१० असार, भक्तपुर । एसओएस बालग्राम नेपालले सन् २०१६ सम्ममा नेपालमा १२ वटा एसओएस बालग्राम पुर्याउने भएको छ ।
पच्चिसौं अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसरमा एसओएस बालग्राम नेपाल सानोथिमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बालग्रामका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्गले बालग्रामको वृद्धि गर्दै लैजाने बताउनुभयो । दैवीप्रकोपमा परेका, गरिबी र विविध कारणले परिवार गुमाएका र विभिन्न कारणले जोखिममा परेका बालबालिकाको लालनपालनको सङ्ख्या पनि वृद्धि गर्दै लैजाने उहाँले बताउनुभयो ।
नेपालमा हाल नौवटा एसओएस बालग्राम, आठवटा हर्मन माइनर विद्यालय, आठवटा युवा ग्राम, आठवटा सामाजिक केन्द्र, तीनवटा तालिम केन्द्र, एकवटा स्वास्थ्य केन्द्र रहेको छ । सन् १९७२ मा जोखिममा परेका बालबालिकालाई लालनपालन गरी पारिवारिक वातावरण दिन हर्मन माइनरले नेपालमा पहिलोपटक बालग्राम स्थापना गरेका हुन् ।
नेपालमा हाल २९ वटा एसओएस परियोजनाबाट नौवटा बालग्राममा जोखिममा परेका २२ हजार बालबालिकालाई सेवा दिइरहेको बताउँदै प्रधानाङ्गले आठवटा युवा ग्रामबाट १६ वर्ष माथिका एक हजार ७०० युवालाई सेवा दिइरहेको र उनीहरुमध्ये समाजमा पुनःस्थापना हुन तयार भइरहेको जानकारी दिनुभयो । बालग्रामबाट अहिलेसम्म ९७७ जना युवा पुनःस्थापना भएकोमा ३०० जना युवा वैदेशिक रोजगारीमा गएको कार्यक्रममा जानकारी दिइयो । त्यसैगरी बालग्रामले गरिब तथा दीन दुःखीमा परेका परिवारको पाँच हजार बालबालिकालाई अध्ययन गराएको र त्यस्ता परिवारलाई सीपमूलक तालिम दिएर व्यावसायिक बनाएको छ ।
एसओएस बालग्रामका बालबालिकाले इटालीमा जोखिममा रहेका परिवारका लागि ४०० वटा घर बनाउने काम सम्पन्न गरेको छ ।
onlinekhabar


0 commentaires