उपत्यकामा रोगका तीन कारण : हावा, सूर्यको विकिरण र फोहोर

श्याम भट्ट, काठमाडौं, जेठ ८- उपत्यकामा रोग निम्त्याउने तीन कारण छन्- यहाँको वायु, सूर्यको विकिरण र फोहोर। धूलोमा मिसिएका सूक्ष्म कण, फोहोरका संक्रमित पदार्थ र हानिकारक सूर्यका किरण श्वासप्रश्वास, आँखा र क्यान्सरसम्बन्धी रोगका प्रमुख कारण भएको पुष्टि अध्ययननले गरेको छ। पुल्चोक इन्जिनियरिङ र अमृत साइन्स क्याम्पसका प्राध्यापक र विद्यार्थीले गरेको अध्ययनमा यस्तो निष्कर्ष निस्केको हो।      उपत्यकाको भौगोलिक बनावटले गर्दा पनि यस्ता पदार्थको नकारात्मक प्रभाव मानव शरीरमा अझ बढी देखिने गरेको छ। अनुसन्धानकर्ताका अनुसार उपत्यका ‘चिसो एस्ट्रे' हो। यहाँ हुने प्रदूषण लामो समयसम्म बाहिर जान सक्दैन, आकाशमै रहन्छ। यहींको वातावरणमा घुलमिल हुने यस्तो प्रदूषणको प्रभावमा सर्वसाधारण पर्छन्। निजी र सामूहिक प्रयासमा गरिएका चार र एकवर्षे अध्ययन केलाउने हो भने काठमाडौंको हावा सामान्य मापदण्डभन्दा पाँच गुना बढी प्रदूषित छ। विश्व स्वास्थ्य संगठनका अनुसार वायुमण्डलमा प्रतिघनमिटर १ सय २० माइक्रोग्रामभन्दा कम धुँवा र धूलोका कण हुनुपर्छ।  हावामा धुलोधुवाँका कणसँगै श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउने किटाणु पनि पाइएको छ। अध्ययनले हावाको स्तरमा सुधार भएन भने सन् २०२० सम्म काठमाडौं दम रोगको मुख्य थलो नै बन्ने सम्भावना औंल्याएको छ।  वायुमण्डलको ओजोन मात्रा घटाउने गरी बढ्दै गएको धुलोधुवाँका कणले सूर्यका खतरनाक विकिरणको मात्रा पनि बढाइरहेको छ। सूर्यको प्रकाशसँगै आउने ‘परावैजनी किरण'ले आँखा र छालालाई हानी पुर्‍याउँछ। यो मोतिविन्दु र क्यान्सरको प्रमुख कारण मानिन्छ।  सहरमा भएको फोहोरको डंगुरले सुक्ष्मजीवका बिज बढाउन मद्दत गर्छन्। सुक्ष्मजीवका बिजले श्वाप्रश्वासका रोगीहरू बढाउने पुष्टि अध्ययनले गरेको छ।  अमृत साइन्स क्याम्पसका माइक्रोबायोलोजीका चार छात्राले एक वर्षसम्म गरेको अध्ययनअनुसार काठमाडौंको हावामा सुक्ष्मजीवका बिज ६ हजार ४ सिएफयु (क्लोरोफर्मिङ युनिट) सम्म पाइएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार हावामा सुक्ष्मजीवका बिज १ हजार २ सय सिफएयुसम्म हुनु सामान्य हो। ती छात्राले असन, भोटाहिटी, ठमेल र क्षेत्रपाटीमा वर्षका सबै मौसममा हावामा हुने सुक्ष्मजीबका बीजबारे अध्ययन गरेका थिए। तिनीहरूले ती स्थानमा विभिन्न मौसममा ३ सय ७५ पटक राखिएको प्लेटलाई प्रयोगशालामा लगेर अध्ययन गरेका थिए। तिनीहरूले कुनै एक स्थानमा १० मिनेटसम्म राखेको प्लेट तत्काल प्रयोगशालामा लगेर ‘इन्क्युभेटर'को २८ डिग्री तापक्रममा चार देखि १५ दिनसम्म राखेर अध्ययन गरेका थिए।   अमृतमा प्राध्यापनरत मनीता अर्यालका अनुसार अध्ययनले सहरी वायुमा पेनिसिलियम, एस्परेजिलस, कल्डोस्पोरियम र फ्युजारियम प्रजातिका सुक्ष्मजीवका बीज बढी भेटिएका छन्। ओसिलो ठाउँमा चाँडो फैलिने यस्ता सुक्ष्मजीव जस्तोसुकै जैविक र अजैविक वस्तुको प्रयोगमा बाँच्न सक्ने र हावाको माध्यमले चाँडै फैलिने खालका छन्।  उनका अनुसार फोक्सोद्वारा सजिलै मानवकोषिकामा गएर मिल्नसक्ने हुँदा यी सुक्ष्मजीवले मानिसको रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै ‘साइड इफेक्ट' देखिएर उपचारमा समेत कठिनाइ हुने गरेको छ।  वरिष्ठ छाती रोगविशेषज्ञ दिर्घसिंह बमका अनुसार काठमाडौं ब्राजिलको रियो द जेनेरियोपछि विश्वकै दोस्रो बढी वायुप्रदूषण भएको सहर हो। ‘यहाँको हावा लिन योग्य नै छैन,' उनले भने।  