तीन प्रहरी घाइते, ७ जना प्रहरीको नियन्त्रणमा
काभ्रे, २९ जेठ : ढुंगा लिन मल्पीतर्फ जाँदै गरेको टिपर तथा अन्य सवारीसाधनसँग पैसा मागेर तोडफोड गरेको विषयमा विवाद हुँदा आज दिउँसो इलाका प्रहरी कार्यालय बनेपामा झडप भएको छ । टिपर र अन्य सवारीसाधान तोडफोड गर्ने पनौतीको मल्पीका स्थानीयबासी र प्रहरीबीच झडप हुँदा तीन प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार ढुंगा लिन मल्पी जाँदै गरेको टिपर र अन्य सवारीसाधनले पैसा नदिएको भन्दै मल्पी व्वाइज क्लबमा आवद्ध स्थानीयबासीले दुईवटा टिपर र दुईवटा निशान गाडी तोडफोड गरेका थिए ।
उनीहरुले इलाका प्रहरी कार्यालय पनौतीको भ्यानसमेत तोडफोड गरेका थिए । मल्पीबासीले शनिबार बा १ क ६९१२ र बा १ख ७५८० नंवरको टिपर तोडफोड गरी सडकमा खाल्डा खनेर टिपर लैजान दिएका छैनन् । टिपर तोडफोड गर्ने क्रममा टिपर चालकको हात भाँचिनुका साथै साथमा रहेका २० हजार नगद र सुनको सिक्री समेत लुटिएको थियो ।
सोही विषयलाई लिएर आज इलाका प्रहरी कार्यालय बनेपामा छलफल आयोजना गरिएको थियो । छलफलको क्रममा विवाद बढ्दै गएपछि मल्पीबासीले प्रहरी कार्यालयमा आक्रमण गरेका थिए । उनीहरुको आक्रमणबाट इप्रका बनेपाको दुईवटा झ्यालका शिसासमेत फुटेका छन् । प्रहरीले ७ जना आक्रमणकारीलाई नियन्त्रणमा लिएको बताइएको छ । घटनापछि आज मल्पी एरियामा ढुंगा लिन जाने सबै टिपर वन्द भएका छन् ।
मेचीकाली
0 commentaires