अर्जै (गुल्मी), मंसिर ११ -
कृषि प्रविधिबाटै आम्दानी बढाउने र गाउँ आत्मनिर्भर बनाउने उद्देश्यका साथ राजनीतिक नेता सक्रिय भएपछि यहाँको अर्जै गाउँ परिवर्तन भएको छ । प्रायः बाहिरबाट तरकारी किनेर खाने गाउँका सबै घरहरुबाट अहिले तरकारी बाहिरका गाउँमा विक्रीका लागि जान थालेको छ ।
एमाले जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख रहेका स्थानीय शेषकान्त गौतमले कृषिबाटै गाउँको परिवर्तन सुरु गरेका हुन् । गौतमले शुरुमा आफ्नै बारीमा तरकारी खेती लगाएर २ वर्ष अगाडी कृषि अभियान चलाएका थिए । उनको बारीमा अहिले मुला, सिमी, साग, लगायतका तरकारी फलेका छन् । त्यस्तै कफिका लागि जिल्लामै उत्कृष्ट नर्सरी संचालन गरेका छन् भने परिक्षणका लागि नमुना धान, गहुँ लगायतका बालीको परिक्षण समेत गर्ने गरेका छन् ।
'यो वर्ष तरकारीबाट मात्र ५० देखि ८० हजार आम्दानी हुन्छ', गौतमले भने, 'मेरो आपmनो कमाई भन्दा पनि गाउँका अन्य किसानको आम्दानी बढोस र गाउँ आत्मनिर्भर बन्न सकोस भन्ने उद्देश्य हो ।' गौतमको सिको गर्दै अहिले ५० भन्दा बढी घर परिवार व्यवसायीक तरकारी र उन्नत खेती प्रविधिमा लागेका छन् । गाउँका अधिकांश घरमा अहिले बन्दा, काउली, सिमी, साग, लसुन, आलु, केराउ लगायतका तरकारी फलेका छन् ।
गाउँलेकै प्रयासमा कृषि र जिविसले बनाइदिएको पानी घैंटोले पनि गाउँलेलाई अझै मद्धत पुर्याएको छ । तरकारी खेतीकै लागि गाउँलेहरुले झण्डै १ लाखको लागतमा ४० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरेका छन् ।
'ट्याङ्की बनेपछि धेरै घर परिवारले सोही पानी प्रयोग गरेर राम्रो आम्दानी गरिरहेका छन्', स्थानीय कृषक गोपाल गौतमले भने, 'तरकारी खेती गर्नेहरुको १० देखि १५ हजार नियमित आम्दानी भैरहेको छ ।'
गाउँमा सबैका घर घरमा तरकारी फल्न थालेपछि बाँडीचुँडी खाने प्रचालन समेत हटेको छ । 'पहिला पहिला एक अर्काको घरमा फलेको बस्तु बाँडेर खाने चलन थियो', गौतमले भने, 'अहिले त्यो सबै हटेर खरिद विक्रि नै बढेको छ ।'
आम्दानी हुने देखेपछि विदेश पुगेका गाउँका युवाहरु समेत स्वदेश फर्केपछि तरकारी खेतीमै लागेका छन् । इराक पुगेर फर्केका गाउँकै कृष्णबहादुर विष्टले विदेशमा गएर गर्ने दुःख स्वदेशमै गर्दा पनि राम्रो आम्दानी भएको बताए । उनी गाउँमा युवाहरुको अगुवा बनेका छन् ।
गाउँको कृषि अभियानको नेतृत्व गरिरहेका गौतमले भने अझै पनि धेरै कृषक व्यवसायीक बन्न नसकेको बताए । 'गाउँका कतिपय कृषक अझै पनि परम्परागत खेतीमै छन्', गौतमले भने, 'उनीहरुको खेती प्रविधि सुधारका लागि समेत हामी लागेका छौं ।'
जिल्लामा राजनीतिसंगै गाउँमा बसेर कृषि अभियान चलाउने भने गौतम मात्र होइन्न । एमालेकै पुर्व सचिव कमल श्रेष्ठले जिल्ला भर नै कृषि क्रान्तिको अभियान ल्याएका छन् । थानपतीमा बसेर कृषि अभियान शुरु गरेका श्रेष्ठको अभियान अहिले जिल्लाका दुई दर्जन भन्दा बढी गाविसमा पुगेको छ ।
दुध उत्पादन नै नहुने जिल्लामा अहिले उनले दैनिक १ हजार ५ सय भन्दा बढी दुध उत्पादन गराएका छन् । श्रेष्ठको अभियानलाई साथ दिंदै माओवादीका सचिवालय सदस्य भुपाल पोखरेल पनि कृषिमै लागेका छन् ।
'राजनीतिले मात्र केही हुँदैन', पोखरेलले भने, 'राजनीतिसंगै किसानको जिवनस्तर पनि परिवर्तन गर्न सकियो भने मात्र विकास सम्भव हुन्छ ।'
राजनीतिको विकासका लागि किसानको पनि उन्नती आवश्यक रहेकाले आफु कृषि अभियानमा लागेको पोखरेलले बताए । त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं युवा दामोदर भुसाल पनि गाउँमा युवाहरु संगठीत गरेर कृषि अभियानमा लागेका छन् ।
राजनीतिक नेतृत्वको सक्रियताले जिल्लाका धेरै गाउँमा व्यवसायीक कृषि अभियान चलेको कृषि विकास कार्यालयका प्रमुख नरहरी घिमिरेले बताए ।
source:-ekantipur










0 commentaires