अस्ताउँदै उदीत

सन्तोष रिमाल- एउटा समय थियो उदितनारायण झाको स्वर नभएका फिल्मी गीत कम सुनिन्थ्यो। निर्माताहरू उनको स्वर भरिएका एल्बम धेरै बिक्ने विश्वास गर्थे। र, रेकर्डिङका लागि मुम्बई पुग्थे। हिजोआज व्यापारको आसमा फिल्मी गीत बनाउने चलन हटेको छ।
निर्माता/निर्देशकहरू 'गीतबिना पनि फिल्म बन्छ' भन्नेमा विश्वस्त नभएर नै फिल्मी गीतले निरन्तरता पाएको हो। तर, थोरै लगानी र स्थानीय उपलब्धतामै गीत पूरा गर्ने क्रम चलेपछि सर्वाधिक चल्तीका उदितनाराण नेपाली फिल्ममा निकै कम सुनिन थालेका छन्।      बलिउडमै पनि फुर्सदिलो देखिएका उदितको गतिलाई ३० वर्षको 'एक्सप्रेस'मा ब्रेक लागेको ठान्छन् निर्देशक तुलसी घिमिरे। प्रकाश थापाका फिल्ममा कमेडी गायक भएर छिरेका उदितलाई पहिलोपटक घिमिरेले गम्भीर गीत गाउन दिए। उनले पहिलो फिल्म 'बाँसुरी'मा उदितलाई लिएका थिए। गत वर्ष फिल्म 'देश'मा गीतको स्तर उकास्न उदितलाई खोज्दै मुम्बई पुगे। 'घरमै संगीतकार रनजीत गजमेर हुनुहुन्थ्यो। उदित र दीपा पनि घरकै सदस्यजस्ता थिए। टाढाको देउताभन्दा करेसाको भूत नै काम लाग्छ भन्ने सोचेर उदितलाई गीत गाउन लगाएका थियौं,' पहिलो फिल्मको यो मान्यता पूरै फेरे घिमिरेले। त्यसपछिको फिल्म 'कुसुमे रुमाल'मा गायक मात्र होइन नायक नै बनाए उदितलाई।   'स्टारिजम'को संस्कृति बनिनसकेको त्यो समयमा उदितलाई हिरो बनाउन धेरै सोचविचार नगरेको घिमिरे बताउँछन्। 'उदितले फिल्म खेलोस् भन्ने चाहना दीपालाई धेरै थियो। मुम्बईमै योजना बनेको यो फिल्ममा क्षमताभन्दा सहजता हेरेर उनलाई लिएका थियौं,' फिल्मले भुवनलाई हिरो र उदितलाई गायकका रूपमा नयाँ उचाई दिएजस्तो लाग्छ उनलाई। त्यसपछिका फिल्मी गीतमा उदित अपरिहार्य बन्दै गए। र, करिब साढे दुई दसक एकछत्र राज गरे।  'कयामतसे कयामत तक'को 'पापा कहेते हे' बोलको गीतले उनलाई बलिउड दुनियामा समेत स्थापित गरायो। बलिउडको व्यस्तताबीच पनि नेपाली फिल्ममा समय दिनुलाई उदितको 'महानता' मान्छन् घिमिरे। 'भारतमा एउटा गीतको एक लाख लिएर गाउँदा पनि उनले नेपाली गीत पाँच हजारमै गाइदिए। कतिलाई त सित्तैमा पनि गाइदिएका छन्,' उनले भने। नेपाल र भारतमा उदाएका नयाँ संगीतकार र गायकले उदितप्रतिको निर्भरता घटाएको ठान्छन् उनी।   फिल्मी गीतमा शम्भुजीत बाँस्कोटाको पनि अत्यधिक रोजाइका गायक हुन् उदित। उदितविना अपूर्णजस्तै हुने शम्भुजीतका गीतमा पनि यो क्रम टुटेको छ। उनी स्वयं पनि संगीतमा पहिलाको जस्तो सक्रिय छैनन्। 