काठमाडौ, जेष्ठ २२ - भ्रष्टाचारको अन्त्य र बिदेशमा लगिएको कालो धन फिर्ताको माग गर्दै नयाँ दिल्लीस्थित रामलिला मैदानमा अनसनमा बसेका योग गुरु रामदेवलाई आइतबार बिहान प्रहरीले हटाएको छ ।
दिल्लीका प्रहरी कमिशनर बीके गुप्ताले बाबा रामदेवलाई ‘सुरक्षित स्थान’मा पुर्याइएको दाबी गरे । उनले रामदेवको गिरफ्तारी अस्वीकार गरेका छन् ।
गुप्ताले रामदेवमाथि प्रहरीले बल प्रयोग गरेको भन्ने भनाइको प्रति पनि आपत्ति जनाएका छन् । ‘प्रहरीले बल प्रयोग गरेको छैन, यो अनसनस्थल रद्द गर्नमात्र भनिएको हो,’ उनले भनेका छन्, ‘रामदेवको सुरक्षा चिन्ता प्रहरीलाई बढी छ ।’
रामदेव सुतिरहेकाबेला पुगेको प्रहरीले रामदेवलाई ब्युँझाएर दिल्ली बाहिर लैजाने तयारी गरेको थियो । तर उनी अनसनस्थलबाट हाम फालेर समर्थकमाझ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रामदेवालई पटक–पटक अनसन रोक्न आग्रह गर्दा पनि नमानेपछि भारतीय सरकार कठोररुपमा प्रस्तुत भएको छ । नयाँ दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन नपाउनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
रामदेवलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीसँग झडप भएको छ । झडपमा ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले अनसनस्थलको विजुली काटिदिएको छ ।
स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले रामदेवलाई हेलिकप्टरबाट हरिद्वार पुर्याउन लागिएको जनाएको छ ।
ekantipur
0 commentaires