोग गरिने जनाइएको छ ।
source:-kantipur










0 commentaires