धुलो र धुवाँले प्रतिवर्ष ब्रोंकाइटिस, दम, छातीरोग, रूघाखोकी र एलर्जीलगायत श्वासप्रश्वासका रोगी बिरामी बढ्दै गएका छन्। क्षयरोग र फोक्सोका अन्य रोगसँगै निमोनियामा पनि यहाँको वायुले संक्रमण गरिरहेकाले काठमाडौंमा श्वासप्रश्वासका बिरामी अस्वाभाविक रूपले बढेका छन्। ‘श्वासप्रश्वासजन्य रोगले उपत्यकाका मानिसको आयुसमेत घट्दो छ भने अन्यत्र ८० वर्ष बाँच्ने यहाँ ६० वर्ष बाँच्न पनि कठिन छ,' बमले भने।  छात्राहरूले यस्ता सुक्ष्मजीव फैलन नदिन जथाभावी फोहोर फाल्न नहुने, जैविक फोहोर प्रशोधन गर्नुपर्ने, फोहोरको थुप्रो लगाउन नहुने र सरसफाइमा ध्यान दिनुपर्ने उपाय सुझाएका छन्। मुख्यतयाः ओसिलो ठाँउ र बर्षाको मौसममा फोहोर व्यवस्थापनमा बढी चनाखो हुनुपर्ने उनीहरूको सुझाव छ। अव्यवस्थित सहरीकरण, सडकको अवस्था, अव्यवस्थित ढलनिकास र नव निर्माणका कारण पनि यस्ता जीवको संक्रमण बढेको हो।   अध्ययनमा संलग्न अर्यालका अनुसार माइक्रोबायोलोजीको ‘कल्चर मेथड' अनुसन्धान विधि अन्तर्गत शुद्धिकरण गरिएका सफा प्लेटमा रसायनमिश्रित ढुसी राखेर सहरका मानवचाप हुने मुख्य क्षेत्रमा संक्रमणको अध्ययन गरिएको थियो। ढुसीमा सर्वाधिक चाँडो संक्रमण हुने हुँदा वैज्ञानिकले कल्चर विधि अपनाउने गरेका छन्।  पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक र सहायक प्राध्यापकले सन २००८ देखि तिब्बत र नेपालका चारचार गरी आठ ठाउँमा वायुमण्डलमा रहेका धुलो र धुवाँकण (ब्ल्याक कार्बन) र सूर्यका हानिकारक किरण (परावैजनी किरण) बारे गरिरहेको अर्को अध्ययनले घाममा हिँड्दा पनि सचेत हुनुपर्ने तथ्य औंल्याएको छ।  वायुमण्डलमा धुवाँ र धुलोका कण बढाउने काम सवारी साधन र उद्योगमा प्रयोग हुने पेट्रोलियम पदार्थसँगै इँट्टाभट्टादेखि घरमा प्रयोग हुने दाउरासम्मले गरेका छन्। यसबाट बच्न घाममा निस्कँदा सनब्लक लगाउन, टोपी वा ह्याट प्रयोग गर्न, पाखुरा र तिघ्रा छोपिने लुगा लगाउन विज्ञहरूले सुझाव दिएका छन्।  धुलो र धुवाँका कणसम्बन्धी पुल्चोक इन्जिनियरिङ क्याम्पसको सोलार रेडियसन एन्ड एरोसोल इन हिमालय रिजनको अध्ययनअनुसार काठमाडौंमा सन २००९ जुन १ मा नेपाल बन्दका दिन वायुमण्डलमा ३ माइक्रोग्राम पर मिटर क्युब (प्रतिमिटर एक माइक्रोनभन्दा साना) धुवाँ र धुलोका कण थिए भने बन्द खुलेको दिन भोलिपल्ट ६ पुगेको थियो। सन् २०१० को फेब्रुअरी १२ का दिन शिवरात्रीमा बालिएका धुनीले यो मात्रा बढेर ४० पुगेको थियो। यसले ब्ल्याक कार्बन बढाउँछ।  जलवायु परिवर्तनको प्रमुख कारण मानिने हरितगृह ग्याँससँगै ब्ल्याक कार्बनको मात्रा र सूर्यका जोखिमपूर्ण किरण मात्राबारे भइरहेको अध्ययनले बिहान दस बजेपछि दिउँसो २ बजेसम्म जोखिमपूर्ण किरणको मात्रा बढेको पुष्टि भएको रिजनका संयोजक प्राध्यापक बालकृष्ण सापकोटा बताउँछन्।  पशुपति वरपरदेखि भक्तपुरका तरकारीबारीसम्म कालो ध्वाँसो (ब्ल्याक कार्बन) ले असर पारेको अध्ययनमा संलग्न सहायक प्राध्यापक विनोदकुमार भट्टराईले बताए।  रिजनले काठमाडौं, पोखरा, विराटनगर, लुक्ला र तिब्बतको निङ्ची, नाङ्चु, तिंग्री र ल्हासाको वायुमण्डलमा अत्याधुनिक यन्त्र स्थापना गरेर सन् २०१२ सम्म ब्ल्याक कार्बन अवस्था र सूर्यका किरणको अध्ययन गर्नेछ।  संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको संस्था (आइपिसिसी)ले समेत हिन्दकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनले गरेका असरहरूको तथ्यांक नभएका बेला नेपाल-तिब्बतमा भएको यो अध्ययन प्रभावकारी हुने बताएको छ। वायुमन्डलमा रहेको ब्ल्याक कार्बन हिमालका हिउँमा गएर टाँसिने र सूर्यका किरणलाई परावर्तन (फर्काउनु) को साटो सोस्न मद्दत गरेर हिउँ पगाल्ने वैज्ञानिकले बताउँदै आएका छन्।  महानगरपालिकामा ९ सय सफाइकर्मी भए पनि यहाँका सडकमा जहिल्यै धूलो उड्छ। व्यवस्थापन कमीको यस्तो अवस्था सिर्जना भएको वातावरणविद् भुषण तुलाधर बताउँछन्।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login