२३ जेठ, चितवन । चितवनको खैरहनीमा आज बिहान मालबाहक ट्रक र माइक्रोबस आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
अन्य १५ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा जिल्लाको खैरहनी- २ का ३६ वर्षीय बस चालक राजकुमार चौधरी र कठार-१ का ५५ वर्षीय कालीबहादुर प्रजा छन् ।
घाइतेहरुको चितवनका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बा२ख १५ नम्बरको मिनिबस र नारायणगढबाट हेटौंडा जाँदै गरेको ना२ख ३४३८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उता तनहुँको घाँसीकुवा गाविसमा आज बिहान दुई वटा बस आपसमा ठोक्किँदा सात घाइते भएका छन् ।
घाइतेमध्ये चारको अवस्था गम्भीर छ । ना३ख ६०५७ र ना४ख २८६१ नम्बरको बस आपसमा ठोक्किएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको पोखरा र अन्यको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
0 commentaires