'उदितको स्वर नभई नहुने अवस्था आए मुम्बई जाने गरेको छु। नत्र यतै पनि राम्रा गायक/गायिकाको अभाव छैन,' स्वरका लागि नभए पनि स्तरीय रेकर्डिङका निम्ति मुम्वई जानुपर्ने आवश्यकता औंल्याउँछन् बाँस्कोटा। संगीत बु‰ने फिल्मकर्मी नहुँदा सम्झौतामै काम सकाउनुपरेको गुनासोसमेत गर्छन् उनी।   '१० वर्षअघि ५ लाखमा रेकर्डिङ हुन्थ्यो। अहिले २ लाखमै सकाउन खोज्छन्,' फिल्ममा संगीत विधालाई सस्तो रूपमा हेर्ने गरिएको उनको गुनासो छ। रेकर्डिङका लागि मुम्बई जाने क्रम घटेपछि उदितको स्वर घटेको उनले बताए। पछिल्लोपटक भुवन केसीको फिल्म 'साथी म तिम्रो'मा उदितको स्वर राखेका बाँस्कोटाले भने, 'नेपालमा पनि विविध स्वर पाइन्छ। तर, रोमान्टिक र लोकशैलीका गीतमा अहिलेसम्म उदित निर्विकल्प हुन्।'  स्वरमा स्वदेश निर्भर भएपनि प्राविधिक स्तरका लागि नेपाली स्टुडियो मुम्बईको विकल्प भइनसकेको उनको ठहर छ। फिल्मी गीतको असली हैसियत हलमा देखिने चर्चा गर्दै उनले भने, 'सराउन्डिङ साउन्ड सिस्टमका हलमा पनि नेपाली फिल्मको गीत टिन ठटाएजस्तो सुनिन्छ। चरम सम्झौताको नमूना हो यो।'  स्वरको खोजीभन्दा रेकर्डिङको स्तर बुझेर पहिलाको निर्माताले मुम्बई जान जोड गर्ने गरेको उनी सम्झन्छन्। 'हामी यहाँबाट गायक/गायिकालाई समेत लिएर गीत रेकर्ड गर्न मुम्बई जान्थ्यौं। उदित पनि हाम्रो रोजाइमा पर्थे। पंकज उदास, महेन्द्र कपुरजस्ता गायकलाई पनि बेलाबेला गाउन लगाइन्थ्यो,' फिल्ममा छुट्याइने अहिलेको बजेटले राम्रा गीत नबन्ने उनले ठोकुवा गरे।  राम्रा ब्यानरले फिल्म बनाउन छाडेपछि गीतको स्तर गिरेको विश्लेषण छ संगीतकर आलोकश्रीको। संगीत व्यापारमा गिरावट आउन थालेपछि उदितजस्ता राम्रा र महंगा गायक पहुँचभन्दा बाहिर हुन थालेको वर्णन गरे उनले।   'रेकर्डिङ गर्न मुम्बई पुग्यो। महंगा गायक/गायिकाको स्वर राख्यो प्रतिफल खै त?' पछिल्लो फिल्म 'खुशी'मा उदितको स्वर राखेका आलोकश्रीले भने। व्यापारिक दृष्टिकोणका साथै अहिलेको 'टे्रन्ड'ले उदितलाई पछि पारेको उनको भनाइ छ। 'उदितनारायणमात्र होइन सोनु निगम, शानजस्ता चल्तीका गायकको माग पनि घटेको छ भारतमा। नेपालमा उदितको स्वर कम हुनुको एउटा कारण यो पनि हुनसक्छ।'  'कयामत से कयामत तक' देखि 'तेरे नाम'सम्म आइपुग्दा उदितले आफ्नो उत्कृष्टता स्थापित गरिसकेको चर्चा गरे उनले। आफ्ना सबैजसो फिल्म र एल्बममा उदितको स्वरबाट सफलता पाएकोसमेत उनले बताउन भुलेनन्। 'कहिले तिम्रो पछ्यौरीमा अल्झेँ', 'वनमाराले वनै खायो' जस्ता 'उपहार' एल्बमका गीतबाट व्यावसायिक सफलतासमेत पाए उनले।  तैपनि संगीत बजारको दयनीय अवस्थामा महंगो लगानीको एल्बम निकाल्नुमा ठूलो जोखिम देख्छन् उनी।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login