४ बर्षअघि चौथो अङ्ग थिइन् उनी, अहिलेचाँही तेस्रो अङ्ग । भन्दै थिइन्- बढुवा पो भयो । संविधान सभाकी तनुवा अर्थात् समानुपातिकतर्फकी सभाषद । त्यसअघि उनी पनि खबरे नै थिइन् । ‘धेरै बर्ष पत्रकारीता गरियो’, उनले भनिन् । पत्रकारीतासँगै उनी बालबिकास केन्द्रमा शिक्षिका थिइन् । मोरङको पोखरीया ४ की आशाकुमारी सरदारले एउटा बिद्यालयमा समेत पढाइन् । आफ्नै गाउँमा शिक्षाको ज्योति छर्नुपर्छ भनेर बालबिकासमा पढाउन थालेको कुरा उनले सुनाइन् । अबचाँही उनलाई सभाषद् भन्छन रे । ‘पहिले पत्रकारजी भन्नेहरु अहिले सभाषद्ज्यू भन्छन्’ – आशा खुल्दै थिइन, ‘त्यस बेला पनि जनताका सबालहरु लेख्थें, अहिले जनताका कुरा संविधानमा लेखाउँछु ।’ सभाषद् हुनुअघि उनी बिराटनगरबाट जनतापथ साप्ताहिकका लागि समाचार लेख्थिन् । ‘गाउँमा पढेलेखेका थिएनन, ५३ सालमा एसएलसी गर्दा म गाउँको एक्ली महिला थिएँ’, आदिवासी दलित समुदायमा महिलाहरूमाथि गरिने भेदभावको खुलासा थियो यो । ‘लिभिङ स्ट्याण्डर्डमा परिवर्तन आएको छ, पहिले सामान्य थियो, अहिले खान लाउन पुगेर पनि हल्का उब्रिन्छ’- सभाषद आशाले भन्दै थिइन्, ‘काठमाण्डौको बसाई छ, पैसा जति नै भए पनि कहाँ पुग्छ र ?’ संविधान सभाको नागरिक सम्बन्ध समितिकी सदस्य तथा व्यवस्थापिका संसद महिला बालबालिका समितिकी सदस्य र फोरम लोकतान्त्रिककी उनी केन्द्रीय सदस्य हुन् उनी। सभाषद भएपछि घुम्ने मौका पनि पाइछन्, ‘फिलिपिन्स गाकी थिएँ’, भनिन्, ‘अहिले संविधान निर्माणका बारेमा जानकारी दिन गाउँ घुम्दैछु ।’ श्रीमान जगत मण्डल र २ छोरीसँगै घट्टेकुलोमा अस्थायी कटेरो छ रे । ‘समस्या भएकै कारण स्कुटर लिएकी छु’, भनिन् उनले । फोरम आन्दोलनताका गाउँकी अग्रणी महिला भएको नाताले सकृय सहभागी भइन्, अनि सभाषदको जागीर खाइन रे । ‘यो त जागीरै त हो नि, जनताको काम गर्ने’, भनिन्, ‘अब यो सकिएपछि त पोल्टीक्स नै त गर्नु पर्ला नि ।’ आशा, अब सभाषदको जागिर सकिएपछि फेरि पढाउँदिनन्, भन्छिन् – ‘ठूलो कुर्सीमा बसेर फेरि सानोमा झर्न त मिलेन नि ।’ युवराज
purbelitimes
0 commentaires