इटहरी, असार २५- नेपाली चलचित्रको प्रतिलिपी विक्री गर्ने इटहरीका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लक्ष्मी भिडियो सेन्टरका अजय गुप्ता, मामा भेडियो सन्टेरका मुरारी नेपाल, सोनीका विष्णु चौधरी, स्टारका गौतम लेप्चा, प्रकृतिका राजकुमार नेपाल र इटहरी भिडियो सेन्टरका राजु श्रेष्ठलाई पक्राउ गरेको हो। भिडियो पसलबाट प्रहरीले छापा मार्दा नेपाली चलचित्रका ५ सय भन्दा बढी सिडी बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। भिडियो पसलबाट एउटा सिडी १ सय देखि दुई सय रुपैयाँसम्म विक्री गर्ने गरेको अनुगमनको क्रममा भेटिएको छ। प्रहरीले म्युजिक कम्पनीका प्रतिनिधीहरुको सहयोगमा अनुगमन गर्ने क्रममा चलचित्रको प्रतिलिपी विक्री गर्नेलाई पक्राउ गरेको हो। पक्राउ गरेका सवैलाई कारबाही गर्न शुक्रबार म्याद थपिएको छ। प्रहरी निरीक्षक महेन्द्र श्रेष्ठका अनुसार सवैलाई प्रतिलिपी ऐन २०५९ अनुसार कारबाही गरिनेछ। म्युजिक कम्पनीका प्रोपाइटर दिपु बस्नेतका अनुसार पूर्वका बजारमा सवैभन्दा बढी खुलामखुल्ला चलचिलत्रको प्रतिलिपी इटहरीमा विक्री गर्ने गरेको पाइएको छ। इटहरीका भिडियो पसलमा बढी मात्रमा नेपाली चलचित्र पलपल, परी, जय शिव शंकर, दाग, बन्धकी, दानबीर, देवरवाबु, हलचल, जिन्दगानी लगायतका प्रतिलिपी विक्री गरेको भेटिएको छ। पूर्वको विर्तामोड र धुलाबारी क्षेत्रमा पनि चलचित्रका प्रतिलिपी विक्री गर्ने गरेको जानकारी दिइयो। यसैगरी, प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक पुरुषलाई शुक्रबार पक्राउ गरेको छ। प्रहरीले इटहरी-४ का ४० बर्षीय कमलराज खड्कालाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक बोत्तल कोरेक्स, नाइट्रोजन ट्याब्लेट, एभील, डाइजापाम लगायतका लागुऔषध फेला पारेको छ।
नागरिक


0 commentaires